ad ad

खेल


दर्शकदिर्घामा प्रतिभा, कोर्टबाहिरै बसेर बढाउँदैछिन् हौसला (भिडिओ)


लक्ष्मी जि.सी
जेठ ९ , काठमाडौँ

पछिल्लो आठ वर्षमा नेपाली राष्ट्रिय महिला टोलीले अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा भाग लिँदा सबै भन्दा धेरै चर्चा हुने नाम हो, प्रतिभा माली। उच्च प्रदर्शनका कारण नेपाली टोलीको हरेक सफलतामा उनको चर्चा स्वभाविक हुन्थ्यो।

त्यसो त उनका कारण न्यू डायमण्ड स्पोर्टस क्लबले अधिकांश घरेलु प्रतियोगितामा सफलता प्राप्त गर्दै आएको छ।

तर घरेलु मैदानमा सोमबार सुरू काभा महिला भलिबल च्यालेन्ज कपको आफ्नो पहिलो खेलमा नेपालले कीर्गिस्तानमाथि सोझो सेटमा जित निकाल्यो। यो पटक उनी खेलाडीको रुपमा हैन दर्शकको रुपमा कोर्टमा पुगेकी थिईन्।

टिकट काटेर नै टोलीको हौसला बढाउन कोर्ट पुगेकी प्रतिभा आफ्नो टोली कोर्टमा हुँदा होस् वा खेल सकिएपछि टोलीको हौसला बढाइरहिन्। आफ्नै ठाउँमा यति ठूलो प्रतियोगिता हुँदा आफू दर्शक दिर्घामा बस्नुपर्दाको पीडा उनको अनुहारमा भने प्रष्ट देखिन्थ्यो। 

प्रशिक्षणका क्रममा केही साताअघि घुँडामा फेरि चोट लागेपछि उनको शल्यक्रिया गराउनु परेको थियो। तीन वर्षअघि पनि उनको बायाँ घुँडामा गम्भिर चोट लागेका कारण ९ महिना कोर्ट बाहिर हुनुपरेको थियो। 

यसपटक चोटका कारण उनले स्वदेशमा अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता गुमाउनु परेको हो। शल्यक्रिया र फिजियोपछि अहिले उनी फिजिकल फिटेसनको सेसन लिइरहेकी छन्। सन् २०१६ देखि टोलीकी मुख्य खेलाडी प्रतिभा टोलीमा नहुँदा त्यसको प्रभाव नेपाली टोलीमा प्रष्ट देखिएको थियो। 

घरेलु प्रतियोगितामा न्यू डायमण्ड स्पोर्टस् एकेडेमीबाट खेल्दै आएकी प्रतिभाले २०७२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन्। त्यसयता लगातार नेपालको प्रतिनिधित्व गर्दै आएकी प्रतिभाले एभिसि एशियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा लगातार दुई पटक स्वर्ण पदक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। 

पहिलो खेलमा कीर्गिस्तानमाथि सहज जित निकालेपनि अन्य खेलमा प्रतिभा बाहिर हुँदा टोलीमाथि पनि केहि दबाब पर्ने देखिन्छ।

कीर्गिस्ताननसँगको खेलपछि प्रतिभाले भनिन्, ‘सधै कोर्टमा खेलिरहने मान्छे दर्शक दिर्घामा बस्दा गाह्रो हुने रहेछ। तर आजको खेलमा नेपाली टिमले राम्रो प्रर्दशन गर्यो। खुसी लागेको छ। डेब्यु गरेका नयाँ खेलाडीले पनि राम्रो प्रर्दशन गरे। खुसी लागेको छ।’

टोलीकी ओपनर स्पाइकर प्रतिभा यो पटक कोर्टमा हैन दर्शक दिर्घामा नेपालको झण्डा लिएर टोलीको हौसला बढाउँदै थिइन्। सेन्ट्रल जोनमा र्दुइ पटक स्वर्ण पदक जित्दा होस् वा तीन वर्षअघि स्वदेशमै भएको १३ औं दक्षिण एशियाली खेलकुद सागमा रजत पदक जित्दा प्रतिभा टोलीकी मुख्य खेलाडी थिइन्। 

यसअघिका अधिकांश सफलतामा प्रतिभाको भूमिकालाई धेरैले सराहाना गर्ने गरेका छन्। आइतबार कभर्ड हलमा नेपालले कीर्गिस्तानसँग पहिलो खेल खेल्दा प्रतिभा, त्रिभुवन आर्मी क्लबकी कप्तान कृपा अधिकारी, आमा र साथीहरुको साथमा दर्शक दिर्घामा थिइन्।

नेपालको प्रर्दशनसँगै उनको अनुहारमा खुसी र दुखको भाव प्रष्ट देखिन्थ्यो। यो पटक काभा च्यालेन्ज कपमा टोली बाहिर रहेपनि प्रतिभाको अबको लक्ष्य भने १९औं एशियाली खेलकुद हो। उनले थपिन्, ‘ अहिले फिजिकल फिटनेसा ध्यान दिइरहेको छु। अब राम्रो मेहनत गरेर एशियन गेम्स्को लागि तयारी गर्ने हो।’

युवा खेलाडीको बाहुल्यता रहेको नेपाली टोलीले यो पटक दक्षिण एशियाको बलियो टोली भारतसँग समुह चरणमा नै खेल्नेछ। नेपालले पहिलो खेलमा सोमबार कीर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरूवात गरेको छ। 

च्यालेन्ज कपमा नेपालले मंगलबार बंगलादेशसँग खेल्नेछ। नेपालले बंगलादेशलाई पराजित गरे नेपालले सेमिफाइनल प्रवेशको सम्भावना सजिलो बनाउनेछ। समूह ए मा रहेको नेपालले अन्तिम खेलमा जेठ १० गते भारतसँग खेल्नेछ। 

समूहगत खेलमा टोली एउटै खेलाडीमा निर्भर त हुँदैन। तर पनि प्रतिभाले पछिल्ला वर्षहरुमा जस्तो खाले प्रदर्शन गरिरहेकी छिन्, त्यसले गर्दा टोलीका अन्य खेलाडी र भलिबल प्रेमीले भने उनको अभाव महसुस गरेका छन्।

जेठ ९, २०८० मंगलबार ८:३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .