इंग्ल्याण्डले अपराजित एकमात्रै टोली भारतमाथि ३१ रनको जित हात पारेसँगै विश्वकप २०१९ को सेमिफाइनल होड रोमाञ्चक बनेको छ।
अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेपनि भारत, इंग्ल्याण्ड, न्यूजिल्याण्ड र पाकिस्तान बाँकी तीन स्थानको लागि मुख्य प्रतिस्पर्धामा छन्।
भारतलाई बाँकी दुई खेलमा एक अंक ल्याएपनि सेमिफाइनलमा पुग्ने अवस्था छ। भारतले अब बंगलादेश र श्रीलंकासँग खेल्न बाँकी छ।
सबैभन्दा बढी दबाब इंग्ल्याण्ड र पाकिस्तानलाई छ। अन्तिम खेलमा यदि पाकिस्तानले बंगलादेशलाई पराजित गरेमा इंग्ल्याण्डले अन्तिम खेलमा न्यूजिल्याण्डलाई हराउँनै पर्ने हुन्छ। न्यूजिल्याण्डसँग इंग्ल्याण्ड पराजित भएमा र पाकिस्तानले बंगलादेशसँग जित हात पारेमा आयोजक इंग्ल्याण्ड प्रतियोगिताबाट बाहिरिनेछ।
विश्वकपमा हारपछि पुनरागमन गर्नेक्रममा जोनी बरेस्ट्रोको १ सय ११ रन तथा उनको जोसन रायसँग पहिलो विकेटका लागि १ सय ६० रनको साझेदारीको मद्दतमा इंग्ल्याण्डले भारतविरुद्ध ३ सय ३७ रन बनाएको थियो।
त्यसमा रोयले ६६ तथा बेन स्टोक्सले ७९ रन जोडेका थिए। भारतका मोहम्मद सामीले ५ विकेट लिए। १० ओभरमा १ ओभर मेडन राख्दै उनले ६९ रन खर्चे।
जवाफमा केएल राहुलका रुपमा पहिलो विकेट शुन्यमै गुमाएपनि दोस्रो विकेटका लागि रोहित शर्मा र विराट कोहलीले १३८ रनको साझेदारी गरेपछि भारत लक्ष्य तर्फ अघि बढेको थियो।
रोहितको १ सय २ रनको शतकीय पारी र कोहलीको ६६ रनको अर्धशतकीय पारीका बाबजुद भारतले लक्ष्य हासिल गर्न सकेन्।
दश ओभरमा १ सय २ रन आवश्यक हुँदा क्रिजमा रहेका महेन्द्रसिंह धोनी र हार्दिक पाण्ड्याले आशा जगाएपनि जित दिलाउँन सकेनन्। पाण्ड्या ४५ रनमा ४५औं ओभरमा पवेलियन फर्किए भने धोनी ४२ रनमा नटआउट रहे।
Shares

प्रतिक्रिया