खेल


अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने भलिबल गुरुको धोको

अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने भलिबल गुरुको धोको

लक्ष्मी जि.सी
पुस २०, २०७६ आइतबार १०:३४,

गत महिना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला भलिबल टोलीले फाइनलसम्मको यात्रा तय गर्‍यो। फाइनलमा भारतसँग हारेर स्वर्ण जित्ने मौका गुमाए पनि खेलाडीले खुब प्रशंसा पाए। किनभने उनीहरुले अपेक्षाभन्दा धेरै राम्रो खेल पस्किएका थिए।

नेपाली टोलीले यति राम्रो प्रदर्शन गरिरहँदा केहीले यसको श्रेय न्यु डाइमन्ड क्लबका प्रशिक्षक कुमार राईलाई दिइरहेका थिए।

न्यु डायमन्ड क्लबलाई बिर्सेर नेपाली महिला भलिबलको चर्चा अपूरो हुन्छ। पछिल्ला वर्षहरुमा महिला भलिबलमा एपीएफको एकलौटीलाई चुनौती दिनसक्ने एउटा मात्र सामुदायिक क्लब यही नै बनेको छ। राष्ट्रिय महिला भलिबलमा दुई पटक च्याम्पियन बनिसकेको यो क्लबले सन् २०१६ मा फाइनलमा एपीएफलाई हराएर सनसनी मच्चाएको थियो। यद्यपि धेरैजसो फाइनल अझै पनि एपीएफले नै जितिरहेको छ।

राई न्यु डायमन्ड ऐकेडेमीका प्रिन्सिपल पनि हुन्। तर उनको परिचय अहिले भलिबल प्रशिक्षकका रुपमा बढी स्थापित भइसकेको छ।

नहोस् पनि किन, राईबाट प्रशिक्षित खेलाडीले एकपछि अर्को उपलब्धि हासिल गरिरहेका छन्। टोलीलाई फाइनलसम्म पुर्‍याउन ओपन स्पाइकर प्रतिभा माली र लिबेरो सलिना श्रेष्ठकाे योगदान महत्वपूर्ण थियो। उनीहरुलाई क्लबमा राईले नै प्रशिक्षण दिइरहेका छन्। त्यतिमात्र होइन, राष्ट्रिय टोलीकी रेश्मा भण्डारी, कृपा अधिकारी र कुनै बेला घरेलु भलिबलमा तहल्का मच्चाएकी रमिला ताण्डुकार पनि राईले नै निखारेका प्रतिभा हुन्। रेश्मा अहिले एपीएफ र कृपा आर्मीबाट खेल्छन्।

भलिबललाई महत्व दिने काठमाडौंका थोरै स्कुलमा पर्छ न्यु डायमन्ड एकेडेमी। यसले नेपाली भलिबल खेलाडी तयार पार्नमा महत्वपूर्ण भूमिका खेलेको छ। र, त्यहाँबाट उत्पादन भएका खेलाडीले उच्च प्रदर्शन गर्दै जाँदा एकेडेमीको परिचय पनि बदलिएको छ।

२०६९ मा नेपाल भलिबल संघले आयोजना गरेको क्लब च्याम्पियनसिपबाट न्यु डायमन्डले घरेलु भलिबल प्रतियोगिताको यात्रा सुरु गरेको थियो। अहिले देशका कुनै पनि ठाँउमा महिला भलिबल प्रतियोगिता हुँदा विभागीय टोलीसँगै न्यु डायमन्डले पनि अनिवार्य निम्ता पाउने गर्छ।

भलिबलमा न्यु डायमन्डले जुन सफलता हासिल गरिरहेको छ, त्यसका लागि राईले जीवनको एउटा ठूलो हिस्सा खर्चेका छन्।

संखुवासभाबाट सहर पसेको रहर
संखुवासभामा जन्मेका राई तीन दशकअघि उच्चशिक्षा अध्ययनका लागि काठमाडौं छिरेका थिए। भलिबलप्रतिको उनको लगाव सानैदेखि थियो। गाउँका बच्चाले भलिबल पाउने कुरै थिएन। त्यसैले पुराना कपडालाई डल्लो पारेर उनीहरु खेल्थे।

‘कपडा पोको पार्ने वा कागज पोको पारेर डोरी टाँगेर खेल्दा मलाई कसैले जित्न सक्दैनथ्यो,’ राई सुनाउँछन्, ‘कक्षा ६ मा पढ्दादेखि नै मैले भलिबल खेल्न सुरु गरेको थिएँ। अलि पछि ब्रिटिस लाउरेहरुले सेतो मिकासा बल ल्याउँथे। मेरो मिल्ने एकजना साथीको दाइ प्रेमकुमार श्रेष्ठले मलाई बल दिनुभयो। त्यो बललाई म आफूलाई भन्दा धेरै माया गर्थेँ। गोरु जोतिसकेपछि वा खेतबारीको काम सकेपछि म खेल्न थाल्थेँ। साथीहरु नभए एक्लै पनि खेलिन्थ्यो।’

भलिबल खेल्ने उनको इच्छामा बाधक बन्यो उनको उचाइ। क्षेत्रीय टोलीमा छनोट हुन सकेनन् उनी। ‘भलिबल तेरालागि होइन केटा, अब खेल्न छाड्’ भनेर बुबाले पनि सल्लाह दिनुभयो,’ राईले सुनाए।
तर, राई सुन्नेवाला थिएनन्। खेलेर नाम कमाइन्छ, ट्रफी जितिन्छ भनेर उनले भलिबल रोजेका होइनन्। ‘आफ्नो रहर पूरा गर्न खेल्न थालेको हो। घरको सबै काम सकेर बल छुन पाउँदा पनि आनन्द लाग्थ्यो,’ उनले भने।

kumar_rai8.jpg

२०४५ सालमा अध्ययनका लागि काठमाडौ आए। एकाध वर्ष विद्यार्थी राजनीतिमा हल्लिए। त्यसपछि ब्राइट फ्युचर स्कुलमा पढाउन थाले। त्यहाँ पुगेपछि उनले पुनः भलिबल समाते। भलिबल खेल्न पहिले शिक्षकहरु अघि सरे, विस्तारै विद्यार्थी। अभिभावकसँगको सल्लाहपछि उनी विद्यार्थीलाई प्रशिक्षण गर्न थाले। ब्राइट फ्युचरमा केटा र केटीको राम्रो टोली उनले तयार पारे। तर, २०६१ को साउनमा आयोजना भएको भलिबल प्रतियोगितामा भएको खर्चबारे प्रशासनसँग विवाद भएपछि राईले सो स्कुल नै छोडे।

ब्राइट फ्युचरका विद्यार्थी र अभिभावकले उनलाई विद्यालयमा फर्कन आग्रह गरिरहन्थे। ‘त्यहाँ छाडेपछि हङकङ जाने अवसर पनि आएको थियो,’ राईले भने, ‘देश छाडेर गएपछि पैसा कमाएर घर त बनाइएला, अरु के नै हुन्छ भन्ने लाग्यो, गइनँ।’

भलिबलप्रतिको आफ्नो लगावका कारण व्यक्तिगत जीवनबारे समेत खासै नसोचेको उनको भनाइ छ।

विद्यालय छाडेपछि दुबई जाने सोच बनाए। त्यसको तयारीमा ड्राइभिङ पनि सिके। तर, देश छोड्न उनको मनले मानेन।

महिला भलिबलमा फड्को
ब्राइट फ्युचरबाट अलग भएका शिक्षकहरुले अर्को विद्यालय सुरु गर्दै थिए। उनलाई प्रिन्सिपलका रुपमा आबद्ध हुने प्रस्ताव आयो। ब्राइट फ्युचर छाडेको दुई महिनापछि नै उनी न्यु डायमन्ड एकेडेमीमा आबद्ध भए।

२०ं६२ मा न्यु डायमन्डले केटाहरुलाई भलिबल प्रशिक्षण दिन थाल्यो। विद्यालयस्तरका प्रतियोगिता खेल्न जाँदा एउटा सेटमा २/३ भन्दा बढी स्कोर गर्न नसक्ने अवस्था थियो। केटाहरुको भलिबलको भविष्य नदेखेपछि राईले निर्णय गरे, अब केटीहरुलाई प्रशिक्षण दिने। २०६४ को जेठ ५ गतेबाट महिला भलिबल प्रशिक्षण सुरु भयो।

‘बच्चाहरुलाई मनाउन साह्रै मुस्किल भयो। ठूलाहरु मै हुँ भनेर खेल्न नमान्ने,’ उनले सुनाए, ‘ प्रतिभा र उनका साथीहरुलाई फकाएर भलिबल खेलाउन थाल्यौँ।’

केटीहरुलाई भलिबल खेलाउन राईले निकै संघर्ष गर्नुपर्‍यो। अभिभावसँग मनमुटाव पनि भयो। ‘पढाउन केटाकेटी स्कुल पठाएको, खेल्न होइन भन्दै उनीहरुले बच्चा स्कुलबाट निकाले,’ राई भन्छन्, ‘भलिबल खेलाएर कसैले ज्यान पालेको देख्नुभएको छ? त्यहाँ गएर केही हुन्न भन्ने गरिन्थ्यो। तर, हामीले हिम्मत हरेनौं।’

तर, अहिले अवस्था बदलिएको छ। राई भन्छन्, ‘भलिबलकै लागि हाम्रोमा बच्चा पठाउनेसम्मको परिस्थित बनेको छ। यो देख्दा खुसी लाग्छ।’

भलिबलमा राम्रो गरिरहेकी कृपाले स्कुल टप गरेपछि वातावरण फेरिएको उनको भनाइ छ। ‘खेलाउने मात्र हैन पढाउने पनि रहेछ भन्ने अविभावकमा सन्देश गयो। त्यसपछि हामीलाई हेर्ने दृष्टिकोण बदलियो,’ उनले सुनाए।

पढाइमा कमजोरले मात्र खेल्छन् भन्ने आम बुझाइ देख्दा राई चित्त साह्रै दुख्छ। खेलाडीलाई हेपेजस्तो लाग्छ। ‘भलिबल दिमाग नहुनेले खेल्छ भन्नेहरु छन्। तर, राम्रो दिमाग नहुनेले भलिबल खेल्नै सक्दैन, उफ्रेर हावामा अडिएका बेला धेरै कुरा सोच्नुपर्छ र मात्र खेल जित्न सकिन्छ,’ राईको भनाइ छ।

देशका लागि खेलेपनि खेलाडीको भविष्य छैन भन्नेहरुलाई राई मुखभरीको जवाफ दिन्छन्। ‘खेलाडीले खेल्ने भनेको आफ्नो लागि हो, देशको लागि भन्नु बेकार छ, नाम आउने आफ्नो हो, पुरस्कार जित्ने आफूले हो अनि भन्ने बेलामा देशका लागि भन्छौँँ,’ उनी भन्छन्, ‘आफ्नो रहर पूरा गर्दा त्यसले देशलाई पनि फाइदा पुग्छ भने त्यो त सुनमा सुगन्ध भइहाल्यो।’

खेलाडी बन्ने रहर अधुरो रहेपछि प्रशिक्षणमार्फत सपना पूरा गरिरहेका ५२ वर्षे राई भलिबलमा अझै केही गर्न सकिन्छ भन्नेमा आशावादी छन्। अहिलेको कामलाई निरन्तरता दिन त उनी चाहन्छन् नै एक जना अलराउन्डर अन्तर्राष्ट्रिय खेलाडी तयार पारेर राष्ट्रिय टोलीमा पठाउने उनको धोको छ।

‘देशले नभुल्ने एउटा अन्तराष्ट्रियस्तरको खेलाडी तयार गर्ने सपना लिएर अघि बढेको छु,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad