ad ad

खेल


फिफा विश्वकप छनोट : लाओसलाई जित्नैपर्ने दबाबमा नेपाल

फिफा विश्वकप छनोट : लाओसलाई जित्नैपर्ने दबाबमा नेपाल

नेपालखबर
असोज २९, २०८० सोमबार १४:३२, काठमाडौँ

फिफा विश्वकप २०२६ अन्तर्गत एसिया क्षेत्र छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा मंगलबार नेपाल र लाओस भिड्दैछन्। खेल साँझ पौने ६ बजेपछि सुरु हुनेछ।

लाओसको घरेलु मैदानमा हुने खेलका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आफूहरु दोस्रो खेलका लागि राम्रो तयारी गरेको बताएका छन्।

खेलअघिको पत्रकार सम्मेलनमा नेपालका मुख्य प्रशिक्षक एनेसले भने, ‘यो खेल नेपाल र मेरो लागि पनि निकै महत्वपूर्ण छ। यदि हामीले अगाडि बढ्ने हो भने, हामीले जित्नुपर्छ। हामी लाओससँगको भिडन्तका लागि तयार छौं। हामी आक्रामक फुटबल खेल्नेछौं। हामीले आफैमा ध्यान केन्द्रित गर्न आवश्यक छ।’

उनले थपे, ‘लाओसमा आउन पाउँदा खुसी लाग्यो। पहिलो खेलमा लाओसले धेरै समय खेर फालेको थियो। रेफ्रीको निर्णय पनि हाम्रो पक्षमा थिएन। हामीले यो विषय म्याच कमिश्नरमा पनि उठाएका छौं।’

टोलीका कप्तान किरण कुमार लिम्बुले भने, ‘यो खेल हाम्रो लागि निकै महत्वपुर्ण छ, पहिलो खेल निकै निरासाजनक रहेको थियो। हामी राम्रो खेल प्रस्तुत गर्न चाहान्छौँ।’

उनले थपे, ‘राम्रो तयारी गरेका छौँ, अगाडि बढ्नका  लागि जित निकै आवश्यक छ। पहिलो खेलमा गरेका स–साना गल्तीहरुलाई सुधार्न काम गरिरहेका छौँ। दशैं पर्व मनाउन घर फर्किएका समर्थकहरुलाई राम्रो नतिजा दिएर खुसी दिलाउने प्रयासमा हुनेछौँ।’

उता लाओसका प्रशिक्षक कालाया सिसोम्वाङले आफुहरुले अघिल्लो खेलबाट सिकेका धेरै कुरालाई विश्लेषण र अध्ययन गरेको बताएका छन्।

पहिलो खेलमा टोलीका मुख्य खेलाडी घाइते भएका र उनी ठीक भइरहेको बताउँदै प्रशिक्षक कालायाले आफूहरुसँग २३ खेलाडी रहेको र सँधै टोलीलाई नै प्राथमिकता दिएका बताए।

मंगलबारको खेलमा समर्थकहरुलाई स्टेडियममा आएर हौसला बढाउन आग्रह गरेका छन्।

लाओस कप्तान फुट्दावी होम्मासानले मंगलबारको खेलमा सय प्रतिशत दिएर खेल्ने बताएका छन्। टोलीमा सुधार गर्नुपर्ने ठाउँमा काम गरिरहेका छौँ भन्दै उनले खेलमा समर्थकहरुलाई सहयोग गर्न आग्रह गरेका छन्।

पहिलो लेगमा १–१ को बराबरी गरेका दुवै टोली दोस्रो खेलमा स्पष्ट जित निकाल्न चाहन्छन्।

दोस्रो लेग पनि बराबरी भएमा खेलमा ३० मिनेट थप गरिनेछ। ३० मिनेटमा पनि बराबरी भए खेलको निर्णय टाइब्रेकरबाट लिइनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .