नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि सह–प्रयोजकको रुपमा होटल क्राउन प्लाजासंग प्रायोजन सम्झौता गरेको छ । नेपाली खेलक्षेत्रकै प्रतिष्ठित अवार्ड कार्यक्रमका लागि मञ्चले होटल क्राउन प्लाजासंग सह–प्रयोजकको रुपमा सम्झौता गरेको हो ।
खेलक्षेत्रबाट नेपालको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलकर्मी र खेल संस्थालाई सम्मान गर्ने अवार्ड कार्यक्रम असार १७ गते नेपाल प्रज्ञा भवन कमलादीमा आयोजना हुदैछ ।
सह–प्रायोजकको रुपमा क्राउन प्लाजासंगको प्रायोजन अवधि एक बर्षको रहनेछ । सम्झौता अनुसार क्राउन प्लाजाले अवार्ड कार्यक्रम र मञ्चका लागि आवास र भोजनको व्यवस्था गर्नेछ । सम्झौता पत्रका मञ्चका अध्यक्ष देबेन्द्र सुबेदी र क्राउन प्लाजाका प्रबन्ध निर्देशक युवराज श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
सम्झौतापछि क्राउन प्लाजाको प्रबन्ध निर्देशक श्रेष्ठले अनौपचारिक रुपमा मञ्च र अवार्डसंग काम गर्दै आएको भएपनि औपचारिक रुपमा जोडिन पाउँदा खुसी लागेको बताए ।
मञ्चका अध्यक्ष सुबेदीले खेलकुद क्षेत्रसंग जोडिदै आएको क्राउन प्लाजा अवार्डसंग औपचारिक रुपमा जोडिनु सुखद पक्ष रहेको उल्लेख गरे ।
१६ औं संस्करणको अवार्ड कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । अवार्डका विभिन्न ५ विधाको मनोनयन समेत सार्वजनिक भइसकेको छ । उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई बजाजको एनएस १६० मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरू प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया