कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ।
बुधबार बिहान घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफले सो उपाधि जितेको हो। टस जितेर फिल्डिङ रोजेको एपीएफले निर्धारित २० ओभरको खेल ७१ रनमा समेटेको थियो।
७२ रनको विजय लक्ष्य पाएको एपीएफले १४ ओभरमा चार विकेटको क्षतिसहित ७४ रन बनाउन सफल भयो। सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध भएपछि सुदूरपश्चिमले प्रदेश नं २ सँग अंक बाँडेर अन्तिम चरणको खोलमा प्रवेश गरेको थियो भने एपीएफ सेमिफाइनलमा प्रदेश नं १ लाई हराउँदै समूह ‘बी’बाट अन्तिम चरणमा पुगेको थियो।
प्रतियोगितामा सात प्रदेश र विभागीय एपीएफ गरी आठ टोली सहभागी थिए। वर्षाका कारण चार खेलमा असर परेको थियो। उपाधि विजेता टोलीले रु चार लाख पुरस्कार पाउनेछ भने दोस्रो हुनेले रु तीन लाख र तेस्रो हुनेले रु दुई लाख पुरस्कार पाउने आयोजकले जनाएको छ। रासस
Shares

प्रतिक्रिया