ad ad

खेल


क्रिकेटमा फैलाउन खोजिएको आराजकताविरुद्ध कानुनी उपचार खोज्छौँ : पारस खड्का

क्रिकेटमा फैलाउन खोजिएको आराजकताविरुद्ध कानुनी उपचार खोज्छौँ : पारस खड्का

नेपालखबर
जेठ २८, २०८१ सोमबार १३:४७, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले संघका अध्यक्ष, सचिव लगायत सिंगो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउँदै आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्य सहित यसै संघ भित्रका केही सदस्यहरूले हरसम्भव प्रयास गर्नु दुःखद रहेको बताएका छन्। 

सचिव खड्काले सोमबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफूले २० वर्ष देशको लागि खेलाडीका रूपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आँच आउने गरि केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधारहिन वक्तव्यहरूको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानबिन सहित संस्थागत पद्दतिबाट छिट्टै नै कानुनी उपचार समेत खोजिने बताएका छन्।

उनले लेखेका छन्– 
नेपाल क्रिकेटको अभिभावकीय संस्था रहेको नेपाल क्रिकेट संघ (क्यान) ले समग्र नेपाली क्रिकेट र खेलाडीहरुको पक्षमा काम गर्दै आएको छ। पछिल्लो ९ महिना यता नेपाल क्रिकेट भित्र भएका केहि सराहनीय कार्यको फल स्वरुप सिंगो, संस्था नेपाल क्रिकेट संघ (क्यान) वर्तमान अवस्थामा सुमार्ग र सफलताको यात्रामा अघि बढीरहेको सर्वविदितै छ।

कयौं चुनौती र कठिनाइहरुलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैँमा महत्त्वपूर्ण रहेको छ। यद्यपि यी सबैकाबीच, संघका अध्यक्ष, सचिव लगायत सिंगो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउंदै आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्य सहित यसै संघ भित्रका केही सदस्यहरुले हरसम्भव प्रयास गरिरहनु भएको कार्य आफैंमा दुखद हो।

नेपाली क्रिकेटमा खेलाडीको रुपमा मैले देशको झण्डा ओड्दै यसको गरिमा र मान(प्रतिष्ठालाई थप उचाईमा लग्नका निम्ति गरेको २० वर्षको प्रयासलाई सम्झंदै यस खेलको विकासमा आफुलाई समर्पित गर्ने निधो गरेको हुँ। नेपाललाई क्रिकेटिंग राष्ट्रका रुपमा आत्मनिर्भर बनेको हेर्ने हामी सबैको सपनालाई साकार पार्दै नेपाल क्रिकेट संघको गरिमालाई थप उचाईमा पुर्याउनु मेरो लक्ष्य, जिम्मेवारी र प्रमुख कर्तव्य ठानेको छु ( र यसै सपनालाई साकार पार्न संस्थागत रुपबाट केही गरौं भन्ने सोचका साथ खेलाडी जीवनबाट सन्यास लिंदै नेपाल क्रिकेट संघको जिम्मेवारीपुर्वक काम गर्न पाउनु मेरो लागि सवैभन्दा ठूलो अवसर समेत ठानेको छु। 

यसबीचमा मैले २० वर्ष देशको लागि खेलाडीका रुपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आंच आउने गरि केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधारहिन वक्तव्यहरुको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानविन सहित संस्थागत पद्दतिबाट छिट्टै नै कानुनी उपचार समेत खोजिने छ।

साथै, नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरूलाई समेत यस प्रकारका व्यक्तिगत राजनीतीक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गरिदिनुहुन समेत हार्दिक अनुरोध गर्दछु।

विश्वकप जस्तो सर्वोच्च मंचमा नेपाली राष्ट्रिय क्रिकेट टोली सहभागी भैरहेको यो समयमा हामी सबैको ध्यान र साँचो समर्थन हाम्रो टोली र खेलाडीहरु प्रति रहनु आवश्यक रहेको छ। यो क्षणमा हामी सबैको मुख्य प्राथमिकता भनेको क्रिकेट हो भन्ने पक्षलाई मनन गर्दै सिंगो विश्वसामु लडिरहेका हाम्रा खेलाडीहरुको मनोवल र हौसला बढाईदिनु हुन र नेपाली टोलीलाई समर्थन गरिदिनुहुन समेत अनुरोध गर्दछु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .