ad ad

खेल


राष्ट्रिय महिला लिगको उपाधि एपीएफले जित्यो, पहिलो राउन्डकै आधारमा विजेता घोषित

राष्ट्रिय महिला लिगको उपाधि एपीएफले जित्यो, पहिलो राउन्डकै आधारमा विजेता घोषित

नेपालखबर
फागुन १८, २०७९ बिहिबार १४:१९, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिगको दोस्रो चरण आयोजना गर्न नसकेपछि पहिलो चरणकै आधारमा विजेता टोली घोषणा गरेको छ। 

एन्फाले गत फागुनमा महिला लिगको पहिलो राउन्ड चितवनमा आयोजना गरेको थियो। भरतपुर महानगरपालिकाको सहयोगमा एन्फाले महिला लिगको पहिलो चरण आयोजना गरेको थियो। 

पहिलो चरण सकिएको एक वर्षसम्म पनि दोस्रो चरण आयोजना गर्न नसकेपछि एन्फाको बुधबार बसेको कार्यसमितिको बैठकले विजेता र उपविजेता टोली घोषणा गरेको हो। 

पहिलो चरणको खेल सकिँदा ७ खेलबाट २१ अंक जोडेर एपीएफ शीर्ष स्थानमा थियो। लिगमा अपराजित रहेको एपीएफलाई एन्फाले विजेता घोषणा गर्दै ७ लाख रुपैयाँ दिने घोषणा गरेको हो। 

५ खेलमा जित र २ मा हार भोगेको नेपाल पुलिस क्लब दोस्रो र त्रिभुवन आर्मी फुटबल क्लब तेस्रो स्थानमा रहेको थियो। समान १५ अंक भए पनि गोल अन्तरका आधारमा पुलिस क्लब दोस्रो र आर्मी तेस्रो स्थानमा रहेको थियो। 

धनगढी उपमहानगरपालिका १२ अंकमा चौथो स्थानमा रहँदा विराटनगर १२ अंकमा पाँचौँ स्थानमा छ। एक खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेका ललितपुर र चन्द्रपुर महानगरपालिका छैटौँ र सातौँ स्थानमा रहे, लिगमा जितविहिन रहेको वालिङ नगरपालिका एक खेलमा बराबरीको नतिजा निकाल्दै १ अंकमा तालिकाको पुछारमा रह्यो। 

लिगको पहिलो चरणका खेलहरु चितवनस्थित शारदानगर फुटबल मैदानमा भएको थियो। 

लिग विजेता एपीएफले ७ तथा उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो स्थानमा रहेको आर्मीले ३ लाख रुपैयाँ पाउनेछ। 

एन्फाकै आन्तरिक किचलोका कारण लिगको दोस्रो चरण आयोजना गर्न असमर्थ रह्यो। एन्फाको बैठकले पहिलो चरणको अंक तालिकाको आधारमा विजेता घोषणा गरे पनि व्यक्तिगत स्पर्धातर्फका खेलाडीलाई दिने पुरस्कारबारे कुनै निर्णय गरेको छैन। 

त्यसका लागि एन्फाले एक कार्यक्रम गर्दै व्यक्तीगततर्फका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए। 

त्यसको मिति भने अहिले नै तय नभइसकेको प्रवक्ता शाहले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .