खेल


इन्टर मायामीको कीर्तिमानमा मेस्सीको ह्याट्रिक, क्लब विश्वकपमा छनोट

इन्टर मायामीको कीर्तिमानमा मेस्सीको ह्याट्रिक, क्लब विश्वकपमा छनोट

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार १२:२०, काठमाडौँ

कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा प्रभावशाली जित दर्ता गरेको इन्टर मायामीले अर्को कीर्तिमान रचेको छ। 

आइतबार बिहान घरेलु मैदानमा इन्टर मायामीले न्यु इंग्ल्यान्डलाई ६–२ को फराकिलो अन्तरमा हरायो।

यो जितसँगै अमेरिकन मेजर सकर लिगमा इन्टर मायामीले एक सिजनमा सबैभन्दा धेरै अंक बनाएको कीर्तिमान पनि बनाएको छ। मायामीले ३४ खेलमा २२ मा जित, ८ खेलमा बराबरी र ४ खेलमा हारसहित ७३ अंक जोडेको छ।

सन् २०२१ मा न्यु इंग्ल्यान्ड रिभोलुसनले बनाएको सर्वाधिक ७३ अंकको कीर्तिमान भंग गरेको छ। 

यो जितले इन्टर मायामीको ७४ अंक भयो। खेलको सुरुवातमा मेस्सी बेन्चमा थिए। पहिलो हाफको सुरुवातमै इन्टर मायामी २–० ले पछि परेको थियो। लुका लांगोनीले खेलको दोस्रो मिनेटमै न्यु इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। ड्यालान बोरेरोले ३४औँ मिनेटमा अग्रता दोब्बर पारे। 

तर ४ मिनेटमा दुई गोल गर्दै लुइस सुवारेजले मायामीलाई खेलमा फर्काए। पहिलो हाफ बराबरीमा सकिएपछि दोस्रो हाफमा ५७औँ मिनेटमा मेस्सी जुलियन ग्रिसेलको स्थानमा मैदान प्रवेश गरेका थिए।

उनी मैदान प्रवेश गरेको अर्को मिनेटमै ३–२ को अग्रता बनाएको मायामीका लागि बाँकी तीनै गोल मेस्सीले गरे। ५८औँ मिनेटमा बेन्जामिन क्रेमास्चीले न्यु इंग्ल्यान्डको अग्रता तोकेका थिए।

पहिलो गोल गरेको ११औँ मिनेटमा मेस्सीले ह्याट्रिक गरेका थिए। ७८औँ मिनेटमा सुवारेजको पासमा पहिलो गोल गरेका मेस्सीले जोडी अल्बाको पासमा ८१औँ मिनेटमा दोस्रो गोल गरे। ८९औँ मिनेटमा सुवारेजकै पासमा ह्याट्रिक पूरा गरे। ५ दिनको अन्तरमा मेस्सीको यो दोस्रो ह्याट्रिक गोल हो। यसअघिको खेलमा अर्जेन्टिनाका लागि उनले विश्वकप छनोटमा बोलिभियाविरुद्ध पनि ह्याट्रिक गरेका थिए। 

यो सिजन मेस्सीले एमएलएसमा मायामीका लागि १९ खेलमा २० गोल गरे। १० गोलमा उनले पास मिलाइदिएका थिए। समग्रमा उनले ३६ गोल गरे। एमएलएसमा एकै सिजन धरै गोल गर्ने मेस्सी पाँचौं खेलाडी बनेका छन्। 

मेस्सीको ह्याट्रिक क्लबकै ऐतिहासिक हो। इन्टर मायामीका लागि सबैभन्दा धेरै गोल गर्ने इतिहास पनि मेस्सीका नाममा रचिएको छ। यसअघि नियोनार्डो क्याम्पानाले ३२ गोल गरेका थिए।

कीर्तिमानी जितसँगै इन्टर मायामी क्लब विश्वकप २०२५ का लागि छानिएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले इन्टर मायामी २०२५ को लागि क्लब विश्वकपमा छनोट भएको घोषणा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad