कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान अब नयाँ ढाँचामा निर्माण हुने भएको छ। अबको ४/५ महिना घरेलु मैदानमा कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुने भएकाले त्रिवि क्रिकेट मैदानको स्तरोन्नतीको काम अघि बढाउने तयारी भएको छ। यो समयलाई सदुपयोग गर्दै क्यान, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र मन्त्रालय मिलेर काम गर्दैछन्।
त्यसकै लागि बिहीबार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ लगायत मन्त्रालय र राखेपका कर्मचारीले मैदान निरीक्षण गरेका थिए। मन्त्री श्रेष्ठ र सदस्यसचिव घिसिङलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले ब्रिफिङ गराएका थिए।
अहिले मैदानको पिच मर्मतको काम भैरहेको छ। जसका लागि पुरानो माटोलाई हटाएर नयाँ माटो राख्न सुरु भैसकेको छ। क्यानले अब नोभेम्बरमा नेपाल प्रिमियर लिग गर्नेछ।
त्यसपछि मात्रै डिसेम्बरमा अन्तर्राष्ट्रिय खेल हुन सक्छ।

त्रिविको स्तरोन्नती गर्दा मैदानको आकार पनि बढाइनेछ। त्रिवि मैदान अहिले पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको भएपनि त्यसको आकार अझै बढाइने तयारी भएको सचिव खड्काले जानकारी गराएका थिए।
मैदानमा सबै काम एकै पटक सुरु नभइ एकपछि अर्को गर्दै निमार्णको प्रक्रिया सुरु गर्ने तयारी भएको छ। त्यसका लागि प्यारापिट, शौचालय, समर्थकलाई चाहिने कुरा अनि साइड स्क्रिनलाई राखिएको छ।
मैदान निरीक्षणपछि मन्त्री श्रेष्ठले भने, ‘क्यानले बुझाएको प्रतिवेदनका अनुसार सदस्य सचिवसँगको छलफलपछि फिल्डमा नै गएर हेरौँ भन्नुभएकाले बिहीबार आएका हौँ। सबैले फरक तरिकाले सोच्नुभन्दा सबै मिलेर अघि बढौँ भनेर मिलेर काम गर्ने हो।’
नेपालको क्रिकेट विकासका लागि भारतले २० करोड रुपैयाँ सहयोग गर्दैछ। त्यो रकमलाई पनि कसरी सदूपयोग गर्ने भन्ने बारेमा क्यान र अन्य सरकारी निकाय बसेर छलफल भैरहेको छ।
बजेटमा घोषणा भए अनुसार सामाजिक उत्तरदायित्वको रकम पनि कसरी खर्च गर्ने भन्ने बारेमा पनि मिलेर अघि बढ्ने मन्त्री श्रेष्ठले सुनाए।

यस्तै, अन्य देशमा होटल तथा पर्यटन व्यवसायले खेलाडीका लागि होस्टेल बनाइदिने र त्यसबाट आफ्नो विज्ञापन गर्ने भएकाले मन्त्री श्रेष्ठले हानसँग पनि आफूले छलफल गर्ने बताएका छन्।
यस्तै, फ्लड लाइटको विषयमा प्राविधिक क्रुटीका कारण गतवर्ष पनि सुरु हुन नसक्दा यो पटक छुट्टिएको २० करोड रुपैयाँ खर्च गर्ने मन्त्री श्रेष्ठले बताए। उनले थपे, ‘अहिले नेपालको खेलकुद विकासका लागि कतारी सरकार र कोरियाली सरकारले पनि चासो देखाएको छ।’
त्रिवि मैदानमा हरेक अन्तर्राष्ट्रिय खेल हुँदा शौचालय र पानीको विषयले चर्चा पाउँदै आएको छ। त्यसलाई नै हटाउन क्यानले पहिलो चरणमा महिला र पुरुषका लागि फरक शौचालय र पानीको व्यवस्था गर्ने तयारी गरेको छ।
यस्तै, क्यान सचिव खड्काले लगातार प्रतियोगिता हुँदा मैदानले रेस्ट नपाएको अवस्थामा खाली समयमा काम भैरहेको जानकारी गराए।

उनका अनुसार, अहिले एकैपटक भन्दा जोन अनुसार काम सुरु गर्ने तयारी भैहरेको छ। सुरुवातमा महिला पुरुष समर्थकका लागि शौचालय, भिआईपीका लागि स्थान बनाइनेछ। बजेटलाई ब्रेक डाउन गरेर काम अघि बढाइने बताउँलै उनले भने, ‘पुर्वाधार राम्रो नभएसम्म अव्यवस्थित हुन्छ। अहिले सबै मिलेर नतिजा दिने गरेर काम गर्नेछ। सबै एकैपटक नबने पनि पेभेलियनलाई पनि राम्रो गराउने छ।’
नेपाली समर्थक घरेलु मैदानमा नेपाली टोलीले टेस्ट मान्यता प्राप्त राष्ट्रसँग खेलेको हेर्न लालायित छन्। यसका लागि पहिला पुर्वाधार नै मुख्य आधार रहेको सचिव खड्काले बताए।
उनले भने, ‘अबको २०२५ को अन्तिमसम्म घरेलु मैदानमा टेष्ट राष्ट्रलाई बोलाउन सक्नेछौँ। त्यसका लागि पुर्वाधार नै मुख्य हो। आजको कुराकानीले उत्साहित छौँ। पुर्वाधारको जिम्मेवार सरकारी निकाय भएकाले उनीहरू मिलेर अघि बढ्नेछौँ।’

Shares

प्रतिक्रिया