ad ad

खेल


ओलम्पिकमा १५औँपटक नेपाल, राष्ट्रिय कीर्तिमान भंगमा मक्ख पर्ने होइन

ओलम्पिकमा १५औँपटक नेपाल, राष्ट्रिय कीर्तिमान भंगमा मक्ख पर्ने होइन

राजु सिलवाल
साउन ११, २०८१ शुक्रबार १५:१९, काठमाडौँ

फ्रान्समा आज औपचारिक रूपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा कुन देशले कस्तो प्रदर्शन गर्ला तथा कुन मुलुकले अत्यधिक पदक हासिल गर्ला, विश्वभरिका मानिसका लागि कौतुहलको विषय बनेको छ। ओलम्पिकअन्तर्गत फुटबल, रग्बीलगायत खेलका प्रतियोगिता भने गत बुधबार नै सुरु भइसकेका छन्। 

ओलम्पिकमा भाग लिन नेपाली खेल टोली पनि फ्रान्सको राजधानी पेरिस पुगिसकेको छ। यसपालि एक नेपाली खेलाडी छनोट प्रतियोगिता जितेर ओलम्पिकमा सहभागी हुन गएका छन्। टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ दक्षिण एसियाको छनोट चरण पार गरेर ओलम्पिकमा सहभागी हुन सफल भएका छन्।

अन्य खेलाडीहरूलाई भने कोटा तथा वाइल्ड कार्डका आधारमा सहभागी गराइएको हो। नेपालले ओलम्पिकमा विभिन्न ६ खेलमा सात खेलाडीलाई सहभागी गराउँदै छ। नेपालका अन्य खेलाडीमा जुडोमा मनीता श्रेष्ठ प्रधान, एथलेटिक्समा सन्तोषी श्रेष्ठ, स्विमिङमा डुवाना लामा र एलेक्जान्डर शाह, ब्याडमिन्टनमा प्रिन्स दाहाल, सुटिङमा सुस्मिता नेपाल छन्। नेपालले पहिलोपटक ओलम्पिकमा ब्याडमिन्टनमा भाग लिन लागेको हो। 

नेपालले ओलम्पिकमा भाग लिएको यो १५औँ पटक हो। नेपाली समयअनुसार आज राति ११ बजेर ४५ मिनेट जाँदा पेरिसमा आयोजना हुने भव्य उद्घाटन समारोहमा नेपालको पनि सहभागिता रहनेछ। ओलम्पिकमा २०६ ओलम्पिक राष्ट्रिय टिमको सहभागिता रहनेछ। यसमध्ये एसियाका ४४ वटा देशले भाग लिँदै छन्। ओलम्पिकमा शरणार्थी टिमको समेत सहभागिता रहनेछ। नेपालले सन् १९६४ देखि ओलम्पिकमा भाग लिन सुरु गरेको थियो। पेरिस ओलम्पिकमा ३२ खेलका ३२९ इभेन्ट्स सञ्चालन हुँदै छन्। 

यसअघि ओलम्पिकका लागि छनोट खेल पार गरी सहभागी हुन सफल नेपाली खेलाडीमध्ये पहिलो खेलाडीमा तेक्वान्दोकी खेलाडी संगीना वैद्य थिइन्। सन् २००४ मा ग्रिसको राजधानी एथेन्समा आयोजित ओलम्पिकमा उनी छनोट चरणमा जितेर भाग लिन सफल भएकी थिइन्।

सन् २००८ मा चीनको राजधानी बेइजिङमा आयोजित ओलम्पिकमा तेक्वान्दो खेलाडी दीपक विष्ट पनि छनोट खेल जितेर ओलम्पिक खेल्न गएका थिए। अन्य खेलाडी भने कोटा तथा वाइल्ड कार्डका आधारमा ओलम्पिकमा सहभागी भइरहेका छन्। ओलम्पिकमा एथलेटिक्स तथा स्विमिङ  खेलमा अनिवार्य सहभागी पठाउनुपर्ने नियमअनुसार ती खेलमा नेपाली सहभागी बढी भएको पाइएको हो।

विगतको सहभागिता    

सन् १९६४ मा जापानको राजधानी टोकियोमा आयोजित ओलम्पिकदेखि नेपालले ओलम्पिकमा प्रतिस्पर्धा गर्न सुरु गरेको थियो। त्यतिखेर नेपाली टिममा दुई धावक र चार जना बक्सरलाई समावेश गरिएको थियो। बक्सरहरु भने हङकङस्थित गोरखा रेजिमेन्टमा कार्यरत नेपाली सैनिक थिए। सन् १९६८ मा मेक्सिकोमा आयोजित ओलम्पिकबाहेक नेपालको ओलम्पिकमा सहभागिता छुटेको छैन। हालसम्म सबैभन्दा धेरै एथलेटिक्सका खेलाडीहरुले नेपालका तर्फबाट ओलम्पिकमा भाग लिएका छन्। 

सन् १९७२ मा जर्मनीको म्युनिखमा आयोजित ओलम्पिकमा नेपालबाट दुई धावक सहभागी भएका थिए। सन् १९७६ मा क्यानडाको मोर्टियलमा आयोजित ओलम्पिकमा नेपालका तर्फबाट धावक बैकुण्ठ मानन्धरले मात्र भाग लिएका थिए। उनले लगातार चारवटा ओलम्पिकमा दौडेर नेपालबाट सबैभन्दा धेरैपटक ओलम्पिकमा सहभागी हुने अवसर प्राप्त गरेका थिए।

सन् १९८० मा रुसमा आयोजना गरिएको ओलम्पिकमा नेपालबाट एथलेटिक्स, बक्सिङ र भारोत्तोलनमा १२ जना खेलाडी सहभागी भएका थिए। सन् १९८४ मा अमेरिकाको लसएन्जल्समा आयोजित ओलम्पिकमा पनि एथलेटिक्स, भारोत्तोलन बक्सिङमा ११ जना खेलाडी पठाइएको थियो।

सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित ओलम्पिकमा नेपालको खेल टोली विगतमा भन्दा ठूलो थियो। त्यस प्रतियोगितामा नेपालले एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, जुडो, सुटिङ र तेक्वान्दो खेलमा १८ जना खेलाडीलाई सहभागी गराएको थियो। सन् १९९२ मा स्पेनको बार्सिलोना ओलम्पिकमा तेक्वान्दो, सुटिङ र एथलेटिक्समा पाँच जनाले भाग लिएका थिए। सन् १९९६ मा अमेरिकाको एटलान्टामा एथलेटिक्स, भारोत्तोलन र सुटिङमा ६ जना गएका थिए। 

यस्तै सन् २००० मा अस्ट्रेलियाको सिड्नीमा नेपालले एथलेटिक्स, स्विमिङ तथा सुटिङमा गरी पाँच खेलाडी पठाएको थियो। सन् २००४ मा ग्रिसको एथेन्समा नेपालबाट तेक्वान्दो, एथलेटिक्स, भारोत्तोलन र सुटिङमा ६ जना खेलाडी पठाइयो। सन् २००८ मा चीनको राजधानी बेइजिङमा आयोजित ओलम्पिकमा पनि एथलेटिक्स, जुडो, सुटिङ, स्विमिङ र तेक्वान्दोमा नौ खेलाडी सहभागी गराइएको थियो। सन् २०१२ मा लन्डन ओलम्पिकमा एथलेटिक्स, स्विमिङ र सुटिङमा भाग लिन चार जना नेपाली गएका थिए।

सन् २०१६ मा दक्षिण अफ्रिकाको रियोदि जेनिरियोमा नेपालले एथलेटिक्स, स्विमिङ, जुडो र आर्चरीमा गरी ६ जनालाई सहभागी गराएको थियो। सन् २०२१ को जापानको टोकियो ओलम्पिकमा एथलेटिक्स, स्विमिङ र एथलेटिक्समा ५ खेलाडीले भाग लिएका थिए।

गौरवमय त्यो क्षण

सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सियोलमा भएको गृष्मकालीन ओलम्पिक प्रतियोगितामा नेपालले तेक्वान्दो खेलमा कास्य पदक पाएको थियो। खेलाडी विधान लामाले उक्त पदक जितेका थिए। सन् १९८६ मा विधानसहित आठ नेपाली खेलाडीले सियोलमै एसियाली खेलकुदमा कास्य पदक पनि पाएका थिए। सम्पूर्ण नेपालीहरु गौरवान्वित बनेको त्यो खुसीको क्षण क्षणिक बन्न पुग्यो। त्यतिखेर ओलम्पिकमा तेक्वान्दो खेललाई प्रदर्शन खेलका रूपमा समावेश गरिएकाले खेलाडी लामाले जितेको पदकलाई आधिकारिक मान्यता प्रदान नगरिएपछि नेपाल आधिकारिक पदक तालिकामा अङ्कित हुनबाट बञ्चित हुन पुगेको थियो।

नगण्य उपलब्धि

ओलम्पिकमा नेपाली खेलाडीहरूको सहभागी भएको अहिलेसमेत १५ चोटि पुग्छ। एसियाली खेलकुदमा रजत पदकसम्म जित्न सकेको नेपालले हालसम्म ओलम्पिकमा कुनै पदक जित्न सकेको छैन। ओलम्पिकमा सहभागिता अझै पनि औपचारिकतामा सीमित छ। ओलम्पिकका लागि दीर्घकालीन योजना सञ्चालन नहुनाले यस्ता ठूला प्रतियोगितामा नेपालको सहभागिता खाली औपचारिकतामा सीमित हुन पुगेको हो। यस्ता प्रतियोगितामा विभिन्न खेलमा भाग लिनुभन्दा उचित प्रदर्शन गर्न सकिने सीमित खेललाई जोड दिनु उचित हुने गर्दछ। खेलाडीको क्षमताको मूल्यांकन नगरी कोटा प्राप्त भएकै आधारमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनु उचित हुन्छ कि हुँदैन गम्भीर भएर सोच्नुपर्ने बेला पनि आएको छ। 

प्रतियोगिताको केही समयअघि खेलाडी जम्मा गरी दिइएको प्रशिक्षण ओलम्पिकजस्तो विश्वस्तरीय प्रतियोगिताका लागि अपर्याप्त भएको अनुभव विगतदेखि नै भइरहेको छ। सीमित समय र सानो लगानीले ओलम्पिकमा सफलता सम्भव नभएको कुरा स्वयं खेल क्षेत्रसँग सम्बन्धित अधिकारी तथा प्रशिक्षकले बताइरहेका छन्। वर्षैभरि नियमित प्रशिक्षण, पर्याप्त मात्रामा खेल प्रतियोगितामा सहभागिता, वैदेशिक प्रशिक्षण र प्रतियोगितामा जाने अवसरले खेलाडीको क्षमता अभिवृद्धि गर्दै लैजाने गर्दछ। यसैगरी उनीहरूलाई यथोचित सुविधातर्फ पनि ध्यान दिन जरुरी छ। यसै सिलसिलामा हालसम्म कैयौँ स्थापित खेलाडीसमेत विदेश पलायन हुनु चिन्ताको विषय बनेको छ।

नेपालमा सरकार परिवर्तनसँगै त्यसको प्रत्यक्ष असर खेलकुद क्षेत्रमा पनि पर्ने गरेको छ। खेलकुद क्षेत्रको आधिकारिक निकाय राष्ट्रिय खेलकुद परिषद्‌मा हुने गरेको पदाधिकारी परिवर्तनले पनि नेपालको समग्र खेलकुदको विकासमा असर पर्ने गरेको छ। नेपालमा भएका सयौँ खेलकुद संघ पनि नेपालको अन्तर्राष्ट्रिय असफलतामा जिम्मेवार छन्। नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीजस्ता विभागीय टिमले खेलाडीहरूलाई रोजगार दिई नियमित रूपमा प्रशिक्षण सञ्चालन गरेर नेपालको अन्तर्राष्ट्रिय सहभागितामा यथाशक्य योगदान दिइरहेका छन्। 

दक्षिण एसियाली मुलुकमध्ये भारतले हालसम्म ओलम्पिकमा ३५ वटा पदक जितिसकेको छ। यसैगरी पाकिस्तानले १० तथा श्रीलंकाले दुई पदक पाइसकेका छन्। अब नेपालले पनि ओलम्पिकजस्तो खेलकुद प्रतियोगितालाई औपचारिकतामा मात्र सीमित हुन नदिई पदक प्राप्तिका लागि उचित पहल गर्न जरुरी भैसकेको छ। ओलम्पिक भनेको खेलाडीले राष्ट्रिय कीर्तिमान भंग गर्दा गौरव गर्ने क्षण होइन। पदक जितेर मुलुकको छवि जाज्वल्यमान बनाउने महत्त्वपूर्ण अवसर हो। नेपाल सरकारले पनि ओलम्पिकलाई उच्च प्राथमिकता दिई दीर्घकालीन वार्षिक योजना बनाउन तथा पदक प्राप्तसम्मका लागि आवश्यक पूर्वाधार जुटाउन नेतृत्व लिनुपर्ने आवश्यकता छ।

(लेखक खेलकुदमा अभिरुचि राख्ने पत्रकार हुन्।) राससबाट 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .