कारोबार


घट्दै मखमली फूल र मालाको माग, निराश छन् गुण्डुवासी

घट्दै मखमली फूल र मालाको माग, निराश छन् गुण्डुवासी

नेपालखबर
कात्तिक ६, २०८१ मंगलबार १५:५, काठमाडौँ

तिहार आउन अब केही दिन मात्रै बाँकी छ। यस वर्ष कार्तिक १८ गते भाइटिका परेको छ। १४ गतेदेखि तिहार विधिवत रुपमा शुरु हुनेछ।

यतिबेला भक्तपुरका फूल व्यवसायी र किसानलाई मखमली फूलको माला बनाउन भ्याइ नभ्याइ छ। तिहारमा मखमली फूलको माला विशेष मानिन्छ। त्यसैले पनि भक्तपुरवासी यतिबेला माला उन्न, फूल टिप्नमा व्यस्त छन्।

भक्तपुरको गुण्डुका कृषक मखमली फूल टिप्न बिहानै बारीमा पुग्छन्। दिउँसो घाम लागेको बेलामा बिहान टिपेको फूल उन्छन् र माग गरेअनुसार बजार पठाउँछन्। मखमली फूलको पकेट मानिने गुण्डुको मुख्य आयश्रोत नै फूलको व्यापार हो। किसान एक अर्कामा अर्मपर्म गरी मखमली फूलको खेती गर्दछन्। 

नेपालीहरूको सांस्कृतिक पर्व तिहारमा विशेष माग हुने र नजिकको बजार (काठमाडौं) लाई पायक बनाइ माला उन्ने काम गरिरहेको स्थानीयवासीले बताए।

भक्तपुर गुण्डुकी जानु कार्की यस वर्ष धेरै पानी परेकाले फूल राम्रो नभएको बताउँछिन्। अहिलेसम्म २५ हजार रुपैयाँ जतिको माला विक्री गरिसकेको बताइन्। उनले माला र फूलको मूल्य भने विगतको सरह नै रहेको बताइन्। ‍एउटा मालाको २५ रुपैयाँसम्ममा बेच्ने गरेको बताइन्।

स्थानीय सुमित्रा कार्की फूल राम्रो नभएको गुनासो गर्छिन्। युवा पुस्ताले चासो नदेखाउने र वृद्धवृद्धाले काम गर्न नसक्दा गुण्डुमा फूलको उब्जनी नै मासिने हो की भन्ने चिन्ता उनलाई छ। मालाको मूल्य विगतको झैँ यस वर्ष पनि २० रुपैयाँ नै रहेको बताइन्। आफूसँग किनेर लैजानेहरूले बढी नाफा खाने गरेको तर किसानलाई २० रुपैयाँ भन्दा बढी नदिने गरेको गुनासो उनको छ। दुःख र मेहनतअनुसार मूल्य नभएको बताइन्।

उनी भन्छिन्, ‘भाउ कहिले पनि बढेन। आउँदा हामीले २५ भनेपनि २० देखि दिन्न भन्छन्, उनीहरू बाहिर पठाउँदा बढी नाफा खान्छन्, हामीलाई २० बाट कहिले नि बढाउँदैनन्। अहिले पहिला जस्तो गरेर भक्तपुरमा बेच्न जानु पर्दैन भन्ने मात्रै हो। यहाँ नै आउँछन्। पहिला हामी भक्तपुर बेच्न जान्थ्यौँ। दुःख र मेहनतअनुसार मूल्य छैन।’

कार्कीकाअनुसार फूलको खेती गरेर माला बनाउनसके धान भन्दा नाफा हुन्छ। २० वर्षदेखि फूलको माला बनाउँदै आएकी गुण्डुकै स्थानीय श्रृष्टी कार्की अरु सबैको मूल्य बढ्दा फूलको मूल्य किन बढेन रु भन्दै प्रश्न गर्छिन्। आँखा राम्रोसँग देखेर माला उन्ने बेला र अहिले आँखा कमजोर भएको बेलामा माला उनेको मूल्य बराबर रहेको बताइन्।

‘कोही साना भन्छन्, कोही ठूला भन्छन्, छान्छन् पनि। हाम्रो मूल्य नै छैन। दुःख त गरेको हो। बिहान शीतमा गयो, टिप्यो, दिउँसो यसरी गाँस्यो, औषधि हाल्यो’ उनी भन्छिन्, ‘औषधि हालिरहनुपर्छ। औषधिको मूल्य फूल भन्दा महंगो छ। औषधि ४/५ दिनमा हालि रहनुपर्छ। यो भन्दा २० वर्ष पहिला र अहिलेको मूल्य एउटै हुन्छ त?’

उनले किसानबाट लगेपछि व्यापारीहरूले बढी खाने गरेको बताइन्। पुस्तौँदेखि गरिरहेको भएर आफूहरूले माला बनाउन नछोडेको बताइन्। उनले भनिन्, ‘हामीले गरिरहेको भएर छोड्न नसकेको हो, यो बसिबियाँलो। बुढाबुढी भएपछि त कहीँ जान सकिएन नि त। अलि अलि गरिरहेको मात्रै हो, तर यसको मूल्य चाहीँ छैन।’

भक्तपुरको गुण्डुमै विगत १० वर्ष यता मखमली फूलको माला बनाइ बेच्दै आएकी किसान सानु सुनुवार काम केही नभएकाले फूलको उत्पादन गरी माला बनाएर बेच्नसके घर खर्च चलाउन सहज भएकाले माला उन्ने र बेच्ने काममा लागेको बताउँछिन्।

उनले फूलको व्यापार राम्रो नभएको गुनासो गर्दै २० रुपैयाँसम्म व्यवसायीले किनेर लैजाने तर किसानलाई त्यसले फाइदा नहुने बताइन्। उन्नत जातको फूल किसानलाई दिनसके त्यसबाट फाइदा हुने उनको भनाइ छ।

‘फूलको व्यापार राम्रो भएन। सधैँ १८ रुपैयाँदेखि २० रुपैयाँसम्म किनेर लैजान्छन्। कृषकलाई अलि घाटा जस्तो भयो। घरमै ठेकेदारले प्रतिगोटा २५ मा लगे अलि राम्रो हुन्थ्यो। फूल खेती गर्न धेरै दुःख छ’ उनले भनिन्, ‘औषधि हाल्नुपर्छ, औषधि हाल्दा क्यान्सर रोग लाग्ला जस्तो अनुभव आफूलाई नै हुन्छ। दिदिबहिनीलाई यसबाट पैसा आए घरखर्च चलाउन सहज हुन्छ। तिहारमा माला बेचेर आफ्ना दाजुभाइलाई केही किन्न पनि सजिलो हुन्छ। कृषि कार्यक्रममहरूबाट उन्नत जातको फूलहरू हामीलाई दिए हुन्थ्यो भन्ने छ।’

गुण्डुकै अर्की स्थानीय विनिता केसी गुण्डुका किसान मखमली खेतीमा आवद्ध रहेको र घरको काम गरेर फूलको काम गर्न पनि भ्याउने भएकाले खर्च जुटाउन मखमली फूल लगाउने र माला बनाइ बेच्ने गरिरहेको बताउँछिन्। उनले अरु कुरा हेरी फूल खेती गर्न गाह्रो रहेको  बताइन्। उनले मखमली फूलमा यस वर्ष विगतको तुलनामा बढी पानी परेकाले क्षति पुगेको बताइन्। किसानले गरेअनुसार बजारमूल्य नरहेको गुनासो गर्नुभयो।
उनले भनिन्, ‘दिनरात नभनी फूलको स्याहार गर्नुपर्छ। किसानले गरेअनुसारको बजार मूल्य छैन। नेपालका फूल भन्दा भारतबाट आायत हुने फूलले गर्दा किसानले दुःख गरेअनुसार बजार मूल्य पाउँदैनन्। किसानले दुःख गरेअनुसार नगरपालिका, वडा स्तरबाट पनि राम्रो बीउ वितरण गर्नसके सजिलो हुन्थ्यो।’

नगरपालिका र वडाहरूले राम्रो र उन्नत बीउ वितरण गर्नसके किसानले फूल उब्जाउन कठिनाइ भोग्न नपर्ने स्थानीय बताउँछन्। महिला मात्रै होइन गुण्डुका पुरुष पनि माला उन्नमा व्यस्त देखिन्छन्। सूर्यविनायकका किसान शहदेव बस्नेत १२ वर्षदेखि फूलको माला उन्दै र बेच्दै आएका छन्।

पोहोरको तुलनामा फूल सिजन केही ढिला भएको र बेमौसमी झरीले क्षति गरेको बताए। गत वर्ष २५ सय माला बनाएकोमा यस वर्ष अहिलेसम्म १ हजार माला मात्रै बनाउन सकेको उनले बताए।

उनले भने, ‘पहिलाको तुलनामा माला र फूल लिन आउने मान्छेहरू घटेका छन्। विचौलियाहरूले मान्छेहरू भड्काउँछन्। पहिला व्यापारीहरू आफैँ आएर फूल लिएर जान्थे। अहिले व्यापारीहरूलाई भड्काएर विचौलियाले आउन दिँदैनन्।’

विगतको तुलनामा अहिले फूल व्यापार गर्न गाह्रो रहेको किसान बताउँछन्। विचौलियाका कारण फूल बेच्न कठिन भएको किसान गुनासो गर्दछन्। गुण्डुकी निर्मला बस्नेत पहिला व्यापारीहरू घरघरमा आएर किन्ने गरेपनि अहिले नआएको बताइन्। घरबाटै व्यापारीहरूले ३५ रुपैयाँसम्म तिरेर लैजाने गरेको भएपनि अहिले व्यापारीलाई आउनै नदिने गरेको बताउँछिन्। पहिला १/२ लाखको माला बेच्ने गरेको भएपनि अहिले व्यापार नरहेको बताइन्।

उनले भनिन्, ‘पानी परे पनि फूल यस वर्ष राम्रो छ। फूल ढलेको छैन। अहिलेसम्म व्यापारी आएका छैनन्। माला गाँसेर गोदाम पारेर राखेको छ। एउटा बिक्री भएको छैन। बरु सयपत्री फूल लगाउनुपर्ने रहेछ, त्यसबाट चाहीँ व्यापार राम्रो हुने हो। अब सयपत्री फूल दसैँलाई सिद्धिन्छ। साउनदेखि नै सयपत्री फूल जान्छ।’

फूलको व्यापार क्रमशः वर्षेनी घट्दै गएको किसान बताउँछन्। यस वर्ष विगतको तुलनामा फूलको उत्पादन कम भएको र बजार पनि नरहेको किसानको गुनासो छ।

विचौलियाका कारण किसानसँग व्यापारीहरूको भेट नहुने र विचौलियाले बाटोबाटै व्यापारीहरूलाई फर्काइदिने गरेको किसान बताउँछन्। सरकारले पनि उन्नत प्रकारको बीउबिजन दिन नसकेको गुनासो उनीहरूको छ। साथै आयातित फूलले बजार लिँदा देशका किसानले लगाएको फूल बिक्री हुन छोडेको गुनासो उनीहरूको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad