ad ad

खेल


साकार हुँदै भारत र पाकिस्तानसँग क्रिकेट खेल्ने नेपाली टोलीको सपना (भिडिओ)

रोहितको कप्तानीमा क्रिकेटका महारथी राष्ट्रसँग प्रतिस्पर्धा

लक्ष्मी जि.सी
भदौ ५ , काठमाडौँ

कुनै समय टेलिभिजन सेटमा भारत र पाकिस्तानबीचको क्रिकेट हेरेरै पक्ष र विपक्षमा विभाजित हुने नेपालीहरूले एउटा ठूलो सपना साकार पार्दैछन्। 

नेपाली क्रिकेट टोलीले अबको एक सातापछि विश्व क्रिकेटका महारथी राष्ट्र पाकिस्तान र भारतसँग एसिया कप २०२३ खेल्दैछ। भनिरहनु पर्दैन भारत र पाकिस्तानले अहिले पनि विश्व क्रिकेटमा आफ्नो दबदबा बनाइरहेका छन्। 

पाकिस्तान ओडीआई वरियताको दोस्रो स्थानमा रहँदा भारत तेस्रोमा छ। हो यीनै मुलुकसँग एसिया कपका कान्छा कप्तान रोहित पौडेलको कप्तानीमा रहेको नेपालले आफ्नो उत्कृष्ट लय कायम राख्ने लक्ष्य लिएको छ। 

मोन्टी देसाइले प्रशिक्षण सम्हालेपछि उच्च लयमा रहेको नेपाली टोली एसिया कपमा पनि त्यही लयलाई निरन्तरता दिने रणनितिमा रहेको टोलीका कप्तान रोहित पौडेलले बताए। नेपाली टोलीले पाएको यो सफलताको श्रेय कप्तान रोहित टोलीका सिनियर खेलाडीलाई दिन्छन्।

टोलीका सिनियर खेलाडीको योगदानको कारण नै नेपालले यो सपना पूरा गर्न सम्भव भएको उनी मान्छन्। 

एसिया कपका लागि नेपाली टोली मंगलबार राति पाकिस्तान जाँदैछ। नेपाली टोलीसँग लेग स्पिनर सन्दीप लामिछाने भने जाने छैनन्। स्वास्थ्यमा समस्या आएपछि सन्दीप टोलीसँग पाकिस्तान नजाने भएका हुन्।

सन्दीप केही दिनपछि पाकिस्तान जाने सम्भावना छ। सन्दीप एसिया कपको प्रशिक्षणमा पनि सन्दीप टोलीसँग उपस्थित थिएनन्। 

पाकिस्तानमा करिब एक साताको अभ्यासपछि टोलीले एसिया कपको यात्रा सुरु गर्नेछ। नेपाली इतिहासमा पहिलो पटक एसिया कप खेल्न लागेको टोलीका लागि यो अनुभव बटुल्ने अवसर रहेको टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाई सुनाउँछन्। 

नेपालले आगामी १३ गते बुधबार पाकिस्तानसँग उसकै घरेलु मैदानमा मुलतानमा खेल्नेछ। समूह चरणको दोस्रो खेलमा १८ गते सोमबार भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ। भारतका सबै खेल श्रीलंकामा हुनेछन्।

समुहको शीर्ष दुईमा पर्न सके नेपालले सुपर फोरमा खेल्न खेल्नेछ। 

एसिया कपका लागि १७ सदस्यीय टोलीमा स्थान बनाएका मौसम ढकालले सिनियर टोलीमा डेब्यु गर्न बाँकी छ। लामो समयदेखि टोलीसँगै रहेका मौसम भारत र पाकिस्तानसँग खेल्ने टोलीमा पर्दाको क्षणलाई पनि सपनासँग नै तुलना गर्छन्। 

गत वैशाखमा घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले २१ वर्षपछि एसिया कपमा स्थान बनाएको थियो।  

यसअघि सन् २००२ मा नेपालले एसिया कपमा स्थान बनाएपनि पनि भारत र पाकिस्तानबीच कार्गिल युद्धका कारण नेपाल खेल्न पाएको थिएन। 

यो पटक पनि भारत र पाकिस्तानको विवादकै कारण एसिया कप पाकिस्तान र श्रीलंकामा हुनेछ। एसिया कप नेपाली टोलीका लागि अनुभव बटुल्ने उत्कृष्ट क्षण हो।

यही क्षणमा अडिएर नेपाली टोलीले आगामी यात्राको सुरुवात गर्नेछ।

तस्बिर/भिडिओ : सरोज नेपाल

भदौ ५, २०८० मंगलबार २१:३५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .