ad ad

खेल


रियल छाडेर फेरि कहाँ पुगे रोनाल्डो?

रियल छाडेर फेरि कहाँ पुगे रोनाल्डो?

नेपालखबर
पुस ५, २०७९ मंगलबार १६:३४, काठमाडौँ

कतार विश्वकप सुरु हुने केही दिन अघि क्लबविहीन बनेका पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो अहिले पनि क्लबविहीन छन्। 

खराब समयबाट गुज्रिरहेका रोनाल्डो विश्वकप अघि एक टेलिभिजनमा दिएको अन्तवार्ताका कारण विवादमा तानिएका थिए। म्यानचेष्टर युनाइटेडसँगको सम्बन्ध बिग्रिरहेको बेलामा अन्तवार्तापछि यी दुईको सम्बन्ध वार कि पारमा पुगेको थियो। 

पछि सहमतिमै सम्झौता रद्द गरिएको थियो। क्लबमा रहँदा प्रशिक्षकसँगको सम्बन्ध सुमधुर हुन नसकेपछि उनले कम मौका पाउन थालेका थिए। 

क्लबमा मात्र हैन राष्ट्रिय टोलीमा पनि मुख्य प्रशिक्षकसँग सम्बन्ध राम्रो हुन सकेन। रोनाल्डो पहिलो पटक विश्वकपको बेन्चमा बस्न बाध्य भए। पोर्चुगिज फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डोलाई स्विटजरल्याण्डविरुद्धको खेलमा बेन्चमा राखेका थिए।

रोनाल्डोको स्थानमा सुरुवाती मौका पाएका गोन्सालो रामोसले ह्याट्रिक गरेका थिए। 

मोरक्कोविरुद्धको क्वार्टरफाइनल खेलमा पनि रोनाल्डोलाई बेन्चमा राखेका सान्तोषले खेलको ५१ औँ मिनेटमा मात्र मैदान पठाएका थिए। १–० ले पछि परेको अवस्थामा मैदान छिरेका रोनाल्डोले पोर्चुगललाई खेलमा फर्काउन सकेनन्। पोर्चुगल अन्तिम ८ बाटै बाहिरियो। 

विश्वकपबाट बाहिरिएपछि रोनाल्डो केही समय मौन रहे। पछि उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा लामो पोष्ट लेखेका थिए। 

विश्वकप जारी रहँदा साउदी अरबको शीर्ष क्लब अल नासारले किर्तिमानी रकममा उनलाई अनुबन्ध गर्न प्रस्ताव गरेको चर्चा चलेको थियो। धेरैले रोनाल्डो अल नासार जाने बताएपनि उनले त्यसलाई अस्वीकार गरेका थिए। 

विश्वकपबाट बाहिरिएपछि पनि उनी कतारबाट राष्ट्रिय टोलीसँग फर्किएका थिएनन्। केही दिनपछि उनी स्पेन पुगेका थिए। 

त्यहाँ पुगेर पूर्व क्लब रियल मड्रिडमा प्रशिक्षण गरिरहेको तस्बिर सार्वजनिक भएको थियो। रियलमा प्रशिक्षण गरेको तस्बिर आएसँगै धेरैले उनी पूर्वक्लब फर्कन्छन् भनेर अड्कल पनि गरेका थिए। तर अहिले उनले रियलमा पनि प्रशिक्षण गर्न छाडेका छन्। 

तर त्यसपछि रोनाल्डो कहाँ गए भन्ने सार्वजनिक भएको छैन। विश्वकपका कारण रोकिएका लिग सुरु हुनै लाग्दा रोनाल्डो भने नयाँ क्लबको खोजिमा छन्। सिजनको सुरुमै च्याम्पियन्स लिग खेल्ने क्लबमा मात्रै खेल्ने भन्दै युनाइटेड छाड्न चाहेका थिए। 

त्यतिबेला चेल्सीले भित्र्याउन समेत छलफल थालेको थियो। अहिले उनलाई भित्र्याउन प्रिमियर लिगको शीर्ष क्लब आर्सनल पनि अगाडि आएको छ। यस्तै चेल्सीले पनि उनलाई भित्र्याउन प्रयास गर्ने चर्चा छ।

यसअघि नै रोनाल्डो चेल्सी जाने चर्चा चलेपनि प्रशिक्षक सहमत नहुँदा रोकिएको थियो। तर प्रशिक्षक थोमस टुचेललाई चेल्सीले बर्खास्त गरिसकेको छ। 

सबै लिग सुरु हुने मिति नजिकिएसँगै रोनाल्डो अब कता जान्छन् भन्ने चर्चा पुनः सुरु भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .