खेल


नेपाललाई विश्वकप पुर्‍याउने जिम्मा पाएको यो टोली

नेपाललाई विश्वकप पुर्‍याउने जिम्मा पाएको यो टोली

यज्ञराज जोशी
असार १६, २०७६ सोमबार १२:२२,

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) टी–२० विश्वकप अन्तर्गत एसिया छनोटका लागि नेपालले कप्तान पारस खड्काको नेतृत्वमा आइतबार १४ सदस्यीय टोली घोषणा गर्‍यो।

टोलीको मुख्य लक्ष्य नेपाललाई अष्ट्रेलियामा सन् २०२० मा हुने टी–२० विश्वकप खेल्न योग्य बनाउँनु हो।

अहिले घोषणा भएको टोली साउन ६ देखि १२ गतेसम्म सिंगापुरमा हुने एसिया छनोटका लागि हो। तर त्यसको दुई महिनापछि असोजमा हुने ग्लोबल छनोटमा पनि अधिकांश यही टोली सदस्यले निरन्तरता पाउने पक्का छ।

Team 2

एसिया छनोट चरण पार गर्नु नेपालका लागि त्यति चुनौतीपूर्ण देखिदैँन। सहभागी अन्य टोलीहरु सिंगापुर, कुवेत, कतार र मलेसिया नेपालभन्दा तुलनात्मक रुपमा कमजोर टोलीहरु हुन्। प्राविधिक कारणबाहेक नेपालले सजिलै विश्वकप छनोटको अन्तिम चरण ग्लोबल छनोटमा स्थान बनाउने आशा छ।

‘अन्य टिमको तुलनामा हामीलाई दबाब छ,’ कप्तान पारस खड्का भन्छन्, ‘अन्य टिमभन्दा नेपाल उच्च वरियतामा पनि छ। हामी कुनै पनि कुरालाई सजिलो गरी लिने छैनौं। हामी त्यहाँ गएर राम्रो खेल्नैपर्छ। तयारी राम्रो भएको छ। तयारी अनुरुप खेल्दा हामी यो चरण पार गर्नेछौं।’

सन् २०१४ पछि दोस्रोपटक विश्वकप खेल्ने लक्ष्यसहित आइसीसीसँगको अनुरोधमा नेपालले अघिल्लो महिनामात्रै विदेशी प्रशिक्षकका रुपमा उमेश पटुवाललाई एकवर्षका लागि अनुबन्ध गर्‍यो।

नियुक्ति लगत्तै पटुवालले २५ जना खेलाडीहरुलाई समेट्दै बन्द प्रशिक्षण शुरु गरे। त्यसको दश दिनपछि आइतबार नेपालले ४ जना वैकल्पिक खेलाडीसहित अन्तिम १४ जनाको सुचि सार्वजनिक गर्‍यो।

गतवर्ष माघ (२०७५) मा भएको यूएई टूरका बेला भिटामीन ‘डी’को कमीका कारण टोलीमा नरहेका शरद भेषावकर अहिले टोलीमा फर्किएका छन्। सोही टूरमा डेब्यू गरेका सन्दीप जोरा टोलीबाट बाहिरिएका छन्। त्यसबाहेक टोलीमा अधिकांश पूरानै अनुहार छन्। टोलीको मुख्य जिम्मेवारी नेपाललाई पुनः विश्वकपमा पुर्याउँने नै हो।

‘हामीसँग उपलब्ध सर्वोत्कृष्ट १४ खेलाडीहरु यिनीहरु नै हुन्,’ राष्ट्रिय टोलीका छनोटकर्ता समेत रहेका पारसले भने, ‘पछिल्लो एक वर्ष खेलाडीहरुले जे जस्तो प्रदर्शन गरे। त्यसबाटै हामीले उत्कृष्ट १४ खेलाडी छानेका हौं। खेलाडीहरु जो डिजर्भ गर्छन्। जो कडा मेहनत गर्छन्। जसले प्रभाव पार्नसक्ने देखाएका छन्। तिनीहरु टिममा परेका छन्। हामीसँग फेरि एक पटक विश्वकप खेल्ने अवसर छ र त्यसको सुरुवात यो हो। आशा गर्छु, तयारी अनुसार सबै खेलाडीले प्रदर्शन गर्नेछन्।’

ओपनिङमा अलमल

Openerrनेपालको ओपनिङ ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समेत गरेका थिए
नेपाललाई फेरि विश्वकप खेलाउने जिम्मा पाएको टोलीमा ओपनिङबारे भने अलमल छ। सन् २०१५–१७ सम्म चलेको विश्व क्रिकेट लिग च्याम्पियनसिप देखि नै नेपालले ओपनिङमा विभिन्न विकल्पहरु प्रयोग गरिरहेको छ।

पछिल्लो यूएईविरुद्धको टूरमा समेत नेपालले नयाँ प्रयोग गर्‍यो। जहाँ ३ वटा ओडिआई शृंखलाका क्रममा ज्ञानेन्द्र मल्ललाई मध्यक्रमका विनोद भण्डारीले साथ दिएका थिए। लगत्तै भएका तीन वटा टि–२० अन्तर्राष्ट्रियमा पारससँगै प्रदीप ऐरी र पवन सर्राफ ओपनिङमा देखिए। जुन प्रयोग सफल देखिएन्।

यसपटक घोषित टिममा ओपनिङमा विभिन्न विकल्पहरु छन्। यसअघि ओपनिङ गरिसकेका ज्ञानेन्द्र मल्ल, पारस खड्का, प्रदीप ऐरी, विनोद भण्डारी र पवन सर्राफ ओपनिङका विकल्प हुन्। यस्तै जेठमा भएको प्रधानमन्त्री कप एक दिवसीयमा शरद भेषावकरले पनि ओपनिङमा आफूलाई उतारेपछि उनलाई पनि विकल्पका रुपमा हेरिएको छ।

कसले ओपनिङ अझै टुंगो छैन्। ओपनिङको समस्या पहिलेदेखि नै रहेको बताउँदै पारसले यसपटक विभिन्न विकल्पहरु भएको र जसले भूमिका पाए पनि उसलाई राम्रो गरेर देखाउँने अवसरहरु भएको बताउँछन्।

ज्ञानेन्द्र र प्रदीप अनुभवी जोडी भएकाले उनीहरुले ओपनिङ गर्ने सम्भावना बढी छ। पारस र शरदको सम्भावना माथिल्लो क्रममा खेल्ने न्यून छ भने ज्ञानेन्द्रसँग विनोद भण्डारीले ओपनिङ गर्दा फिनिसिङको भूमिका शरद आउँनेछन्।

मध्यक्रममा प्रतिस्पर्धा

कप्तान पारस खड्का र प्रशिक्षक उमेश पटुवालकप्तान पारस खड्का र प्रशिक्षक उमेश पटुवाल
मध्यक्रममा नेपालको ब्याटिङ पावरको मुख्य उर्जा छ। पारस, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, रोहितकुमार पौडेल र ओपनिङमा नआएर विनोद भण्डारी मध्यक्रमका प्रतिस्पर्धी हुन्। त्यसबाहेक अलराउण्डरका रुपमा  सोमपाल कामी र पवन सर्राफ छन्। ज्ञानेन्द्रले शीर्ष क्रममा नखेले उनी पनि मध्यक्रम देखिनेछन्।

ओपनिङ नचले तेस्रो नम्बरमा आउने पारसले नेपाली इनिङ सम्हाल्दै आएका छन्। पारस छिटो रन बनाउन र टोलीलाई दबाबमुक्त राख्न क्षमताका खेलाडी सावित हुँदै आएका छन्। पारस स्वयम् पनि नेपाललाई दोस्रो पटक विश्वकप खेलाउन आफूमाथि महत्वपूर्ण जिम्मेवारी रहेको बताउँछन्।

‘एकपटक हामीसँग फेरि विश्वकप खेल्ने अवसर छ त्यसको सुरुवात यो प्रतियोगिता (एसिया छनोट)बाट हुनेछ,’ उनी भन्छन्,  ‘कप्तानका हिसाबले ममा पनि यो बाधा (एसिया छनोट)लाई पार गराउनु पर्ने जिम्मेवारी छ। त्यसपछि मात्रै हामीले विश्वकपको सपना देख्नसक्छौं।’

सोमपाल कामी नेपाली टोलीका प्रमुख अलरायण्डर हुन्सोमपाल कामी नेपाली टोलीका प्रमुख अलरायण्डर हुन्

मध्यक्रममा शरद भेषावकरको आगमनले टोलीमा उत्साह थपिएको छ। प्रशिक्षक पटुवाल शरद नेपालमा नेपालमा उपलब्ध हुने खेलाडीमध्येका उत्कृष्ट खेलाडी रहेको बताउँछन्। ‘यसअघि इञ्जुरीका कारण उनी टोलीमा रहेनन्,’ पटुवाल भन्छन्, ‘फिट हुँदा शरद सधैँ पहिलो रोजाईको खेलाडी हुन्।’

यसअघि शरदले टोलीमा फिनिसरको भूमिका निर्वाह गर्दै आएका छन्। उनको स्थानमा रोहित पौडेल, पवन सर्राफजस्ता खेलाडीको आगमनले कुन स्थानमा खेल्छन् अझै निश्चित छैन्। तल्लो क्रममा अलराउण्डरका रुपमा सोमपाल कामी, करण केसी तथा बसन्त रेग्मीले भूमिका निर्वाह गर्दै आएका छन्।

बलिङमा प्रशस्त विकल्प
नेपाली टोलीको बलिङ सधैँ बलियो रहदैँ आएको छ। बलरहरु पनि यसपटक नेपाल विश्वकप खेल्नेमा आशावादी छन्।

सन्दीप लामिछानेले विश्वकै फ्रेन्चाइजी लिगहरु खेल्दै नेपालको ग्लोबल आइकनका रुपमा आफूलाई चिनाएका छन्। यसै महिना उनीसँगै सोमपाल कामी पनि क्यानडाको ग्लोबल टि–२० लिगमा छनोट भए। विदेशी लिगमा छनोट हुँदा प्रदर्शनमा समेत खारिने सोमपाल बताउँछन्।

अभिनाश बोहरा टि-२० मा डेथ ओभर स्पेशलिस्ट बलर हुन्अभिनाश बोहरा टि-२० मा डेथ ओभर स्पेशलिस्ट बलर हुन्

‘अहिलेसम्म देशभित्रकै लिगहरु खेलिरहेको थिएँ,’ एक दिवसीयमा नेपालका एकमात्रै ५ विकेट लिने खेलाडी सोमपालले भने, ‘विदेशी लिगमा छनोट हुँदा अझै उत्प्रेरित भइन्छ। पहिले मेरो योगदान हिजोको ८० प्रतिशत हुन्थ्यो भने अब शतप्रतिशत हुनेछ।’

तीव्र गतिको बलिङ विकल्पमा रुपमा करण केसी र अभिनाश बोहरा प्रतिस्पर्धामा छन्। त्यस्तै पवन सर्राफ, पारस खड्का र दीपेन्द्रसिंह ऐरीले पनि नेपाली तीव्र गतिको बलिङमा विकल्प थपेका छन्।

यूएईविरुद्धको टि–२० शृंखला जित्दाका नायक अभिनाश बोहराको विश्वास नेपालले यही टोलीको मद्दतमा विश्वकप खेल्छ भन्ने छ।

‘भित्रैबाट मलाई नेपाल टि–२० विश्वकपमा छनोट हुन्छ भन्ने लाग्छ,’ डेथ ओभर स्पेशलिष्ट बलर अभिनाश भन्छन्, ‘त्यसका लागि हामी शतप्रतिशत दिनेछौं। टोलीमा पनि सबैले विश्वकप खेल्ने लक्ष्य बनाएर मेहनत गरिरहेका छन्। जसरी पनि नेपाललाई टि–२० विश्वकपमा छनोट गराएरै छोड्ने प्रतिबद्धता छ।’

स्पिनरहरुमा सन्दीपलाई साथ दिन बसन्त रेग्मी र ललितनारायण राजवंशी टोलीमा छन्।

बलियो टिम स्प्रिट
नेपाली टोलीको बलियो हतियार नै टिम स्प्रिट रहेको कप्तान पारस खड्का बताउँछन्। ‘क्रिकेट भनेको टिम एकजुट भएर खेल्ने खेल हो,’ उनले भने, ‘हाम्रो टिममा निकै राम्रो वातावरण छ। तर, टिमका रुपमा हामीसबैमा प्रदर्शन गर्ने भोक छ। टिम ब्यालेन्स छ। आशा गरौं टिमका हिसाबले हामी राम्रो प्रदर्शन गर्नेछौं।’

नयाँ प्रशिक्षक र नयाँ वातावरणले टिम खेलाडीहरु उत्साही रहेको बताउँदै पारसले कोच जो भएपनि आखिरीमा खेलाडीहरुले नै प्रदर्शन गर्नुपर्ने बताए।

नेपाली टीमनेपाली टीम

प्रशिक्षक उमेश पटुवालले टिममा अवस्था हेरेर काम गर्न सक्ने खेलाडीहरु अन्तिम १४ मा छनोट गरिएको बताए। ‘आवश्यक कन्डिसनमा प्रदर्शन गर्नसक्ने वातावरण हेरि हामीसँग भएका उत्कृष्ट खेलाडीहरुलाई हामीले छानेका छौं,’ उनले भने, ‘लयसँगै क्यारेक्टरलाई पनि ध्यान दिएका छौं। उनीहरुले टिममा कसरी काम गरेका छन् त्यो हेरेका छौं।’

नेपाली टोली
पारस खड्का(कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, प्रदीप ऐरी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, पवन सर्राफ र अभिनाश बोहरा

एसिया छनोटमा नेपालको खेल तालिका
जुलाई २३– नेपाल भर्सेस कतार
जुलाई २४– नेपाल भर्सेस मलेसिया
जुलाई २७– नेपाल भर्सेस कुवेत
जुलाई २८– नेपाल भर्सेस सिंगापुर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .