ad ad

खेल


फिफाको विशेष प्रोजेक्ट पाएपछि बदलियो महिला लिगको ढाँचा, क्लब संख्या पनि बढाइयो

फिफाको विशेष प्रोजेक्ट पाएपछि बदलियो महिला लिगको ढाँचा, क्लब संख्या पनि बढाइयो

लक्ष्मी जि.सी
साउन २, २०८१ बुधबार २०:४, काठमाडौँ

एन्फा महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा सकिएको दुई महिना पनि नबित्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले फेरि दुई चरणमा नै महिला लिग आयोजना गर्ने भएको छ। विश्वकप फुटबलको अभिभावक संस्था फिफाको बजेट प्रयोग गर्नका लागि एन्फाले फेरि ६ महिने महिला लिग आयोजना गर्ने निर्णय गरेको हो। 

फिफाको बजेट प्रयोग गर्नका लागि लिग ६ महिना लामो हुनुपर्ने र क्लब संख्या १० पुर्‍याउनुपर्ने बाध्यता आएपछि एन्फाले फेरि डबल राउण्ड रोविनमा लिग गर्ने तयारी गरेको छ। त्यसका लागि एन्फाले ए,बी र सी डिभिजनका क्लबसँगै नगरपालिकाका क्लबलाई समेत आव्हान गरेको थियो।  

यसअघि नगरपालिकाका क्लबलाई समावेश गर्दै महिला लिग गर्दै आएको एन्फाले महिला लिगको समेत नाम परिवर्तन गर्दै प्रादेशिक ढाँचामा लिग गर्ने घोषणा गरेको थियो। त्यसकै आधारमा सुर्खेतमा एन्फा महिला लिगको एक राउण्ड सम्पन्न गरेको थियो। 

एन्फाका लिग निर्देशक सञ्जिव मिश्रले भने, ‘फिफा बजेटको प्रयोग गर्न ६ महिना र १० क्लब पुर्‍याउनुपन पर्ने कारण फेरि लिग गर्न लागिएको हो। अबको पटक यो सबै कुरालाई ध्यान दिएर काम गर्नेछौँ।’  उनले थपे, ‘दर्शकको रोमाञ्चकताका लागि डबल राउण्ड पछि प्लेअफमा गएर फाइनल पनि गराउने योजना पनि बनाएका छौँ।’ 

वैशाखमा कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगरमा महिला लिगको पहिलो चरण सकिएको थियो। सुर्खेतमा भएको महिला लिगको पहिलो चरणलाई एन्फाले ‘एक्स्पोजर’को रुपमा मात्र लिएको छ। सो लिगबाट छनोट भएका कोशी, सुदुरपश्चिम र कर्णाली प्रदेश शीर्ष ३ मा रहँदै दोस्रो चरणका लागि छनोट भएका थिए। तर दोस्रो चरणको लिग जेठदेखि  हुने भनिए पनि एन्फाले फेरि अर्को लिगको तयारी सुरू गरेको हो। 

अब गर्ने भनिएको महिला लिग भदौ १६ देखि सुरू गर्ने तयारी एन्फाले गरेको छ। यद्यपि, औपचारिक निर्णय भने गरेको छैन। सोमबार बसेको एन्फाको सातौँ कार्यसमितिको बैठकले लिगका लागि बजेट भने पारित गरिसकेको छ। 

बैठकले २०२४ को महिला लिगमा १० टोली सहभागी हुने निर्णय गरेको छ। सुर्खेतबाट छनोट भएका तीन क्लबसँगै तीन विभागीय टोली, ए, बी र सी क्लबबाट संकटा र बागमती युथ क्लबले सहभागीता जनाउनेछन्। यस्तै नगरपालिकाबाट वालिङ र चन्द्रपुर नगरपालिका गरि १० टोलीले महिला लिगमा प्रतिस्पर्धा गर्नेछन्। ए डिभिजन क्लब संकटा, एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइयो) इन्द्रमान तुलाधरको क्लब हो। बागमती क्लब भर्खरै बी डिभिजनमा बढुवा भएको क्लब हो। 

१० टोली सहभागी लिगमा सिंगल राउण्ड रोविनको आधारमा ४५ खेल हुनेछ। सिंगल राउण्ड रोविनबाट उत्कृष्ट ५ टोलीले डबल राउण्ड रोविनका आधारमा सुपर लिगमा २० खेल खेलाउनेछ। र सुपर लिगका उत्कृष्ट चार टोलीबीच क्वालिफायर्स, एलिमिनेटर र फाइनल गरि कुल ६९ खेल गराउने एन्फाले तयारी गरेको छ। 

यसअघि विसं. २०७८ मा डबल राउण्ड रोविनमा महिला लिग गर्ने भनिए पनि पहिलो चरणमात्र हुन सक्यो। दोस्रो चरणको लिग आयोजना गर्न नसकेको एन्फाले पहिलो चरणको अंक तालिकाको आधारमा नै विजेता घोषणा गरेको थियो। सो आधारमा शीर्ष स्थानमा रहेको एपीएफले अहिले एएफसी क्लब च्याम्पियनसिप खेल्दैछ। 

‘क्लबलाई समावेश गर्दा बजेट पनि पर्याप्त हुन्छ,’ मिश्रले भने, ‘त्यस्तै एएफसीले पनि च्याम्पियनसिप खेल्नका लागि क्लब लाइसेन्सिङमा जानुपर्ने बताएको छ। यस्तोमा नगरपालिका र प्रदेशका क्लबलाई गाह्रो हुन्छ। ए,बी र सी मात्र हैन पछि अन्य क्लबले पनि भाग लिन पाउनेछन्। क्लबको संख्या बढ्दै गएपछि खेलको अंक पनि बढाउनु पर्नेहुन्छ। 

एन्फाले महिला लिगका लागि भनेर २०२६ सम्मका लागि बजेट पारित गरेको छ। एन्फाले महिला लिग २०२४ का लागि २ करोड २४ लाख ६८ हजार ६ सय ९८ रुपैयाँ बजेट पारित गरेको छ। 

सन् २०२५ को एन्फा महिला लिगको छनोटका लागि ८१ लाख, ७३ हजार ५ सय ७१ तथा लिगका लागि २ करोड ५२ लाख ७२ हजार ७ सय ९५ रुपैयाँ छुट्टाएको छ। सन् २०२६ को महिला लिगको छनोटका लागि ९१ लाख, ९३ हजार २ सय १४ रुपैयाँ र लिगका लागि २ करोड, ५६ लाख ५५ हजार २ सय ९५ रुपैयाँ बजेट पारित गरिसकेको छ।

एन्फासँग महिलाका लागि व्यवसायिक क्लब नभएका कारण समस्या आइरहेकाले त्यसलाई समाधान गर्न आफूहरूले लिगलाई नयाँ ढाँचामा गर्न लागिएको एन्फा प्रवक्ता सुरेश शाहले बताए। उनले भने, ‘अहिलेसम्म नगरपालिकाका क्लबसँग लिग भैरहेकाले अब एएफसीको च्याम्पियनसिप खेल्नका लागि र वरियतामा पनि नेपालको महिला टोलीको सम्भावना राम्रो देखिएकाले लिग गर्न लागिएको हो।’

फिफाको स्पेशल प्रोजेक्ट अन्तर्गत एन्फाले तीन वर्षको प्रस्ताव गर्न पाउने आधारलाई ध्यानमा राख्दै प्रस्ताव गरेको प्रवक्ता शाहले बताए। फिफाको स्पेशल प्रोजेक्टमा जान ६ महिना लिग गर्नुपर्ने लगायतका आधारहरू छन्। त्यसकै आधारमा १० टोलीलाई समावेश गरिएको छ। एन्फा अहिले फिफाको ‘कन्ट्रोल फन्डिङ’मा चलिरहेको छ। 

एन्फाले आफ्नो सहजताका लागि सन् २०२४ का लागि नगरपालिका र प्रदेशका क्लबलाई समेट्दै १० टोली बनाए पनि आउने वर्षमा यिनै क्लब चुनौती बन्न सक्नेछन्। 

अहिले नगरपालिका र प्रदेशको टोलीको भरमा लिग आयोजना गर्दै साख जोगाइरहेको एन्फाले भविष्यमा ए,बी र सी डिभिजनका क्लबका टोलीलाई मात्र लिएर यी टोलीलाई नजरअन्दाज नगर्ला भन्न सकिदैन। 

त्यसका लागि एन्फाले अहिले नै प्रदेश र नगरपालिकाका टोलीलाई स्पष्ट पार्दै एएफसीको क्लब लाइसेन्स लिनका लागि सहयोग गर्नुपर्ने जरुरी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .