ad ad

खेल


१२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने सरकारको तयारी, विज्ञ भन्छन्- चुनौतीपूर्ण

१२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने सरकारको तयारी, विज्ञ भन्छन्- चुनौतीपूर्ण

समृद्धा केसी
जेठ ७, २०८० आइतबार २१:४६, काठमाडौँ

शुक्रबार सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा सामुदायिक अस्पतालको बहिरङ्ग (ओपीडी)  सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म अनिवार्य सञ्चालन गर्ने बताएको छ। 

सामुदायिक अस्पतालमा एक चिकित्सक एक अस्पतालको व्यवस्था सुनिश्चितका साथै बहिरङ्ग सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म अनिवार्य व्यवस्था मिलाइने राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ। 

‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ यसअघि पनि नीति तथा कार्यक्रममा समावेश गरिएको थियो, जुन कार्यान्वयन हुन सकेन। 
यसपटक भने पालिकास्तरका सामुदायिक अस्पतालको बहिरङ्ग सेवा १२ घण्टा सञ्चालन गर्ने सरकारको नीति रहेको छ,' नीति तथा कार्यक्रममा भनिएको छ।

गत फागुन १ गतेदेखि यस्तो कार्यक्रम काठमाडौं उपत्यकाका तीन ठूला संघीय सरकारी अस्पताल वीर, परोपकार प्रसूति तथा स्त्रीरोग र कान्ति बाल अस्पतालमा सञ्चालन गर्ने घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको थियो। तर त्यो प्रभावकारी बनेन।

उक्त कार्यक्रम सफल हुन नसकेका बेला सरकारले ओ‌पीडी १२ घण्टा सञ्चालन गर्ने तयारी गरेको छ। तर त्यो चुनौतीपूर्ण भएको चिकित्सकहरू बताउँछन्।

विशेष कार्यविधि नबनाई बिहान ८ देखि बेलुका ८ बजेसम्म ओपीडी समय सञ्चालन गर्न नसकिने स्वास्थ्य मन्त्रालयका नीति योजना महाशाखाका प्रमुख डा.कृष्ण पौडेल बताउँछन्। 

एक चिकित्सक एक स्वास्थ्यकर्मी, पेइङ क्लिनिक चलाउने वा विस्तारित सेवा चलाउने भनेर अहिले पनि सरकारी कार्यविधि छ। तर यसमा धेरै चुनौती रहेकाले प्रभावकारी बन्न नसकेको उनले बताए। जनशक्ति अभावका कारण त्यसलाई प्रभावकारी बनाउन नसकिएको उनको भनाइ छ।

डा. पौडेल भन्छन्, ‘एउटा मात्र चिकित्सक भएको ठाउँमा पनि गाह्रो छ। उसलाई पनि रेस्ट चाहिएला। एक्लै ओपीडी चलाउँन सकिँदैन।’

विशेष नयाँ कार्यविधि ल्याएर,  प्रोत्साहान भत्ता, थप जनशक्ति र उत्प्रेरणा दिने खालका कुराहरु राखिए मात्रै उक्त कार्यक्रम सम्भव हुने उनले बताए।

धेरै अस्पतालहरूले बिहान‍ नौ बजेदेखि दिउँसो २ बजेसम्म आपीडी सेवा व्यवस्थित रूपमा चलाउन गाह्रो भएको बताइरहेको अहिलेको बेला यही जनशक्ति र अन्य विशेष सेवाबिना सामुदायिक अस्पतालमा पनि  १२ घण्टा ओपीडी सञ्चालन हुन नसक्ने तर्क डा. पौडेलको छ।

‘१२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने कार्यविधि पूरै असम्भव पनि होइन तर त्यतिकै सञ्चालन गर्न सकिँदैन। यसका लागि धेरै वर्कआउट गर्नुपर्छ’ उनले भने। 

अहिलेकै जनशक्तिको प्रयोगबाट १२ घण्टा ओपीडी चलाए बिरामीले गुणस्तरीय सेवा नपाउने र जोखिम पनि हुने जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउँछन्।

एउटा व्यक्तिले दैनिक १२ घण्टा काम गर्न नसक्ने र गराउन पनि नहुने उनी बताउँछन्।

‘एउटा स्वास्थ्यकर्मीलाई दिनमा ६ घण्टाभन्दा बढी काम लागाउन मिल्दैन, त्यसैले दुई सिफ्ट गरेर १२ घण्टाको ओपीडी सेवा सञ्चालन गर्नुपर्छ,' उनले भने, 'अहिले भइरहेको जनशक्तिले एउटा सिफ्ट काम गर्छ। अब नयाँ जनशक्ति थपेर अर्को सिफ्ट सञ्चालन गर्नुपर्छ। बजारमा जनशक्तिको अभाव छैन।' यसका लागि बजेट पनि बढाउनुपर्ने र चिकित्सकबाहेक ल्याब, सिटिस्क्यान तथा प्रयोगशालाका मान्छेहरू पनि राख्नुपर्ने उनले बताए। उनले भने, 'यतिका अस्पतालमा सबै जनशक्ति बढाउन अर्थ मन्त्रालयले मान्छ कि मान्दैन? यो अलि अप्ठेरै निर्णय होला।’ 

सरकारले ओपीडी समय बढाउने जसरी सहज रूपमा लिएको छ उत्तिकै चुनौतीपूर्ण र चौतर्फी रूपमा सोच्नुपर्ने उनले बताए।

नेपालका ठूला सरकारी अस्पतालहरुमा दैनिक ओपीडीमा  सेवा लिने बिरामीलाई गुणस्तर सेवा दिन सरकार लाग्नुपर्ने सुझाव डा मरासिनीले दिए।

यी ठूला अस्पतालमा दैनिक ओपीडी संख्या 
डा. मरासिनीका अनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडीमा दैनिक ३२ सय बिरामीले सेवा लिइरहेका छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडीमा दैनिक दुई हजारका हाराहारीमा बिरामी आउने गरेको अस्पतालका निर्देशक डा. रवि शाक्यले बताए। प्रतिष्ठानले दैनिक दुई सिफ्ट गरेर ओपीडी सञ्चालन गरिरहेको छ। बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म जनरल ओपीडी छ। चारदेखि ८ बजेसम्म विशेष  ओपीडी दिइरहेको डा. शाक्यले बताए। विश्ष ओपीडीमा भने शुल्क केही बढी छ।

डा शाक्यले सरकारले ल्याउन लागेको १२ घण्टा ओपीडी सेवा सञ्चालन असम्भव नभएको तर सम्भव बनाउन धेरै मेहनत गर्नु पर्ने बताए। 

‘अहिलेकै जनशक्ति र संचरनामा बिहान ८ देखि बेलुका ८ बजेसम्म ओपीडी सञ्चालन हुने सजिलो छैन,’ डा शाक्यले भने, ‘तर गर्नै नसकिने भन्ने होइन। हामीले गरेको जस्तै एक्स्ट्रा ओपीडी सेवा दिएको पैसा डाक्टरहरुले नै लग्ने बनाउन सकिन्छ।’

यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा दैनिक ओपीडीमा १७ सय देखि २५ सयसम्म बिरामी आउने गरेको अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले जानकारी दिए।  १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने कुरा व्यावहारिक नभएको तर्क उनको छ।

‘१२ घण्टा ओपीडी चलाउने हो भने दरबन्दी खोइ’, डा काफ्लले भने, ‘यसरी  नै त सामुदायिक अस्पतालको ओपीडी समय पनि बढ्न सक्दैन।’

यस्तै वीर अस्पतालको ओपीडीमा दैनिक दुईदेखि तीन हजार बिरामी पुग्ने गर्छन्। सरकारले सञ्चालन गर्न लागेको १२ घण्टाको ओपीडी सेवा स्वागतयोग्य रहेको वीरका निर्देशक डा. सन्तोष पौडेलले बताए। 

बिहान ८ देखि बेलुका ८ बजेसम्म ओपीडी सेवा दुई सिफ्ट गरेर चलाउन सम्भव सम्भव भएको उनको भनाइ छ। तर विस्तारित सेवालाई ऐच्छिक बनाएर नर्सिङ र सहयोगी थप्नुपर्ने उनले बताए।

'अस्पतालको बढ्दो भीडलाई कम गर्ने यो महत्त्वपूर्ण उपाय हो, यो सम्भव छ,’ उनले भने। चुनौती केही भए पनि चाहने हो भने ओपीडीको समायवधि बढाउन सकिने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .