ad ad

खेल


एक दिवसीय मान्यता गुमाउन लागेको नेपालले गरेको अविश्वसनीय सुधार

एक दिवसीय मान्यता गुमाउन लागेको नेपालले गरेको अविश्वसनीय सुधार

नेपालखबर
चैत २, २०७९ बिहिबार २१:४०, काठमाडौँ

आईसीसी लिग २ क्रिकेटको अन्तिम खेलपछि नेपालका कप्तान रोहित पौडेलले भने, ‘१२ खेल अघिसम्म हामी एक दिवसीय मान्यता जोगाउने चिन्तामा थियौँ। तर प्रशिक्षकमा मोन्टी सर आएपछि हामीमा विश्वास बढ्यो।’

हो पनि। एक महिना अघिसम्म आईसीसी विश्वकप क्रिकेटको छनोट खेल्ने सपना नेपालले सायदै देखेको थियो। जतिबेला नेपालको हारको श्रृंखला लामै बनिसकेको थियो। 

पछिल्ला ६ खेलदेखि जितविहीन रहेको नेपालले एक महिनाअघि प्रशिक्षकमा भारतका मोन्टी देसाइलाई नियुक्त गर्यो। जसले नेपालको लय मात्रै फेरेनन्, सपना नै बदलिदिए। 

एक दिवसीयको चिन्ता गरिरहेको नेपाली क्रिकेटलाई विश्वकपको बाटोमा ल्याइपु¥याए, त्यो पनि छोटो समयमा। मोन्टीले नेतृत्व गरेपछि नेपालले एक खेल मात्रै हार्यो। घरेलु मैदानमा दुई वटा त्रिदेशीय सिरिजमा क्लिन स्विप गर्यो। यूएईमा पनि चारमध्ये तीन खेल जित्यो। 

त्यसअघि २४ खेलमा ८ खेल मात्रै नेपालले जितेको थियो। एक खेल बराबरी र एक खेल निर्णयविहीन थियो। २४ खेल सकिँदा नेपालको खातामा जम्मा १८ अंक थियो। छैठौं स्थानमा रहेको नेपालभन्दा यूएई, अमेरिका र नामिबिया पनि अगाडि थिए। ओमान र स्कटल्यान्ड त विश्वकप छनोट नजिक पुगिसकेका थिए। 

देसाइले नेतृत्व लिनुअघि नेपाली टिमले नामिबिया भ्रमण गरेको थियो। त्यहाँ भएको त्रिदेशीय सिरिजका तीन वटै खेलमा नेपालले पराजय बेहोर्यो। एक खेलको नतिजा आएन। त्यसअघि स्कटल्यान्ड भ्रमण पनि सुखद रहेन। ४ मध्ये एक खेलमा मात्रै नेपालले जित हात पारेको थियो। लगातारको निराशाजनक नतिजाले नेपालले विश्वकप छनौट खेल्ने सपनै देख्न छाडिसकेको थियो। 

तर कीर्तिपुरमा फेब्रुअरी १४ मा मोन्टीको प्रवेश नेपाली क्रिकेटमा सुखद साबित भयो। नामिवियाविरुद्धको डेब्यु प्रशिक्षणमा नेपालले २ विकेटले जित हात पार्यो। त्यसको तीन दिनपछि स्कटल्यान्डलाई पनि ३ विकेटले पराजित गर्यो। त्यतिबेला नेपालले यी बलिया टोलीको अंक मात्रै खोसेको थिएन, आफूमा सुधार आएको सन्देश पनि दिइरहेको थियो। खासगरी नेपाली ब्याटिङमा मोन्टीको आगमनले सुधार देखाएको थियो। मोन्टी विशेषगरी ब्याटिङ प्रशिक्षक नै हुन्।

पछिल्ला खेलमा पनि नामिबिया र स्कटल्यान्ड समान ३ विकेटले नै पराजित भएका थिए। नेपालले पहिलो पटक २८६ रनको लक्ष्य पूरा गर्यो। नेपाली ब्याटरले एकपछि अर्को सुधार देखाउन थाले। 

लगत्तै यूएईको भ्रमण गरेको नेपालले त्यहाँ पहिलो खेलमा पपुवा न्युगिनीलाई पनि पराजित गर्यो। यसपछि भने नेपालले विश्वकप छनोटको सपना देख्न थाल्यो। तर दोस्रो खेलमा घरेलु टोली यूएईसँग ६८ रनले पराजित भयो। यो नतिजापछि भने नेपाललाई थप दबाब पर्यो। सिधै विश्वकप छनोट खेल्न बाँकी ६ खेल नै जित्नु पर्ने बाध्यता भयो। 

नेपालको टोलीमा सुधार देखिँदै जाँदा यूएईको टोलीले भने खराब नतिजा बेहोरिरहेको थियो। उसले घरेलु मैदानमा ३ मध्ये एक खेल मात्रै जित्यो। यूएईको यो नतिजाले पनि नेपाललाई राहत हुँदै गयो। दुबईमा तेस्रो खेलमा पपुवा न्युगिनीलाई ३ विकेटले पराजित गरेको नेपालले अन्तिम खेलमा युएईलाई पनि ४२ रनले पराजित गर्यो। यसपछि नेपालको साहस थप बढ्यो। 

घरेलु मैदानमा राम्रो प्रदर्शन गर्ने आशा पनि बढ्यो। मार्च ९ मा पीएनजीलाई ९ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा यूएईमाथि ऐतिहासिक जित हात पार्यो। घरेलु टोलीसँग यूएई १७७ रनको फराकिलो अन्तरमा पराजित भयो। यो पराजयले यूएईको भने एक दिवसीय मान्यतामै धक्का लाग्यो। 

नेपालले भने तेस्रो खेलमा पनि पीएनजीमाथि सानदार जित हात पार्यो। २५४ बल बाँकी छँदै पीएनजीमाथि ९ विकेटको जित हात पार्यो। अन्तिम खेलअघि नेपाल थप उत्साहित थियो। तर बिहीबार नेपालले टस हार्यो। यूएईले टस जितेर पहिले ब्याटिङ रोज्यो। यी दुईको पछिल्ला खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जित हात पारेको छ।

यूएईले पहिले ब्याटिङ गर्दै ३१० रनको कीर्तिमानी चुनौती पेस गर्यो। लिग २ का ३६ खेलमा नेपालले सामना गर्नु परेको यो नै उच्च स्कोर हो। जुन चुनौती पूरा गर्ने लक्ष्यसहित उत्रिएको नेपालले सुरुका २ ओभरमै २ विकेट गुमायो। ३७ रन बनाउँदा कप्तान रोहित आउट भए। त्यसपछि धरमराएको नेपाललाई चार ब्याटरले अर्धशतक प्रहार गर्दै जिततर्फ डोहो¥याएका हुन्। 

यसअघि जस्तो यसपटक लगातार विकेट पतन भएन भने निश्चित ब्याटरको भरमा नेपालको इनिङ पनि रहेन। यसअघि सर्वाधिक ३७ रन बनाएका गुल्सन झाले यही मौकामा आफूलाई प्रमाणित गरे। उनले एकदिवसीयमा पहिलो अर्धशतक प्रहार गर्दा ४२ औं ओभरमा बटुलेको २० रन नै नेपालको जितमा निर्णायक बन्यो। 

त्यसअघि ओपनर कुशल भुर्तेल, भीम सार्की र आरिफ शेखले पनि अर्धसतक पूरा गरे। एकै खेलमा ४ नेपाली ब्याटरले अर्धसतक बनाएको यो नै पहिलो हो। 

खेलपछि कप्तान रोहितले भने, ‘एउटा सपना आज पूरा भयो। यसको जस मोन्टी सरलाई जान्छ।’ 

टोली विश्वकप छनोटमा पुगेपछि प्रशिक्षक मोन्टीले पनि खुसी व्यक्त गरे। समर्थकको प्रशंसा गर्दै उनले भने, ‘हामी सिक्ने क्रममा छौँ, सिक्दै जान्छौँ, समर्थन गरिरहनुहोला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .