पूर्व विजेता दुई टोली रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको आफ्नो दोस्रो खेलको पहिलो हाफको समाप्तीसम्म गोलको खाता खोल्न सकेका छैनन्।
दशरथ रंगशालामा सोमबार भएको खेलको पहिलो हाफको समाप्तीसम्म थ्री स्टार र पुलिसले गोलरहित बराबरी खेलेका छन्। पहिलो खेलमा पनि यी दुई टोलीले गोलरहित बरबरी खेलेका थिए।
साविक विजेता सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले लगातार दुई खेल जित्दा थ्री स्टार र पुलिसले भने पहिलो गोलका लागि तड्पिरहेका छन्। थ्री स्टारले प्रभु जावलाखेल तथा पुलिसले यति हिमालयन शेर्पासँग गोलरहित बराबरी खेलेका थिए।
दुवै टोलीले सोमबार गोलका लागि खासै गतिलो आक्रमण बुन्न सकेनन्। त्यसअघि दशरथ रंगशालामा भएको खेलमा मनाङले त्रिभुवन आर्मी क्लबमाथि १–० को जित हासिल गरेको थियो। ५ मिनेट इन्ज्युरी समयको दोस्रो मिनेटमा दयानन्द सिंहले गरेको गोलमा मनाङले जित हासिल गरेको थियो। दुई चरणको खेल सकिँदा मनाङ ६ अंकसहित शीर्षस्थानमा छ।

प्रतिक्रिया