खेल


एनभीए भलिबल : खेल नै छाडेर पत्रकारमाथि खनिए खेलाडी (भिडिओ)

एनभीए भलिबल : खेल नै छाडेर पत्रकारमाथि खनिए खेलाडी (भिडिओ)

सरोज नेपाल
असार ३०, २०८० शनिबार २२:३२, काठमाडौँ

शनिबार दिउँसो सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको फाइनल खेल चलिरहँदा दशरथ रंगशालास्थित कभर्डहलमा केहीबेर अवस्था तनावग्रस्त बन्न पुग्यो। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा पुरुषतर्फको खेल चलिरहँदा हेल्प नेपालका खेलाडी अमृत क्षेत्रीले प्रदर्शन गरेको व्यवहारका कारण केहीबेर अवस्था तनावग्रस्त बन्न पुगेको हो। 

पत्रकारहरू बस्ने ठाउँमा बसिरहेकी एक महिलाका कारण विवाद सिर्जना भएको थियो। विवाद भएपछि केहीबेर फाइनल खेल समेत रोकिन पुगेको थियो। 

विवाद बढ्दै गएपछि खेलकुद पत्रकार मञ्चका सदस्यहरू नै पुगेर साम्य पार्नुपरेको थियो। खेल सकिएपछिमात्र खेलाडी र पत्रकारबीच मेलमिलाप गराइएको थियो।

राखेपको कभर्डहलमा भएको विवाद यो मात्र पहिलो होइन। यसअघि गत असार २५ गते पनि दर्शकहरूमाथि नै त्रिभुवन आर्मी क्लबका खेलाडी आक्रमक बनेका थिए। विवादले उग्र रुप लिएपछि खेलाडी खेल नै छाडेर दर्शकलाई मुक्का समेत हानेका थिए। 

भएको के थियो?
शनिबार दिउँसो कभर्डहलभित्र फाइनल खेल जारी थियो। पत्रकारहरूका लागि बस्न छुट्याइएको ठाउँमा एक महिला र बच्चा बसिरहेकी थिइन्। 

उनीहरू हेल्प नेपालका खेलाडी अमृत क्षेत्रीको पारिवारिक सदस्य रहेछन्। पत्रकारहरूले आफूहरु उभिएर तस्बिर कैद गर्न बाध्य भएको भन्दै उनीहरूलाई ठाउँ खाली गराएर दर्शक दिर्घामा बस्न अनुरोध गरे। 

कभर्डहलमा तस्बिर कैद गर्न पुगेकाहरूले पटक पटक त्यहाँ नबस्न अनुरोध गर्दापनि नमानेपछि फोटोपत्रकार विशाल पन्त त्यहाँ पुगे। 

आफूहरू असजिलो भएको र त्यहाँ नबस्न शालिन ढंगबाट आफूले अनुरोध गरेको उनी बताउँछन्। उनले ती महिलालाई सम्झाइरहँदा कोर्टमा खेलिरहेका हेल्प नेपालका खेलाडी क्षेत्रीले भने आफ्नो संयमता गुमाए। 

उनी चलिरहेको खेल नै छाडेर विवाद निम्त्याउँदै पत्रकारहरूसँग विवाद गर्न लागे। खेल चलिरहँदा र अन्तिममा पनि पत्रकारमाथि आक्रमक बन्न पुगेका थिए।

विवादले उग्र रुप लिन थालेपछि खेलकुद पत्रकार मञ्च र राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरूले प्रहरीको सहायतमा क्षेत्री र पन्तबीचको विवाद साम्य गरिएको थियो।

हेर्नुस् भिडिओः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .