ad ad

खेल


दोस्रोपटक उपाधि जित्ने दाउमा भारत, पहिलो मौका नगुमाउने पक्षमा दक्षिण अफ्रिका

फाइनलमा पानी पर्ने सम्भावना ५० प्रतिशत, खेल नै हुन सकेन भने के हुन्छ?
दोस्रोपटक उपाधि जित्ने दाउमा भारत, पहिलो मौका नगुमाउने पक्षमा दक्षिण अफ्रिका

लक्ष्मी जि.सी
असार १५, २०८१ शनिबार ९:५५, काठमाडौँ

आईसीसी टी-२० विश्वकप २०२४ को उपाधिका लागि आज (शनिबार) राति भारत र दक्षिण अफ्रिका भिड्दै छन्। 

वेस्ट इन्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा हुने दुई टोलीबीचको फाइनल भिडन्त नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ। 

सन् २०१० को टी-२० विश्वकप आयोजना गरेको वेस्ट इन्डिजले १४ वर्षपछि फेरि आफ्नो मैदानमा फाइनल खेलाउँदै विश्वकपको नवौँ संस्करण बिदाइ गर्दै छ।

यसपटक विश्वकपको फाइनल खेल हुने मैदानमा दक्षिण अफ्रिकाले अहिलेसम्म कुनै खेल खेलेको छैन। भारतले भने अफगानिस्तानविरुद्धको १ खेल खेल्ने मौका पाएको छ। 

यो मैदानमा जारी विश्वकपको पहिलो खेल सुपर ओभरमा पुगेको थियो। जसमा नामिबियाले ओमानलाई हराएको थियो। 

जारी विश्वकपमा अपराजित दुवै टोली सोही लय कायम राख्दै विश्व च्याम्पियन बन्न चाहन्छन्।

त्यति मात्र हैन, यी दुई टोलीमध्ये जुन टोली विजयी भए पनि विश्वकपको इतिहासमा अपराजित रहेर उपाधि जित्ने पहिलो टोली बन्नेछन्।

..............

दक्षिण अफ्रिकाका लागि विश्वकपको फाइनलमा पुग्नु आफैँमा ऐतिहासिक र गर्विलो क्षण हो। किनकि उसले पहिलोपटक कुनै पनि ठूलो प्रतियोगिताको फाइनल खेल्दै छ। 

विश्वकपको टी-२० होस् वा एकदिवसीय- दक्षिण अफ्रिकासँग फाइनल खेलेको कुनै अनुभव छैन। 

सन् १९९८ मा च्याम्पियन्स ट्रफीको उपाधि जित्नुबाहेक दक्षिण अफ्रिकाले आईसीसीको कुनै पनि प्रतियोगिताको फाइनलमा स्थान बनाएको छैन। 

दक्षिण अफ्रिका यसअघि सन् १९९२, १९९, २००७, १०१५ र २०२३ गरी पाँच ओडीआई खेल र सन् २००९ र २०१४ मा टी-२० विश्वकपको सेमिफाइनलमा पुगे पनि त्यसबाट अघि बढ्न सकेको थिएन। अहिले पहिलोपटक फाइनल पुग्दा दक्षिण अफ्रिका उपाधिका लागि एक कदम मात्र टाढा छ।

विश्वकपको समूह चरण र सुपर ८ मा दक्षिण अफ्रिकाले सबै खेलमा जित हात पार्दा भारतले भने क्यानडाविरुद्धको खेलमा अंक बाँडेको थियो। वर्षाका कारण खेल रद्द हुँदा भारत र क्यानडाले १/१ अंक पाए। 

सुपर ८ र समूह चरणमा आफ्नो समूहको शीर्ष स्थानमा रहँदै दक्षिण अफ्रिका र भारतले सेमिफाइनल यात्रा तय गरेका थिए। 

आईसीसी टी-२० अन्तर्गत कुनै पनि प्रतियोगिताको फाइनलमा दुवै टोली पहिलोपटक भिड्न लागेका हुन्।

सन् २००७ को पहिलो विश्वकप उपाधि जितेको भारत अहिले दोस्रोपटक पनि उपाधि जित्न चाहन्छ। उता दक्षिण अफ्रिका पनि उपाधि जित्ने पहिलो सुनौलो अवसर गुमाउने पक्षमा छैन। 

भारत र दक्षिण अफ्रिका टी-२० विश्वकपमा दोस्रोपटक आमनेसामने हुँदै छन्।

यसअघि सन् २०१४ मा भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै भारत फाइनलमा पुगेको थियो। दक्षिण अफ्रिका आज हुने फाइनलमा त्यो हारको बदला लिने दाउमा छ।

पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफ्रिकालाई ९ विकेटले जित्दै फाइनलमा स्थान बनाएको थियो।

सुपर ८ मा दक्षिण अफ्रिकाले आयोजक अमेरिकालाई १८ रनले हराउँदा इङ्ल्यान्डविरुद्ध ७ रनको जित हासिल गरेको थियो।

अर्को खेलमा आयोजक वेस्ट इन्डिजलाई डीएलएस मेथडमा ३ विकेटले हराउँदै उसले सेमिफाइनलमा स्थान पक्का गरेको थियो। 

यस्तै समूह चरणको पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराएको दक्षिण अफ्रिकाले दोस्रो खेलमा नेदरल्यान्डस्‌लाई ४ विकेटले जितेको थियो।

समूह चरणको आफ्नो तेस्रो खेलमा बंगलादेशलाई ४ रनले हराउँदा नेपालविरुद्ध १ रनको रोमाञ्चक जित हासिल गरेको थियो।

...............

सन् २००७ मा विश्वकपको उपाधि जितेयता भारत पटकपटक उपाधिनजिक पुगेर पनि चुकेको छ। 

गत वर्ष घरेलु मैदानमा भएको आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा पुगे पनि भारतले उपाधि जित्न सकेन। अस्ट्रेलियासँग ६ विकेटले हारेको भारत त्यो चोट बिर्साउन र नयाँ इतिहास रच्ने लक्ष्यमा छ। 

जारी टी-२० विश्वकपमा भारतले दोस्रो सेमिफाइनलमा दुईपटकको च्याम्पियन इङल्यान्डलाई ६८ रनले हराउँदै दक्षिण अफ्रिकासँग भेट पक्का गरेको हो। 

सुपर ८ मा भारतले अस्ट्रेलियालाई २४ रनले तथा बंगलादेशलाई ५० रनले हराएको थियो। अर्को खेलमा अफगानिस्तानविरुद्ध ४७ रनको जित हासिल गरेको थियो।

समूह चरणमा भारतले आयरल्यान्डविरुद्ध ८ विकेटको जित प्राप्त गर्दा पाकिस्तानलाई भने ६ रनले हराएको थियो। 

अर्को खेलमा आयोजक अमेरिकालाई ७ विकेटले हराउँदा भारतले क्यानडाविरुद्धको खेल भने वर्षाले रद्द हुँदा अंक बाँडेको थियो। 

सन् २००७ मा पहिलो विश्वकप जितेपछि भारत सन् २००९, २०१० र २०१२ मा दोस्रो चरणबाटै बाहिरियो। सन् २०१४ मा उपविजेता बनेको भारत सन् २०१६ को विश्वकप आयोजना गर्दा भने  सेमिफाइनलमै रोकियो। 

सन् २०२१ मा दोस्रो चरणबाट बाहिरिएको भारत २०२२ मा भने सेमिफाइनलसम्म पुगेको थियो। 

पिचको अवस्था र टस
सन् २०१० को टी-२० विश्वकप आयोजना गरेको वेस्ट इन्डिज १४ वर्षपछि अहिले फेरि विश्वकपको फाइनल आफ्नो मैदानमा खेलाउँदै नवौँ संस्करणको बिदाइ गर्दै छ। 

यसपटक वेस्ट इन्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा विश्वकपका ९ खेल भएका थिए। दक्षिण अफ्रिकाले यो पिचमा अहिलेसम्म खेलेको छैन। भारतले भने अफगानिस्तानविरुद्धको एक खेल खेलेको छ। 

यो मैदानमा जारी विश्वकपको पहिलो खेल सुपर ओभरमा पुगेको थियो। जसमा नामिबियाले ओमानलाई हराएको थियो।

विश्वकपका सात खेलमध्ये भारतले पाँचवटामा पहिले ब्याटिङ गरेको छ। जसमा दक्षिण अफ्रिकाले भने तीन खेलमा टस जितेर दुईपटक फिल्डिङ रोजेको छ। अन्य खेलमा पहिले ब्याटिङ गरिरहेको छ।

दक्षिण अफ्रिका र भारत दुवै टोलीको बलिङ लाइन सशक्त छ। 

मौसम
आज हुने फाइनल खेलमा पानी पर्ने सम्भावना ५० प्रतिशत रहेको मौसमविद्ले बताएका छन्। फाइनल खेलका लागि आईसीसीले १ सय ९० मिनेट अतिरिक्त समय छुट्याएको छ। 

वर्षाले खेल प्रभावित भए कम्तीमा १० ओभरको खेल खेलाएर भए पनि विजेता घोषणा गर्ने निर्णय आईसीसीले गरिसकेको छ। 

त्यसो त फाइनल खेलका लागि आईसीसीले रिजर्भ डेसमेत राखेको छ। शनिबार वर्षाले खेल हुन नसकेको अवस्थामा मात्र आइतबार रिजर्भ डेमा फाइनल खेल हुनेछ। 

शनिबार वर्षाले खेल अवरुद्ध भए आइतबार रोकिएको अवस्थाबाटै खेल सुरु हुनेछ। आइतबार २० प्रतिशत वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ। 

रिजर्भ डेमा पनि खेल हुन सकेन भने भारत र दक्षिण अफ्रिका संयुक्त रूपमा विजेता हुनेछन्। 

हेड टु हेड 
टी-२० आईका पछिल्ला ५ भेट हेर्ने हो भने भारतविरुद्ध दक्षिण अफ्रिका हावी देखिन्छ। 

सन् २०२२ मा भएका दुई र २०२३ मा भएका तीन प्रतिस्पर्धामा भारतले एकपटक मात्र जितेको छ। 

पाँचमध्ये एउटा खेल वर्षाले रद्द हुँदा दक्षिण अफ्रिकाले तीन खेल जितेको छ। पछिल्लोपटक भएको भेटमा भने भारतले दक्षिण अफ्रिकालाई हराएको छ। 

भारतीय टोली
रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या, यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सञ्जु सैमसन, शिवम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज

वैकल्पिक खेलाडीः शुभमन गिल, रिंकु सिंह, खलील अहमद, आवेश खान

दक्षिण अफ्रिकी टोली‍ 

एडेन म (कप्तान), ओटनियल बार्टम्यान, गेराल्ड कोएत्जी, क्विन्टन डी कक, ब्योर्न फोर्टुइन, रीजा हेन्ड्रिक्स, मार्को जेन्सेन, हेनरिक क्लासेन, केशव महाराज, डेभिड मिलर, एनरिच नोर्टजे, कागिसो रबाडा, रायन रिकेल्टन, तब्राइज शम्सी, स्टब्स स्टुब्स।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .