खेल


अर्बपति हाकिमीसँग पत्नीले मागिन् आधा सम्पत्ति, अदालतले भन्यो : उनी गरिब छन्

अर्बपति हाकिमीसँग पत्नीले मागिन् आधा सम्पत्ति, अदालतले भन्यो : उनी गरिब छन्

नेपालखबर
बैशाख ३, २०८० आइतबार १३:२३, काठमाडौँ

पेरिस सेन्ट-जर्मेनबाट खेल्दै आएका मोरक्कोका डिफेन्डर अचरफ हकिमीमाथि लागेको बलात्कार आरोपपछि उनको संकट अझै टरेको छैन।

एकजना युवतीलाई बलात्कार आरोपपछि अब उनकी पत्नी हिबा अबौकले सम्बन्धविच्छेदका लागि निवेदन दिएकी छन्। 

उनले सम्बन्धविच्छेद माग गर्दै हकिमीबाट आधा सम्पत्ति पनि मागेकी छन्। तर उनको निवेदनपछि यो मामिला अदालतमा पुग्दा अचम्म लाग्ने घटना भएको छ। 

समाचार अनुसार मोरक्कोका सबैभन्दा धनी फुटबलरमा एक मानिने अचरफ हकिमीसँग अलिकति पनि सम्पत्ति छैन। 

सम्बन्धविच्छेदका लागि निवेदन दिँदै उनले हकिमीबाट आधा सम्पत्ति मागेकी थिइन्। तर हिबा अबौकलाई अदालतले उनका 'करोडपति' पतिसँग केही पनि नरहेको सूचना दियो। 

उनको सारा सम्पत्ति उनकी आमाको नाममा रहेको अदालतले खबर दियो। हकिमीलाई अहिले पनि मासिक रूपमा पीएसजीबाट १ मिलियन युरो तलब मिल्छ। 

आमासँग हकिमी

जुन तलबको ८० प्रतिशत उनकी आमा फातिमाको खातामा जम्मा हुन्छ। हकिमीको नाममा कुनै सम्पत्ति, कार, घर, गहना तथा कपडासमेत छैन। हकिमीलाई जे आवश्यक पर्छ उनी आमासँग अनुमति लिएर मात्रै खरिद गर्छन्। 

उनले आफ्नो ८० प्रतिशतभन्दा धेरै आम्दानी आमा फातिमाको बैंक खातामा जम्मा गरिदिएका छन्। यस्तोमा उनी आफूसँग केवल २० प्रतिशत मात्रै आम्दानी राख्छन्। 

हकिमीकी पत्नी हिबा अबौकले जब सम्बन्धविच्छेदका लागि निवेदन दिइन् तब उनलाई अचरफको करोडौँ सम्पत्तिको आधा भाग हात लाग्नेछ। 

तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्टलाई मान्ने हो भने सारा सम्पत्ति अचरफकी आमाको नाममा भएकाले  उनकी पत्नी हिबालाई केही पनि मिल्ने अवस्था नभएको हो। 

यसअघि अचरफ हकिमीकी पत्नी हिबा अबौकले उनका पतिलाई लगाइएको बलात्कार आरोपको खण्डन गरेकी थिइन्। 

तर त्यसबेला नै उनले हकिमीसँग सम्बन्धविच्छेद गर्ने संकेत गरेकी थिइन्। त्यसपछि उनले हकिमीसँग अलग्गिन अदालतमा निवेदन पनि दिइन्। हिबाले आफ्ना पतिविरुद्ध बलात्कार आरोप सार्वजनिक भएपछि इन्स्टाग्राममा एक पोस्ट पनि हालेकी थिइन्। 

'हकिमीमाथिको आरोप झुटो हो। उनी शान्त छन् आफैं अधिकारीहरुसासामु उपस्थित गराउँदैछन्। हामी दुवैले सहमतिमा अलग हुने निर्णय लिएका छौँ। यो लामो बाटोबाट अलग हुनुको पीडा झेल्न मुस्किल छ', उनले भनेकी थिइन्।

अचरफ हकिमीमाथि गत फेब्रुअरीमा फ्रान्सकी एक महिलाले बलात्कार आरोप लगाएकी थिइन्। महिलाले यो मामिलामा पुलिस पनि बोलाएकी थिइन्। 

यस आरोपको हकिमीले खण्डन गरेका थिए। हकिमीकी आमाले पनि आफ्नो छोरो निर्दोष रहेको भन्दै आरोपमा कुनै सत्यता नरहेको बताएकी थिइन्। 

पीएसजीका यी स्टारले पनि महिलाको दाबीको खण्डन गरेका थिए। तर उनले अहिलेसम्म यस मामिलामा औपचारिक रुपमा कुनै वक्तव्य जारी गरेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .