कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगमा बुधबार २ खेल हुँदै छन्।
ललितपुरस्थित एन्फा मैदानमा मध्याह्न साढे १२ बजे हुने खेलमा ललितपुर डर्बीमा रुस्लान थ्रिस्टारले जावलाखेल युथ क्लवको सामना गर्दै छ। यो सिजन नयाँ विदेशी र उमेर समूहका खेलाडी समावेश गर्दै थ्रिस्टारले टोली घोषणा गरेको छ। लिगमा थ्रिस्टार स्पष्ट ३ अंक जोड्ने प्रयासमा हुनेछ।
गत सिजन थ्रिस्टारसँग पराजय भोगेको जावलाखेल त्यो हारको बदला लिन मैदानमा उत्रिनेछ। थ्रीस्टारमा महत्वपूर्ण खेलाडीको अभावको फाइदा उठाउँदै अंक जोड्ने रणनीतिमा जावलाखेल रहेको छ।
आजै हुने अर्को खेलमा गत वर्षको लिग विजेता सिग्नेचर मनाङ मर्स्याङ्दी र विभागीय सशस्त्र प्रहरीको एपीएफबीच खेल हुँदै छ। दशरथ रगंशालामा दिउँसो साढे २ बजे हुने खेलमा एपीएफ मनाङलाई हराउने दाउमा छ। राष्ट्रिय खेलाडीले साथ छोडेपछि केही कमजोर देखिएको मनाङसँग अंक खोस्ने योजनामा एपीएफ छ।
आफूहरुसँग गत सिजनका खेलाडी नभएपनि उपलब्ध खेलाडीले राम्रो खेल्ने मनाङका प्रशिक्षक फुजा तोपेले बताए।

प्रतिक्रिया