ad ad

खेल


एसियन गेम्स : करातेलाई नयाँ इतिहास रच्ने अवसर (भिडिओ)


लक्ष्मी जि.सी
भदौ ११ , काठमाडौँ

एसियन गेम्समा पदकको उच्च सम्भावना भनिएको करातेले एसियाडमा अहिलेसम्म तिन कास्य पदक जितेको छ। सन् २०१४ को इन्चोन एसियाडपछि करातेले पदक जित्न सकेको छैन। 

यो पटकको एसियाडमा करातेका ८ खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्। यी आठै खेलाडीका लागि एसियाड पहिलो अनुभव हुनेछ। एसियाडमा कुमुतेमा ६ र कातामा दुई खेलाडीले चुनौती दिनेछन्। 

कातामा एलिसा रास्कोटी मगर र स्वनिम मानन्धरले एकल कातामा स्पर्धा गर्नेछन्। 

छोटो समयमा नै राष्ट्रिय टोलीमा स्थान बनाएकी एलिसा पहिलोपटक एसियाड खेल्न पाउँदा उत्साहित छिन्। एसियन गेम्सको छनोटमा एलिसाले अनुभवी खेलाडी चञ्चला दनुवारलाई हराउँदै एसियाडका लागि स्थान बनाएकी हुन्। त्यो क्षणलाई सम्झिँदा एलिसा अझै पनि विश्वास गर्न सक्दिनन्। चञ्चलालाई घरेलु मैदानमा हराए पनि एसियाडमा आफूलाई अब्बल साबित गर्नु आफ्ना लागि चुनौती रहेको एलिसा मान्छिन्। 

गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा काता र कुमुतेमा स्पर्धा गरेकी एलिसाले दुवै विधामा कास्य पदक जितेकी थिइन्। 
सातदोबाटोस्थित कराते हलमा एसियाडको प्रशिक्षणमा व्यस्त एलिसाले पहिलाको भन्दा अहिले आफूमा थुप्रै परिवर्तन आएको अनुभव गरेकी छन्। पहिलोपटक एसियाड खेल्न लागेकी एलिसा त्यो खुसी शब्दमा व्यक्त गर्न सक्दिनन्। खेल जीवन सुरु गरेको छोटो समयमै एसियाडका लागि छनोट हुनु एलिसाको कडा परिश्रमको फल हो, तर अहिले नै एसियाडमा छनोट हुन्छु भन्ने उनले सोचेकी समेत थिइनन्। 

कोभिड–१९ को लकडाउनको समयमा कुखुराको खोरमा प्रशिक्षण गरिरहेकी एलिसा एसियाड छनोटलाई त्यसकै उपलब्धि ठान्छिन्।

एसियाडमा कुमुतेको महिलातर्फ ६८ केजीभन्दा माथि एरिका गुरुङ, ६१ केजीमुनिको तौल समूहमा निरुपमा डोङ तामाङ र ५० केजीमुनिको तौल समूहमा सविना श्रेष्ठ नेपालका तर्फबाट भिड्नेछन्। 

पुरुषतर्फ कुमुतेमा ८४ केजीमाथिको तौल समूहमा विप्लव महर्जन, ७५ केजीमुनिको तौल समूहमा मोहम्मद शेखु आलम र ६७ केजीमुनिको तौल समूहमा सन्तोष श्रेष्ठले स्पर्धा गर्दैछन्। 

यो टोलीमा विप्लव अनुभवी खेलाडी हुन्। मोहम्मदसँग पनि केही अनुभव छ। 

पहिलोपटक एसियाड खेल्न लागेका सन्तोष आफूहरूका लागि उत्साहभन्दा धेरै चुनौती रहेको बताउँछन्। एसियाडका लागि आफ्नो दिमागमा उत्साहलाईभन्दा चुनौतीलाई धेरै ठाउँ दिएको उनको भनाइ छ। नेपालमा छनोट हुनुभन्दा एसियाडमा उत्कृष्ट प्रर्दशन गर्न सकियो भने आगामी खेल जीवनका लागि सहज हुने बताए। 

एसियाडमा खेलाडी मात्र हैन, प्रशिक्षकहरूमा पनि दबाबको अनुभव सन्तोषले गरेका छन्। एसियाडमा आफ्नो उत्कृष्ट प्रर्दशन गर्ने योजनामा सन्तोष छन्। 

एसियाडमा करातेका खेलहरू आगामी असोज १८ देखि २१ गतेसम्म हुनेछ। करातेमा नेपालले अहिलेसम्म तीन कास्य पदक मात्र जितेको छ। 

सन् १९९४ मा जापानमा भएको १२औं एसियन गेम्समा सीता राईले करातेलाई पहिलो कास्य पदक दिलाएकी थिइन्। 

सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको १३औं एसियाडमा सम्बरबहादुर गोलेले कास्य पदक जितेका थिए। १३औं एसियाडपछि नेपाललाई सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७औं एसियन गेम्समा कातामा विमला तामाङले कास्य पदक दिलाएकी थिइन्। त्यसयता कराते पदकविहीन छ। 

यो पटक सबै नयाँ खेलाडीलाई साथमा लिएर मुख्य प्रशिक्षक कुशल श्रेष्ठले बिहान र साँझ प्रशिक्षण दिइरहेका छन्। एसियन गेम्समात्र हैन, साग खेल्ने टोलीका एकजना मात्र अनुभवी खेलाडी यो पटकको टोलीमा छन्।

एसियाडको रौनक देखेको र नदेखेका खेलाडीमा केही फरक पर्ने भए पनि आफूहरूले नयाँ चुनौतीलाई साथमा लिएर सकारात्मक ऊर्जा दिँदै  प्रशिक्षक श्रेष्ठले टोलीलाई अगाडि बढाइरहेका छन्। 

सन् १९९८ पछि कुमुतेतर्फ कराते पदकविहीन छ। त्यसैले यो पटकको एसियाड नयाँ इतिहास रच्ने मौकाका रुपमा प्रशिक्षक श्रेष्ठले लिएका छन्। 

खेलाडीले प्रशिक्षणमा राम्रो गरिरहेका कारण एसियाडमा पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। सागमा नेपाली टोली सम्हालेका कुशलले आफ्नो व्यक्तिगत जीवनमा पनि एसियाडलाई चुनौती र अवसर दुवै रूपमा लिएका छन्। 

अबको करिब १ महिनामा एसियाड सुरु हुनेछ। सबै कुरा मिलेको अवस्थामा सेप्टेम्बर सुरुआतदेखि कराते टोली वैदेशिक प्रशिक्षणमा जाने र केही अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारीमा छ। 

तस्बिर/भिडिओ : सरोज नेपाल

भदौ ११, २०८० सोमबार ८:५२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .