संकटा क्लबलाई पराजित गर्दै उपाधि दाबेदार मछिन्द्र क्लव, सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ। सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा मछिन्द्रले संकटालाई ३–१ गोल अन्तरले हराएको हो।
१२ खेलमा ९ मा जित २ मा बराबरी र १ मा हार भोगेको मछिन्द्र २८ अंकमा शीर्ष स्थानमा फर्कदा एक खेल कम खेलेको आर्मी २६ अंकमा दोस्रो स्थानमा छ।
४ खेलमा जित, ३ मा बराबरी र ५ खेलमा हार भोगको संकटा १५ अंकमा सातौ स्थानमा छ।
मछिन्द्रको जितमा देवेन्द्र तामाङ, विशाल राई बी र दीपक राईले १–१ गोल गरे। पहिलो हाफमा १–० ले अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा २ गोल थपेको हो। खेलको ४४ औं मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए। रञ्जित धिमालको कर्नरमा देवेन्द्रले हेडमार्फत गोल गरेका थिए।
खेलको ६४औं मिनेटमा मछिन्द्रका विशाल राई ‘बी’ ले फ्रिकिकमा गोल गर्दै अग्रता दोब्बर पारे। गोलरक्षक पोजिसनमा नरहेको अवस्थामा बिशालको फ्रिकिकले पोस्टको दिशा लिएको थियो। ८२औं मिनेटमा रन्जित धिमालको पासमा दीपक राईले गोल गर्दै मछिन्द्रलाई ३–० को अग्रता दिलाए। संकटाका मसोउकीले ८९ मिनेटमा एक गोल फर्काए।
प्रतिक्रिया