पूर्वक्रिकेटर आमिर अख्तरले नेपाल प्रिमियर लिग (एनपीएल) प्रालि आफ्नो नाममा रहेको र दर्ता नामसारी गरेर मात्रै चलाउन आग्रह गरेका छन्। आगामी मंसिर १६ गतेबाट काठमाडौँमा आयोजना हुन लागेको एनपीएल लिगका लागि खेलाडीहरू पनि अक्सनमार्फत छानिसकिएको छ।
यसैबीच अख्तरले सहमति गरेर मात्रै एनपीएल आयोजना गर्न नेपाल क्रिकेट संघ (क्यान) लाई आग्रह गरेका छन्।
उनले एनपीएल आफ्नो स्वामित्वमा रहेको एकल कम्पनी रहेको दाबी गर्दै अन्य कुनै संस्था वा कम्पनीले प्रयोग गर्नु कानुन विपरित भएको पनि बताएका छन्। क्यानले सहमति गरेमा आफूले नेपाल प्रिमियर लिग प्रालि नामसारी गरिदिने पनि उनले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
जसका लागि अख्तरले ७ दिनको समयसीमा दिएका छन्।
‘क्यानले म आमिर अख्तरसँग आपसी सहमति तथा सम्झौता समन्वय गरेमा मात्रै मेरो कम्पनी एनपीएल नेपालको प्रचलित कानुन बमोजिम क्यानको नाममा ट्रान्सफर तथा नामसारी दर्ता गर्नुछु,’ उनले भनेका छन्, ‘तत्पश्चात क्यानले एनपीएलको वैध तथा कानुन सम्मत अधिकार पाउनेछ।’
Shares

प्रतिक्रिया