ad ad

खेल


सन्दीपलाई अमेरिकी दूतावासले दिएन भिसा

सन्दीपलाई अमेरिकी दूतावासले दिएन भिसा

नेपालखबर
जेठ ९, २०८१ बुधबार १६:५९, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ।

टी-२० विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जान लागेका उनलाई दूतावासले भिसा दिन अस्वीकार गरेको हो।

आफूलाई दूतावासले भिसा नदिएको कुरा सन्दीपले फेसबुकमा उल्लेख गरेका छन्। 

‘नेपालस्थित अमेरिकी राजदूतावासले फेरि त्यही गर्‍यो, सन् २०१९ मा जे मलाई गरेको थियो’, सन्दीपले लेखेका छन्, ‘अमेरिका र वेस्ट इन्डिजमा हुने टी२० विश्वकपको लागि मेरो भिसा अस्वीकार गरेको छ।’ 

उनले भिसा नपाएकोमा दुःख व्यक्त गर्दै नेपाली क्रिकेटप्रेमीसँग माफीसमेत मागेका छन्।  

उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि सन्दीप विश्वकपको तयारीमा जुटेका थिए।

गत जेठ २ मा सन्दीपलाई अदालतले सफाइ दिएको थियो। लगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले पनि घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट उनको निलम्बन फुकुवा गरेको थियो। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन्दीपलाई टिममा राख्न स्वीकृति दिए पनि अमेरिकाले भिसा नदिएकै कारण उनी टी-२० विश्वकप खेल्न वञ्चित हुने भएका छन्।

यसअघि सन्दीपको मुद्दा चलिरहेकाले क्यानले सन्दीपबाहेक १५ सदस्यीय टोली घोषणा गर्दै आईसीसीमा पठाएको थियो। 

आईसीसीले सन्दीपको नाम थप्न स्वीकृति दिएपछि क्यानले उनलाई अमेरिका पठाउने प्रक्रिया सुरु गरेको थियो।

क्यानले बुधबार क्रिकेट टोलीका लेगस्पिनर लामिछानेलाई आईसीसी टी–२० विश्वकप खेल्न अमेरिका पठाउने तयारी भइरहेको जानकारी विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो। 

‘संयुक्त राज्य अमेरिकाको भिसाको प्रक्रिया अगाडि बढाइएको व्यहोरा जानकारी गराउँदै यस संघबाट निजको विश्वकप क्रिकेट प्रतियोगितामा सहभागितासम्बन्धी सबै आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको व्यहोरासमेत अवगत गराउन चाहन्छु,’ क्यान सचिव पारस खड्का विज्ञप्तिमा भनेका थिए। 

क्यानले २०८० पुस २६ गते घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट पूर्वकप्तानसमेत रहेका सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको थियो। 

जिल्ला अदालतले दोषी ठहर गरेलगतै निलम्बनमा परेका सन्दीप झण्डै ५ महिनापछि मैदान फर्किँदै थिए। 

टी–२० विश्वकप क्रिकेट अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि हुँदै छ।

१० वर्षअघि पारस खड्काको कप्तानीमा पहिलोपटक विश्वकप खेलेको नेपालले अहिले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली त्यहाँ पठाइसकेको छ। टोली अहिले दुवै देशमा अभ्यास खेल खेलिरहेको छ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यो  समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन्। नेपालले  जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।

जुन ११ मा श्रीलङ्का, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ तारिख बङ्गलादेशसँग खेल्ने तालिका छ ।

यसअघि अमेरिका पुगेको टोलीमा कप्तान रोहितकुमार पौडेलसँगै, आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी सामेल छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .