ad ad

खेल


चर्किँदै चुम्बन काण्ड, छोराको बचाउमा आमाले थालिन् भोक हडताल

अध्यक्ष रुबियालेसविरुद्ध यौन हिंसाको मुद्दा दायर गर्न जेनीलाई सुझाव
चर्किँदै चुम्बन काण्ड, छोराको बचाउमा आमाले थालिन् भोक हडताल

स्पेनिस महिला फुटबल खेलाडीलाई चुम्बन गर्दै स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेस।


रासस/एपी
भदौ १२, २०८० मंगलबार २०:१५, जेनेभा

महिला विश्व कप च्याम्पियनलाई ओठमा चुम्बन गरेका कारण विवादमा तानिएका स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियालेसकी आमाले भोक हडताल थालेकी छन्। अध्यक्ष रुबियालेसलाई राजीनामा गर्न दबाब बढिरहेका बेला उनी छोराको बचाउमा भोक हडतालमा उत्रिएकी हुन्। 

प्रशिक्षक रुबियालेसले सहमतिमा ओठमा चुम्बन गरेको अभिव्यक्ति दिएपछि स्पेनी फुटबल महासङ्घका साथै अन्य क्षेत्रीय फुटबल निकायका नेताहरूले पनि उनको राजीनामा मागेका छन्। महिला विश्वकप प्रतियोगिताको फाइनल खेलमा स्पेन विजयी भएपछि सिड्नीमा यही भदौ ३ गते आयोजित समारोहमा उनले खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेका थिए। 

प्रशिक्षक रुबियालेसको अनुशासनहीन हर्कतबाट क्रूद्ध अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले  उनलाई ९० दिनका निम्ति  निलम्बन गरेको छ भने  फिफा अनुशासन समितिले अनुसन्धान पनि थालेको छ।

उनले सहमतिमा चुम्बन गरेको बताए पनि  खेलाडी जेनीले त्यसको प्रतिवाद गरेकी छन्। 

स्पेनले पहिलोपटक महिला विश्वकप प्रतियोगितामा हासिल गरेको विश्वविजेताको यो उपलब्धिलाई  चुम्बन काण्डले ओझेलमा पारेको छ। विश्वकपअन्तर्गत अस्ट्रेलियाको सिड्नीमा भएको फाइनल खेलमा स्पेनले इङ्गल्यान्डलाई १–० गोलले हराएको थियो। 

चुम्बन काण्ड चर्किएपछि स्पेनको राष्ट्रिय टोलीका खेलाडीहरूले अध्यक्ष रुबियालेसले राजीनामा नगरेसम्म मेदानमा नफर्कने घोषणा गरेका छन्। उनकी आमा एन्जेल्स बेजारले आफ्नो छोराले न्याय नपाएसम्म मोट्रिलको दक्षिणी सहरको गिर्जाघरमा भोक हडताल जारी राख्ने सरकारी समाचार समिति ईएफईलाई बताएकी छन्। खेलाडी जेनीले सत्य नबोलेको आरोप पनि उनले लगाएकी छन्। 

स्पेनका फुटबलसम्बद्ध अधिकारीहरूले चुम्बन काण्डले देशको प्रतिष्ठा विश्वभर बिग्रिएको बताउँदै रुबियालेसले राजीनामा गर्नु श्रेयस्कर हुने बताएका छन्। सरकारी अधिकारीहरूले सहमतिमा चुम्बन नगरिएको भए उनीविरुद्ध यौन हिंसाको मुद्दा दायर गर्न अभियोजकको कार्यालयले जेनीलाई सुझाएका छन्। उनलाई मुद्दा दायर गर्न १५ दिनको अवधि दिइएको छ। खेलकुदसम्बन्धी विवाद निरुपण गर्ने निकायले रुबियालेसलाई पदबाट हटाउने अपेक्षा सर्वसाधारणले गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .