खेल


अब बाँकी सबै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यमा छौँ : रोहित पौडेल

प्रशिक्षक मोन्टी भन्छन् : प्रतिद्वन्द्वी बलिया छन्, कडा प्रतिस्पर्धा हुन्छ
अब बाँकी सबै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यमा छौँ : रोहित पौडेल

फाइल तस्बिर


नेपालखबर
फागुन २४, २०७९ बुधबार १९:१०, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा हुने श्रृंखलाका सबै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यमा रहेको बताएका छन्। 

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले बिहीवारबाट लिगको अन्तिम श्रृंखला खेल्दैछ। श्रृंखलामा भ्रमणकारी टोलीद्वय संयुक्त अरब इमिरेट्स (युएई), पपुवान्युगिनी (पिएनजी) र नेपालले सहभागिता जनाउँदै छन्। 

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा हुने श्रृंखलामा नेपालले सबै खेलमा सुखद् नतिजा निकाले विश्वकप छनोटको मौका पाउने भएकाले नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सबै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यका साथ खेल्ने बताएका हुन्। 

पछिल्लो पटक भ्रमण गरेका देशसँग पुनः घरेलु मैदानमा खेल्दा टोलीलाई दर्शकको साथ हुने र थप बलिङ र ब्याटिङ पक्ष सबै थाहा हुने भएकाले खेल्न सहज हुने बताए। 

उनले घरेलु मैदान भएकाले पनि नेपाली टोलीका लागि थप सहज हुने उहाँको तर्क थियो। शीर्ष तीनमा अटाउन गरिएको योजना अनुसार श्रृंखलाका खेलहरु भइरहेको र अन्तिम श्रृंखलामा पनि अपेक्षाअनुसारको नतिजा आउने कप्तान रोहितले बताए। 

कप्तान रोहितले युएई भ्रमणमा ब्याटिङ पक्षमा केही कठिन भएको तर कीर्तिपुर मैदानको अवस्थामा सबै खेलाडी अभ्यस्त भएकाले राम्रो खेल हुने विश्वास व्यक्त गरे। 

उनले कुशल भुर्तेल चोटमुक्त हुँदै खेलमा फर्किने समेत बताएका छन्। 

यस्तै प्रशिक्षक मोन्टी देशाई बिहीबारदेखि हुने चार खेल आफूकेन्द्रित रहेको र सबै खेल कठिन भएको बताउँछन्। 

युएई र पीएनजी दुवै टोली बलियो प्रतिद्वन्द्वी भएको र लिगको अन्तिम श्रृंखला भएकाले खेलहरु प्रतिष्पर्धात्मक हुने अपेक्षा राखे। 

यस्तै श्रृंखलामा सहभागि हुन नेपाल भ्रमण गरेका टोलीद्वय युएई र पीएनजीले पनि सुखद् नतिजाका लागि घरेलु टोलीसँग प्रतिष्पर्धा गर्ने बताए। 

त्यस क्रममा युएई टोलीका खेलाडी सदस्य भृत्य अरविन्दले नेपालमा हुन लागेको श्रृंखला नयाँ श्रृंखला भएको र एक दिवसीय मान्यताका लागि मेहनत गर्ने बताए।

उनले घरेलु दर्शकको अगाडि खेल्न आफ्नो टोली आतुर रहेको समेत बताए। 

उता विश्वकप क्रिकेट लिग–२ को पुछारमा रहेको टोली पिएनजीका कप्तान अशद भालाले पछिल्लो समय टोलीले नतिजा सुम्पिए पनि सम्मानजनक खेल खेलेको छ। 

त्यही खेलमा भएको केही कमीकमजोरीलाई सुधार गर्दै खेल्नसके अन्तिम श्रृंखलामा सुखद् नतिजा निकाल्ने अशद भालाले बताए। 

त्यही लक्ष्यकासाथ टोलीले अभ्यास गरिरहेको र राम्रो खेलेर लिगमा सुखद् अन्त्य गर्ने योजनामा टोली रहेको अशदले बताए।

घरेलु मैदानमा बिहीवार हुन लागेको अन्तिम श्रृखंलाका लागि नेपाली टोली घोषणा पनि भइसकेको छ। रोहितकुमार पौडेलको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ। 

जसमा युएईमा भर्खरै सम्पन्न लिग–२ खेलेका खेलाडीले नै निरन्तरता दिइएको छ। श्रृंखला फागुन २५ देखि चैत २ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदैछ। 

लिग टुको शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउन नेपालले घरेलु मैदानमा चारवटै खेल जित्नुपर्नेछ भने एकदिवसीय मान्यता जोगाउन दुई खेल जित्नुपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .