खेल


मेस्सीका लागि पैसाको खोलो बगाउन तयार अल हिलाल

फेरि रोनाल्डोसँगै हुन सक्छ प्रतिस्पर्धा
मेस्सीका लागि पैसाको खोलो बगाउन तयार अल हिलाल

साउदी अरेबियामा बिदा मनाउने क्रममा परिवारसहित मेस्सी। तस्बिर : एएफपी


नेपालखबर
बैशाख २१, २०८० बिहिबार १३:३८, काठमाडौँ

अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनेल मेस्सी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बीचको सम्बन्ध करिब सकिएको चर्चा अन्तर्राष्ट्रिय खेलबृत्तमा चलिरहेको छ।

यस्तोमा क्लबको अनुमति नलिई मेस्सी साउदी अरेबिया पुगेपछि पीएसजीको पेरिसस्थित कार्यालयमा उनीविरुद्ध नाराबाजी भएको छ। 

मेस्सीसँगै उनका प्रिय साथी नेयमारविरुद्ध पनि पीएसजीका समर्थकले नाराबाजी गर्दै क्लब छाडेर जान भनेका छन्। 

साउदी अरेबियाका पर्यटन दूतसमेत रहेका विश्व विजेता मेस्सी अहिले पनि त्यहीँ परिवारसँग रमाइरहेका छन्। उनका केही तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। 

उता पेरिसमा भने मेस्सीविरुद्ध नाराबाजी चलिरहेको छ भने क्लबले पनि अब नयाँ सम्झौता प्रस्ताव नगर्न मुड बनाइसकेको चर्चित खेल पत्रकार फाबिरिजो रोमानोले उल्लेख गरेका छन्। 

कतारमा विश्वकप जितेका मेस्सीले पीएसजीसँग नयाँ सम्झौता गर्न नसक्ने संकेत उनका पिता जोर्गेले एक महिनाअघि नै गरिसकेका थिए। यसलाई लिएर जोर्जेले पीएसजी व्यवस्थापनसँग वार्ता पनि गरेका थिए। 

नयाँ सम्झौता नहुने चर्चाबीच क्लबको अनुमतिबिना नै मेस्सी साउदी अरेबिया पुगेपछि यो सिजनसँगै उनले पीएसजी छाड्ने निश्चित जस्तै छ।

च्याम्पियन्स लिगको उपाधि जित्न खेलाडीमा ठूलो लगानी गरिरहेको पीएसजीले उनलाई अझै एक सिजन राख्न चाहेको थियो। तर मेस्सीले क्लबको नियम तोड्दै साउदी अरेबिया गएपछि अब उनीसँग पीएसजीको सम्बन्ध करिब सकिएको छ।

साउदी पुगेलगत्तै पीएसजीले उनलाई दुई साताका लागि निलम्बन गरिसकेको छ। यो निलम्बनका कारण मेस्सीले पीएसजीबाट प्रशिक्षण र खेल्न पाउने छैनन्। उनको  तलबसमेत क्लबले रोक्का गरिदिएको छ।

पत्नीसँग साउदी अरेबियामा मेस्सी

अबको गन्तब्य कता? 
बाल्यकालदेखि नै खेल्दै आएको स्पेनिस क्लब बार्सिलोना आर्थिक संकटमा परेपछि दुई वर्षअघि रुँदै बाहिरिएका मेस्सीको अबको गन्तव्यलाई लिएर चर्चा सुरु भएको छ।

लियोले क्लब छाड्न सक्ने संकेत उनका बुवा जोर्गेले एक महिनाअघि नै गरिसकेका थिए। उनले उक्त कुराबारे पीएसजीसँग पनि छलफल गरेका थिए। 

मेस्सीले पीएसजी छाड्ने करिब पक्का भएपछि उनलाई फेरि भित्र्याउने पहल बार्सिलोनाले थालेको छ। उनका साथीसमेत रहेका बार्साका प्रशिक्षक जाभीले मेस्सीलाई फेरि स्पेन ल्याउन सबै उपाय निकाल्ने मुड बनाएका छन्। 

तर बार्सिलोनालाई मेस्सी भित्र्याउँदा गर्नुपर्ने आर्थिक व्यवस्थापन ठूलो चुनौती बनेको छ। यदि बार्साले मेस्सीलाई फेरि फेरि ल्याउने हो भने ठूलो धनराशी जुटाउनुपर्ने हुन्छ। त्यसका लागि उसले अहिलेका झन्डै आधा दर्जन खेलाडी बेचेर रकम जुटाउनु पर्ने दबाब छ। 

उसै पनि बार्सिलोना मेस्सीले छाडेदेखि नै आर्थिक संकटसँग जुधिरहेको छ। आर्थिक संकट टार्न उसले हरसम्भव उपाय अपनाइरहेको छ। त्यहीकारण मेस्सीलाई भित्र्याउने बार्साको प्रयासमा ला लिगा सकारात्मक भए पनि आर्थिक व्यवस्थापन उसका लागि चुनौती भएको छ।

मेस्सीका समकालीन प्रतिस्पर्धी रोनाल्डो पनि अहिले साउदी अरेबियामै छन्।

जान सक्छन् साउदी अरेबिया 
मेस्सीले पीएसजी छाड्ने भएपछि बार्सिलोना नगए अर्को सम्भावित गन्तव्य हो साउदी अरेबिया। अमेरिकाबारे पनि चर्चा भइरहेको छ तर मेस्सीको नयाँ यात्रा सम्भवत: साउदी अरेबिया हुन सक्छ।

खेल पत्रकार फाबिरिजो रोमानोका अनुसार यो सिजन साउदी प्रो लिगको चौथो स्थानमा रहेको हल हिलालले मेस्सीलाई भित्र्याउन कीर्तिमान रकम प्रस्ताव गरेको छ। 

नयाँ सिजनबाट मेस्सीलाई क्लबमा भित्र्याउने योजनासहित उसले प्रतिसिजन ४०० मिलियन युरोको प्रस्ताव गरेको  स्रोतलाई उल्लेख गर्दै पत्रकार रोमानोले जनाएका छन्। 

मेस्सीका लागि साउदी अरेबियन क्लब अल हिलालले गरेको रकम प्रतिसिजन ५७ अर्ब ७३ करोड ४३ लाख ३ हजार नेपाली रुपैयाँ हुन आउँछ। 

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पनि अहिले साउदी अरेबियामै छन्। उनी अहिले साउदी प्रो लिगमा दोस्रो स्थानको अल नासरबाट खेलिरहेका छन्।

रोनाल्डोलाई अल नासरले प्रतिसिजन १७३ मिलियन युरो अर्थात् नेपाली २८ अर्ब ३३ करोड २० लाख रुपैयाँ आसपास तिर्ने गरेको बताइन्छ। उता मेस्सीलाई अल हिलालले गरेको प्रस्ताव रोनाल्डोकोभन्दा ठ्याक्कै दोब्बर रकम हो। 

यदि अल हिलालको प्रस्ताव मेस्सीले स्वीकार गरेर नयाँ सिजनमा साउदी अरेबिया जाने भएमा उनी अहिलेसम्मकै सबैभन्दा धेरै तलब लिने फुटलबर हुनेछन्। यो सिजनमा यो कीर्तिमान रोनाल्डोको नाममा छ। त्यसपछि मेस्सी अनि किलियन एम्बाप्पे रहेका छन्। 

मेस्सीलाई अल हिलालमा ल्याउने गरी वार्ता अघि बढाउने अनुमति साउदी अरेबिया सरकारले दिइसकेको समाचार चर्चित अंग्रेजी पत्रिका टेलिग्राफले लेखेको छ। 

फ्रान्सको चर्चित खेल पत्रिका एल एक्विपेले मंगलबार प्रकाशित गरेको समाचार अनुसार पीएसजीका कतारी मालिकले निलम्बन गरेसँगै मेस्सी साउदी अरेबिया जाने सम्भावना झन् उच्च भएको छ। 

यससँगै पीएसजीमा मेस्सी तेस्रो सिजन पनि रहने सम्भावना अब सकिएको उक्त पत्रिकाले लेखेको छ। अनुमति नलिइ साउदी अरेबिया गएपछि पीएसजीका कतारी मालिक मेस्सीसँग रिसाएर सम्झौता नवीकरण वार्ता बन्द गर्न निर्देशन दिइसकेको बताइएको छ। 

साउदी अरेबियामा मेस्सी

सम्भावना?
मेस्सीका मुख्य समकालीन प्रतिस्पर्धी रोनाल्डो साउदी प्रो लिगमा छन्। उनले केही खेलमा राम्रो प्रदर्शन गरे पनि लिग उपाधि जिताउन अझै संघर्ष गर्नुपर्ने अवस्था छ।

रोनाल्डो आवद्ध अल नासर अहिले साउदी प्रो लिगमा अल इत्तिहादभन्दा ३ अंकले पछाडि छ। उता मेस्सी जाने भनिएको अल हिलाल ४९ अंकसहित लिगको चौथो स्थानमा छ। 

विश्वकपकै क्रममा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग सम्बन्ध बिग्रिएपछि युरोपेली क्लबले नलिँदा रोनाल्डो साउदी अरेबिया पुगेका थिए। त्यहीकारण अहिले उनले कीर्तिमानी तलब बुझिरहेका फोर्ब्स पत्रिकाले यसै साता उल्लेख गरेको छ। 

अघिल्लो महिना साउदी प्रो लिगको खेलका क्रममा अल हिलालका समर्थकले मेस्सीको नामले स्टेडियम गुञ्जाएका थिए। रोनाल्डो आवद्ध अल नासरलाई पराजित गरेसँगै मेस्सीको सर्ट लगाएका अल हिलालका समर्थकले रोनाल्डोकै अगाडि मेस्सीको नाम लिएर स्टेडियम गुञ्जाएका थिए। 

तर अल हिलाल व्यवस्थापन अहिलेसम्म यसबारे मौन छ। यद्यपि पीएसजीसँग सम्बन्ध तोडिने गरी मेस्सीले साउदी अरेबियाको यात्रा गरेपछि दुई पक्षबीच गोप्य सम्झौता भइसकेको अनुमान विश्व खेल जगतले गरिरहेको छ। 

उता कतार स्पोर्ट इन्भेस्टमेन्टको लगानी रहेको पीएसजीले पनि यसबारेमा औपचारिक प्रतिक्रिया दिएको छैन। केही वर्षअघिसम्म कतार र साउदी अरेबिया युद्धको अवस्थामा थिए। कतारले केही वर्ष चर्को नाकाबन्दी पनि झेलेको थियो।

मेस्सीको साउदी अरेबिया यात्रालाई लिएर त्यहाँका पर्यटनमन्त्री अहमेद अल खातिबले भने खुसी प्रकट गरेका छन्। 

'मेसी र उनको परिवारलाई साउदी अरेबियामा स्वागत गर्न पाउँदा म अति नै खुसी छु। उनको यो बिदाको दोस्रो यात्राले हामीलाई उत्साहित बनाएको छ', उनले ट्विटरमा भनेका छन्। 

अहिले मेस्सी पत्नी एन्टोनेल्ला तथा छोरा माटेओ र किरोसहित साउदी अरेबियामा रमाइरहेका छन्। उनलाई साउदी सरकारले त्यहाँका पुरातात्विक महत्वका स्थानमा पनि घुमाइरहेको छ। मेस्सीको स्वागत र आतिथ्यमा साउदी अरेबिया सरकाले कुनै कसर बाँकी राखेको छैन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .