ad ad

राजनीति


एकै ठाउँ आइपुगे महामन्त्रीका तीन प्रतिस्पर्धी

प्रदीप पौडेलले छाडे देउवा-सिटौलाको साथ
एकै ठाउँ आइपुगे महामन्त्रीका तीन प्रतिस्पर्धी

नेपालखबर
पुस ५, २०७९ मंगलबार १६:४०, काठमाडौँ

गत वर्ष मंसिर अन्तिममा काठमाडौंमा भएको नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा विजयी हुँदा महामन्त्री पदमा तीन युवा प्रतिस्पर्धी मैदानमा थिए।

कांग्रेसमा सभापतिपछिको कार्यकारी पद दुई महामन्त्रीका लागि तीनजना युवाबीच प्रतिस्पर्धा थियो। 

महामन्त्रीको दौडमा त्यसबेला संस्थापन पक्षबाट डा. प्रकाशशरण महत र प्रदीप पौडेल मैदानमा थिए। कृष्णप्रसाद सिटौला पक्षका पौडेल संस्थापनसँग मिलेर उठेका थिए।

उता डा. शेखर कोइराला नेतृत्वको संस्थापन इतरबाट गगन थापा र डा. मिनेन्द्र रिजाल उठेका थिए। त्यसबेला विश्वप्रकाश शर्मा भने पहिलो चरणका सभापतिका प्रत्यासी प्रकाशमान सिंहसँग मिलेर महामन्त्री पदमा उठेका थिए।

यी पाँच प्रतिस्पर्धीमा त्यसबेला संस्थापन इतरका गगन लोकप्रिय मतसहित महामन्त्रीमा विजयी भए। यता प्रकाशमानको साथ लिएर उठेका विश्वप्रकाश पनि दोस्रो मतसहित महामन्त्री छानिए।

संस्थापनका दुवै उम्मेदवार महत र पौडेल तथा संस्थापन इतरका रिजाल पनि पराजित भए। त्यसबेला रक्षामन्त्री रहेका रिजालले हार लगत्तै पदबाट राजीनामा दिए। 

तर त्यसको ठ्याक्कै एक वर्षपछि कांग्रेसभित्र युवा नेताहरुले महाधिवेशनको समीकरण भत्काएका छन्। 

बुधबार हुने संसदीय दलको निर्वाचनका लागि महामन्त्री शर्माले महाधिवेशनकै बेला सभापति शेरबहादुर देउवासँग मिसिएका प्रकाशमानको साथ छाडेर गगनको समर्थक बनेका छन्। 

मंगलबार होटल बसेरामा बसेको संस्थापन इतरको बैठकमा पुगेर उम्मेदवारी मनोनयन पत्र समर्थकका रुपमा हस्ताक्षर गरेका उनी दलको कार्यालय पुग्दा पनि गगनको पक्षमा उभिए। उनले निर्वाचनताका नै दलमा उठ्ने घोषणा गरेका थापालाई साथ दिने बताइसकेका थिए। 

दलको निर्वाचनका कारण महाधिवेशनका बेला बनेको देउवा-कृष्णप्रसाद सिटौला समूहलाई युवा नेता प्रदीप पौडेलले भत्काएका छन्। 

कांग्रेसको चौधौँ महाधिवेशनमा नेता कृष्ण सिटौला समूहबाट संस्थापनसँग मिलेर महामन्त्रीमा उठेका पौडेल पनि गगनको समर्थक नै बसेका छन्। उनी पनि दलको कार्यालय पुगेर थापाकै पक्षमा उभिए। 

दलको नेतामा थापालाई साथ दिँदै पौडेलले देउवा र सिटौलाको साथ छाडे। चौधौँ महाधिवेशनअघि गगनले सिटौलाको साथ लिएपछि पौडेलले उक्त स्थान लिएका थिए। 

उनी सिटौला र संस्थापन समूहबाट चौधौँ महाधिवशेनमा महामन्त्री पदमा पराजित भएका थिए। अहिले उनी काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका सदस्य छन्। उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै संसद यात्रा पक्का गरेका थिए। 

प्रदीप पौडेल गगनको पक्षमा खुल्दा चौधौँ महाधिवेशनमा महामन्त्रीका लागि भिडेका चार नेता अहिले दलको चुनावमा एकै समूहमा उभिएका छन्। कांग्रेस प्रवक्तासमेत रहेका डा. महत मात्रै देउवाको पक्षमा उभिए। उनी समानुपातिक सांसद हुन्। 

चौधौँ महाधिवेशनमा थापा शेखर कोइराला प्यानलबाट महामन्त्री बन्दा त्यही प्यानलका रिजाल पाँचौं नम्बरमा समेटिएका थिए। 

सभापतिमा विजयी देउवा प्यानलका महत र प्रदीप पौडेल तेस्रो र चौथो स्थानमा समेटिएका थिए। देउवासँगै रहेका शर्माले टिकट नपाएपछि सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएर जितेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .