ad ad

खेल


जब पारसले पारसको खुट्टा ढोगे

जब पारसले पारसको खुट्टा ढोगे

यज्ञराज जोशी
पुस १४, २०७६ सोमबार १०:३३,

चितवन राइनोज पोखरा प्रिमियर लिगको उपाधि उचाल्ने संघारमा थियो। १८ ओभर सकिँदा खेलमा चितवनको जितका लागि औपचारिकता मात्रै बाँकी थियो। अन्तिम बल ब्याट्सम्यानले खेल्नेबित्तिकै दर्शकदीर्घामा पारस लेखेको जर्सी लगाएर हुटिङ गरिरहेका एक युवा बाउन्ड्रीमा राखिएको होर्डिङ बोर्ड नाघेर दौडिँदै मैदानभित्र पसे।

क्रिजमा पारस खड्का जितको खुसी साट्दै थिए। ती युवा उनको गोडामा निहुरिए, ढोगे र अँगालो हाले।

यो दृश्य तत्काल सामाजिक सञ्जालमा भाइरल भयो। जसको चर्चा अझै सेलाएको छैन।

ती युवा थिए चितवनका पारस घिमिरे।

000

चितवनबाट बिहानै हिँड्दा उनको मन फुरुङ्ग थियो। आफ्नो आदर्श खेलाडी पारस खड्कालाई भेट्न उनी जाँदै थिए।

‘जसरी पनि भेट्छु, कम्तीमा एउटा अटोग्राफ लिन्छु,’ उनी मनमनै दोहोर्‍याइरहेका थिए।

यही हुटहुटीका कारण शनिबार पोखरा रंगशालामा पारस घिमिरेले जे गरे, त्यसलाई उनी विशेष मात्र होइन अविष्मरणीय ठान्छन्।

‘अन्तिम ओभर चल्दै गर्दा मलाई लाग्यो, आफूलाई मन परेको खेलाडी अनि नेपाली क्रिकेटको भगवानलाई मैले सम्मान दिने बेला यही हो,’ उनले सुनाए।

त्यसअघिसम्म मैदान प्रवेश गर्ने आफ्नो कुनै योजना नभएको उनी बताउँछन्।

‘अन्तिम बल हानेपछि मैले आफूलाई रोक्न सकिनँ। बाउन्ड्रीमा हाम फालेँ। मैदानमा पुगेपछि खुट्टा ढोग्नैपर्छ भन्ने लाग्यो र त्यसै गरेँ,’ उनले थपे।

‘खुट्टा ढोग्दा पारसले उठ बाबु नरोऊ, इट्स ओके भन्नुभयो,’ खड्कालाई भेटेपछि आँसु पुछ्दै मैदानबाट फर्किएका घिमिरेले भने, ‘मेरो आखाँबाट आँसु बगिरहेको थियो। म न केही बोल्न सकेँ न आसुँ थाम्न सकेँ।’

000
परिवारले नै सानैमा उनको नाम पारस घिमिरे राखिदिएको थियो। कक्षा ६ मा पढ्दा ९–१० पढ्ने दाइहरुले आफूलाई ‘खड्का भाइ’ भनेको उनलाई सम्झना छ।

80699270_2191180284523270_4572883737687097344_n.jpg

 ‘त्यसबेला दाइहरुले किन मलाई ‘खड्का भाइ’ भन्थे भनेर म अचम्म पर्थेँ। पछि सोधीखोजी गर्दा पारस खड्कासँग नाम मिल्ने भएकाले रहेछ,’ उनले सुनाए, ‘त्यसपछि म पारस र क्रिकेटलाई फलो गर्न थालेँ।’

२०१० मा खड्काको कप्तानीमा नेपालले कीर्तिपुर मैदानमा विश्व क्रिकेट लिग डिभिजन ५ को उपाधि उचालेको थियो। नेपालले आईसीसीको प्रतियोगितामा जितेको त्यो पहिलो उपाधि थियो। त्यही जितपछि घरेलु समर्थकमाझ खड्काको लोकप्रियता बढेको थियो।

त्यसपछि खड्काको क्रिकेट करिअरको ग्राफ चुलियो। २०१२ मा डिभिजन चार, २०१३ मा डिभिजन तीनको उपाधि नेपालले पारसकै नेतृत्वमा जित्यो। सोहीवर्ष पहिलो पटक नेपाल आईसीसी टी–२० विश्वकपमा छनोट भयो। यी सबै सफलताले किशोरवयका घिमिरे खड्काप्रति झन्झन मोहित हुँदै गए।

उनी खड्काका हरेक पारी ध्यान दिएर हेर्छन्। राम्रो खेलेपनि, चाँडै आउट पनि उनी खड्काका सदावहार समर्थक हुन्। खासगरी अघिल्लो वर्ष यूएईविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रियमा हानेको शतक र नेदरल्यान्ड्सविरुद्धको शृखंलामा एक रनले जित्दाको बलिङ उनलाई सदैव उत्कृष्ट लाग्छ।

यूएईविरुद्ध गतवर्ष जनवरीमा नेपालले एकदिवसीय शृंखला खेलेको थियो। पहिलो खेल यूएईले जितेपनि दोस्रो खेलमा जित हात पार्दै नेपालले शृंखलालाई १–१ को बराबरीमा ल्यायो। दोस्रो खेल जितेपछि खड्कालाई सोधिएको थियो, ‘एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको शतक कहिले देख्न पाइन्छ होला?’

81649489_488284135226103_801274368666632192_n.jpg

पारसको त्यसबेला जवाफ थियो, ‘आशा गरौं छिट्टै देख्न पाइन्छ।’

त्यसो भनेको अर्कोदिन नै पारसले यूएईविरुद्धको अन्तिम खेलमा १ सय १५ रनको पारी खेल्दै इतिहास रचे। उनी एकदिवसीयमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बने।

घिमिरेलाई मनपर्ने अर्को पारी हो, २०१८ जुलाईमा नेदरल्यान्ड्सविरुद्धको। नेपालले एक दिवसीय मान्यता हासिल गरेपछि जुलाईमा नेपालले नेदरल्यान्ड्ससँग दुई वटा एकदिवसीय शृंखला उसकै मैदानमा खेल्ने तय भयो।

पहिलो खेल नेदरल्यान्ड्सले ५५ रनले जित्यो। दोस्रो खेलमा नेपालले एक रनको ऐतिहासिक जित हात पार्‍यो। त्यसका नायक थिए खड्का। अन्तिम ओभरमा नेदरल्यान्ड्सलाई जित्न ६ रन आवश्यक भएपनि कप्तान खड्का आफैँले बलिङ गर्दै ४ रनमात्रै दिए। एकदिवसीयमा नेपालले हात पारेको त्यो पहिलो जित थियो। त्यो जितसँगै शृंखला बराबरीमा टुंगिएको थियो।

खड्काले यसैवर्ष राष्ट्रिय टोलीको कप्तानी छाड्दा घिमिरे साह्रै दुःखी भए। नेपाल क्रिकेट संघमाथिको निलम्बन फुकुवा भएको २४ घण्टा नबित्दै असोज २८ गते पारसले अविश्वसनीय रुपमा राष्ट्रिय टोलीको कप्तानीबाट राजीनामा घोषणा गरेका थिए।

‘पारस दाइले कप्तानी छाड्नुभएको विश्वासै लागेन,’ घिमिरे भन्छन्, ‘उनको कप्तानी अझै नेपाली क्रिकेटलाई आवश्यक रहेको म ठान्छु। तर दाइले सोचेरै निर्णय लिनुभएको होला भनेर चित्त बुझाएँ।’

घिमिरे आफैँ पनि स्थानीय क्रिकेट खेल्छन्। उनी अलराउन्डर हुन्। राष्ट्रिय टोलीबाट खेल्ने र पारससँगै ड्रेसिङ रुम सेयर गर्ने उनको सपना छ। तर, त्यो सोचेजस्तो सजिलो नभएको उनी आफैँ स्वीकार्छन्। ‘राष्ट्रिय टिममा पर्न सजिलो छैन। मेहनत गर्दैछु। हेरौं, त्यो सपना कहिले पूरा हुन्छ,’ उनी भन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .