ad ad

राजनीति


सांसदहरुलाई रामचन्द्रको पत्र : सत्तामा हुँदा गल्ती गरेको छैन, राष्ट्रपतिमा जिताइदिनू

सांसदहरुलाई रामचन्द्रको पत्र : सत्तामा हुँदा गल्ती गरेको छैन, राष्ट्रपतिमा जिताइदिनू

फाइल तस्बिर


नेपालखबर
फागुन १८, २०७९ बिहिबार १४:२२, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचनका लागि मत माग्दै सांसदहरुलाई पत्र पठाएका छन्। 

काठमाडौंमा बिहीबार आयोजित आठ दलका सांसदहरुको अभिमुखीकरण कार्यक्रममा उनको तर्फबाट मत माग्दै पत्र बाँडिएको छ।

उक्त पत्रमा उनले सानैदेखि संघर्ष थालेको बताउँदै यसअघि सत्तामा हुँदा आफू कहीँ कतै नचुकेको पनि जिकिर गरेका छन्। 

'नेपालका सबै मानिसको नैसर्गिक अधिकार स्थापनाका लागि मैले सानै उमेरदेखि सङ्घर्षको बेडा उठाउदै आएँ। फलतः निर्दलीय निरङ्कुश सत्तासँग म अलिकति पनि झुकिनँ र पञ्चायतको तीसवर्षे कार्यकालमा त्यसका आधा समय त मैले जेलमै बिताएको हुँ', उनले भनेका छन्, 'बहुदलीय व्यवस्थाको पुनरागमनपछिका सत्ताका दिनहरुमा पनि कहीँ कतै नचुकिकन देश र जनताको उन्नति, राष्ट्रिय स्वाधिनता र अस्मिताको लागि निष्ठापूर्वक सकेको सेवा गर्दै आएको र आफ्नो छविमा कतै दाग लाग्न नदिने भरमग्दूर कोशिस गर्दै आएको छु।'

पौडेलले शान्ति वार्ता र संविधान निर्माणका क्रममा जनताको मानवअधिकार, स्वतन्त्रता, दिगो शान्ति, आर्थिक सामाजिक न्याय र समुन्नतिलाई हृदयमा राखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने कुरालाई उद्देश्य बनाउदै आएको बताएका छन्।

'म नेपालको वास्तविकतामा आधारित विकासको नमूना (मोडेल) अपनाउनु पर्छ भन्ने ठान्छु। बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चार गाउँ-गाउँमा पुगिसक्दा पनि त्यहाँबाट बसाई सर्ने क्रम नरोकिएको र देशबाटै प्रतिभा र जनशक्तिको पलायन बढ्दै गएको अवस्थामा गाउँ-गाउँमै रोजगारी र आम्दानीको अवस्था कसरी सिर्जना गर्ने भनेर चिन्तित छु', उनले भनेका छन्, 'राजनीतिक विचारधाराको इन्द्रमा अल्मलिन नपरोस भनेर समाजवादको सार 'निमुखालाई न्याय र विपन्नलाई आय' सबैको साझा सिद्धान्त हुन सक्छ भनेर विनम्र अपिल गर्दछु।'

पौडेलले नेपाली जनतामा खुशियाली ल्याउने विकास हासिल गर्ने मुख्य आधार भनेकै स्थायित्व र शासन हो भन्नेमा आफ्नो विश्वास छ रहेको बताएका छन्। 

'तसर्थ, सबै धर्म, संस्कृति, जात, वर्ग, लिङ्ग र समुदायको अधिकारको प्रत्याभूति रहेको वर्तमान संविधानको अक्षर र मर्मको परिपालना गर्दै परिवर्तनको जर्गेना गर्ने अठोटका साथ नेपाल राष्ट्रको राष्ट्रपतिको गरिमामय पदको लागि उम्मेदवारको रुपमा उपस्थित छु', उनले भनेका छन्, 'नेपाली जनताका प्रिय प्रतिनिधि तपाईंको अमूल्य मतको अपेक्षा गरेको छु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .