तीव्र गतिका बलर करण केसी र कुशल मल्ल चम्किँदा एसीसी इस्टर्न रिजन टि-ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले शानदार जित निकालेको छ।
आफ्नो तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई ९ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको हो।
बैंककस्थित टर्डथाई क्रिकेट मैदानमा आयोजक थाइल्यान्डले दिएको ६७ रनको झिनो लक्ष्य नेपालले ५ दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो।
ओपनर कुशल मल्ल ३६ र पवन सर्राफ २७ रनमा नटआउट रहे। मल्ल्ल र सर्राफले ५८ रनको पार्टनरसिप गरे। १८ बलको सामना गरेका कुशलले ५ चौका र २ छक्का प्रहार गरे। पवनले १० बलमा २ चौका र ३ छक्का हाने।
ओपनिङ ब्याट्सम्यान पारस खड्का ९ रन जोड्दा आउट भए। नेपाल पहिलो खेलमा मलेसियासँग २२ र हङकङसँग ४३ रनले पराजित भएको थियो। सबै खेलमा पराजित थाइल्यान्ड जितविहीन हुँदै लिग चरणबाटै बाहिरियो।
थाइल्यान्ड हङकङ र मलेसियासँग समान ८ विकेट तथा सिंगापुरसँग ४३ रनले पराजित भएको थियो।
नेपालले एसिया कप छनोटमा स्थान बनाउन हङकङ र सिंगापुरको खेलको नतिजा कुर्नुपर्नेछ।
हङकङले सिंगापुरलाई हराएका खण्डमा नेपालको एसिया कप छनोट खेल्ने सम्भावना कायमै रहने छ भने सिंगापुरले जित्दा सम्भावना सकिनेछ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयोजक थाइल्यान्डले निर्धारित २० ओभरमा ६६ रन जोड्दा अलआउट भएको थियो।
थाइल्यान्डलाई कम स्कोरमा रोक्न नेपालका करण केसी एक्लैले ३ विकेट लिए।
नेपाललाई पहिलो सफलता करण केसीले दिलाएका थिए। उनले दोस्रो ओभरको पाँचौ बलमा नभिद पठानलाई ८ रनमा अविनाश बोहराको हातबाट क्याच आउट गराए।
करणले दोस्रो विकेटका रुपमा। वान्चनालाई २ तथा तेस्रो विकेटका रुपमा रोवर्ट रैनालाई १ रनमा पवेलियनको बाटो देखाए।
अविनाश बोहोराले २ विकेट लिए। स्पिनर सन्दीप लामिछानेले १ विकेट लिए। उनले आफ्नो स्पेलमा मात्र ९ रन खर्चेका थिए। टि-ट्वान्टी आइमा डेब्यु खेल खेलिरहेका भुवन कार्कीले १ विकेट लिए।
किफायती बलिङ गरेका उनले आफ्नो स्पेलमा ६ रन मात्र खर्चे। भुवनले स्पिनर सुशन भारीको स्थान लिएका हुन्।
भुवनले २०१७ मार्चमा बंगलादेशमा भएको एसीसी इमर्जिङ एसिया कपमा हङकङपछि पटक पहिलो अन्तर्राष्टिय खेल खेलेका हुन्।
थाइल्यान्डका हेन्नो जोर्डन र फिरियापोंग सुन्चुइले १३/१३ रन जोड्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।
प्रतिक्रिया