ए डिभिजन लिगका लागि संकटा क्लबलाई यु क्यान ब्रान्डको चाइना ट्रेड लिंक प्रालिको लिनिङले जर्सीसहित खेल सामग्री प्रायोजन गरेको छ।
क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै लिनिङसँग सम्झौता गरेको हो। सम्झौतापत्रमा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर र चाइना ट्रेड लिंक प्रालिका प्रबन्ध निर्देशक राजन महर्जनले हस्ताक्षर गरेका छन्। क्लब र चाइना ट्रेड लिंक प्रालिबीच एक वर्षको सम्झौता भएको हो।
सम्झौताअनुसार चाइना ट्रेड लिंक प्रालिले क्लबलाई करिब ७ लाख बराबरको खेल सामग्री दिनेछ।
आजै स्टाइलिङ पार्टनरमा निल डेभिड युनिसेक्स सैलुन छ। एक वर्षको सम्झौताअनुसार खेलाडीलाई निल डेभिडले हेयर कटलगायत सुविधा दिनेछ।
क्लबले यो सिजनको लागि २ करोड ४० लाख रुपैयाँ खर्च गर्न लागेको छ।
क्लबका अध्यक्ष तुलाधरले भने, यो सिजन त्यति धेरै रकम खर्च गर्न नसकेपनि कम भने होइन। क्लबले एकेडेमीसहितको खेल मैदान निमार्ण गर्ने अभियानमा रहेकाले लिग च्याम्पियन बन्न सके त्यसले थप मद्दत पुग्ने बताए।
संकटालाई यो पटकको लिगका लागि महानगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको छ। अन्य प्रायोजन पनि खोजिरहेको अध्यक्ष तुलाधरले बताए।
शुक्रबार सुरु लिगमा संकटा चौथोपटक लिग च्याम्पियन बन्ने लक्ष्यमा छ। क्लबले आइतबार त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्नेछ।
संकटाको टोली
टिकेन्द्रसिंह थापा, विष्णुकुमार केसी, निशान राना, सन्दीप आले, आन्द्रे थिएरी विइक, दीपक घिसिङ, रवि सिलवाल, सरोज दाहाल, निशान खड्का, ललित चौलागाईं, सुनिल श्रेष्ठ, सुनिल बल, जुनियर, गणेश हमाल, दिपेन्द्र विक, अनिष महर्जन, कुलदीप कार्की, रोशन पहरी, चन्दन दास, आयुष घलान, मनिष डाँगी, सुरज ज्यूठकुरी र नेल्सन
Shares
प्रतिक्रिया