ad ad

खेल


सुदूरपश्चिमको पोस्टमा पुलिसको ९ गोल, दुई खेलाडीको ह्याट्रिक

सुदूरपश्चिमको पोस्टमा पुलिसको ९ गोल, दुई खेलाडीको ह्याट्रिक

नेपालखबर
भदौ २१, २०८१ शुक्रबार २०:१४, काठमाडौँ

दुई खेलाडी दीपा न्यौपाने र निरु थापाको ह्याट्रिक प्रेरणामा नेपाल पुलिस क्लवले जारी एन्फा महिला फुटबल लिगमा फराकिलो जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार विभागीय टोली पुलिसले सुदूरपश्चिम प्रदेशमाथि ९–० को फराकिलो जित निकालेको हो।

लिगकै सबैभन्दा कमजोर टोलीका रूपमा हेरिएको सुदूरपश्चिममाथि गोलवर्षा गर्दै विभागीय टोलीले पहिलो जित निकाल्यो। यसअघि पहिलो खेलमा पुलिसले एपिएफ क्लबसँग गोलरहित बराबरीको नतिजा सामना गरेको थियो। सुदूरपश्चिमले भने वागमती युथ क्लवसँग ५–१ को हार सामना गरेको थियो।

खेलाडीसँगको विवादका कारण दोस्रो रोजाइका खेलाडीसहित लिग खेल्न आएको सुदूरपश्चिमले लगातार खराब प्रदर्शन गरेको छ। विभागीय टोली पुलिसकी दीपाले ह्याट्रिक गरेपछि सुदूरपश्चिमले अर्को खराब नतिजा सामना गर्नुपरेको हो। जारी लिगमा यो चौथो ह्याट्रिक हो।

यसअघि वागमतीकी अस्मिता खवास र वालिङकी ज्याकलिन नसालीले ह्याट्रिक पूरा गरेकी थिइन्। शुक्रवार पुलिसलाई फराकिलो जित दिलाउन पाँच खेलाडीले गोल गरे।

दीपा र नीरुले ह्याट्रिक पूरा गर्दा पूजा राना, घिमकुमारी गुरुङ र अनुष्का शेर्पाले समान एक गोल गरे। पुलिसले झन्डै दुई दर्जन गोलका अवसर सिर्जना गर्दै सुदूरपश्चिमको डिफेन्सलाई लगातार चुनौती दियो।

पहिलो हाफमा पुलिसले तीन गोल गरेको थियो। दोस्रो हाफमा सुदूरपश्चिमले थप लय गुमाउँदा थप ६ गोल बेहोर्नपुग्यो। खेलको आठौं मिनेटमा नै पुलिसले नीरुको गोलबाट अग्रता लियो। पूजा रानाको पास निरुले सुदूरपश्चिमकी गोलकिपर टिकेश्वरी साउदलाई पनि बिट गर्दै गोल गरेकी हुन्।

पुलिसले दोस्रो गोल ३०औं मिनेटमा गर्‍यो। पूजाले नै यसपल्ट गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाइन्। निरुको कट पास नियन्त्रणमा लिँदै पूजाले पेनाल्टी बक्सबाट गोल गरेकी हुन्।

एक मिनेटपछि नै दीपाले गोल गर्दै पुलिसलाई ३–० ले अगाडि बढाइन्। सम्झना लावतीले दिएको थ्रु पासमा दीपाले एक डिफेन्डरलाई छक्याउँदै गोल गरेकी हुन्। यससँगै पहिलो हाफमा पुलिसले सहज अग्रता लियो। दोस्रो हाफको पनि सुरुआतमा नै पुलिसले चौथो गोल गर्दै दबाबमा राख्यो।

दीपाले ४६औं मिनेटमा गोल गरेकी हुन्। निरुले दिएको पासमा दीपाको लेफ्ट फुटेट फितलो प्रहार सुदूरपश्चिमकी गोलकिपर टिकेश्वरीले रोक्नै सकिनन्। उनले ६०औं मिनेटमा अर्को गोल थप्दै ह्याट्रिक पूरा गरिन्।

सुदूरपश्चिमका डिफेन्डरले क्लियर गरेको बल नियन्त्रणमा लिँदै उनले पेनाल्टी बक्स बाहिरबाट टप कर्नर गोल गरेकी हुन्। ६८ औं मिनेटमा निरुले व्यक्तिगत दोस्रो गोल गरिन्। घिमकुमारीको पासमा उनले करिब १२ यार्डबाट गोल गरेकी थिइन्। ७६औं मिनेटमा घिमकुमारीले नै गोल गर्दै पुलिसलाई ७–० ले अगाडि बढाइन्।

उनले करिव २८ यार्डबाट बल ड्रिब्लिङ गर्दै पेनाल्टी बक्सबाटै गोल गरिन्। दुई मिनेटपछि नै निरुले पनि ह्याट्रिक पूरा गरिन्। दीपाको थ्रु पास सदूपयोग गर्र्दै निरुले तेस्रो गोल गरेकी हुन्।

खेलको अतिरिक्त समयमा अुनष्का शेर्पाले पुलिसको ९ गोल पूरा गरेपछि सुदूरपश्चिमले फराकिलो हार सामना गर्‍यो। यो नतिजासँगै समान दुई खेलबाट पुलिसले चार अंक जोड्दा सुदूरपश्चिमको अंकविहीन छ। सुदूरपश्चिमले दुई खेलबाट नै १४ गोल खाइसकेको छ।

जारी महिला लिगमा चन्द्रपुर नगरपालिकाले लगातार दोस्रो खेलमा बराबरीको नतिजा निकालेको छ। शुक्रवार सम्पन्न दिनको पहिलो खेलमा चन्द्रपुरले संकटा फुटबल क्लबविरुद्ध गोलरहित बराबरी खेल्यो। बराबरीसँगै चन्द्रपुर दुई खेलबाट दुई अंक जोड्दै अंकतालिकाको पाँचौं स्थानमा यथावत् रह्यो।

यता, संकटाले भने पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मीसँग ४–० को फराकिलो हार सामना गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .