ad ad

खेल


दाजुको सफलतामा रमाउने शिवराज

कठिन परिश्रमले अब्बल काइँला र कान्छा
दाजुको सफलतामा रमाउने शिवराज

नवौँका स्वर्ण विजेता दाजु गोपीचन्द्र र भाइ शिवराज। तस्बिर : नेपालखबर


लक्ष्मी जि.सी
कात्तिक ९, २०७९ बुधबार २१:११, काठमाडौँ

सशस्त्र प्रहरी बलको एपीएफ क्लबका खेलाडी गोपीचन्द्र पार्की एथलेटिक्समा चर्चित छन्। 

तीन वर्षअघि नेपालमै भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेपछि उनको चर्चा चुलिएको थियो। 

त्यसपछि पनि उनी लगातार चर्चामा रहे। तर, गत वर्ष ओलम्पिक खेल्ने उनको सपना पूरा हुन सकेन। 

उनी नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल एथलेटिक्स संघको समन्वय अभावको शिकार हुन पुगे। 

एनओसी, संघलेसमेत ओलम्पिक छनोटका रुपमा मान्यता दिएको नेपालगन्ज म्याराथनमा पार्की च्याम्पियन बनेका थिए। 

उनलाई ओलम्पिकमा छनोट भएको बताइयो। गोपीले तयारी पनि त्यहीअनुसार गरे। तर अन्तिम समयमा खेल्न नपाउने जानकारी गराइयो। 

अन्त्यमा खुल्यो, उनको सहभागिताको त प्रक्रिया नै अघि बढेको थिएन। स्वभाविक थियो, त्यसबाट उनी निराश भए। 

उनले त्यसबेला अझै सशक्त रुपमा प्रस्तुत हुने बताएका थिए। तर, बर्लिन म्याराथनमा सोचे जस्तो नतिजा दिन सकेनन्। 

यसबीचमा उनी चर्चा बाहिर थिए। सायद उनी भित्रभित्रै तयारीमा जुटेका थिए। गण्डकी प्रदेशमा गत साता सकिएको नवौँ राष्ट्रिय खेलकुदबाट उनी फेरि चर्चामा आए। 

उनले आफू सहभागी पहिलो इभेन्टअन्तर्गत १० हजार मिटर दौडमा सहभागिता जनाए। असोज ३० गते उनले रजत मात्रै जित्न सके। 

१० हजार मिटरमा झण्डै ९ वर्षअघि गोपीले राखेको कीर्तिमान दीपक अधिकारीले तोडेका थिए। 

सन् २०१४ को इन्चन एसियाडमा गोपीले राखेको ३० मिनेट ३०.९९ सेकेन्डको कीर्तिमानलाई दीपकले तोडेको थिए। 

त्यो कीर्तिमान आफ्नो नाममा गराउने क्रममा दीपकले ३० मिनेट १०.३० को समय निकालेका थिए। त्यसका लागि गोपीले दीपकलाई बधाई पनि कदिए। 

आत्मविश्वासी गोपी आफ्ना कुरा प्रष्टसँग राख्न सक्छन्। तर, उनी आफूलाई ट्र्याकबाट प्रमाणित गर्न चाहन्थे।

नवौँ खेलकुदको अन्तिम दिन कात्तिक ३ गते गोपीले आफूलाई अब्बल साबित गरे। सागमा स्वर्ण जितेको इभेन्ट ५ हजार मिटरमा गोपी पहिलो भए। 

गोपीले १४ मिनेट ९.६७ को समय निकाल्दै स्वर्ण जिते। कर्णालीका दुर्गा बुढाले १४ मिनेट  २९.९३ समय निकाल्दै रजत जिते। 

नवौँमा पहिलो स्वर्ण जितेपछि गोपीले भनेका थिए, ‘ओलम्पिक खेल्ने सपना थियो। त्यसैअनुसार तयारी गरेँ। तर ओलम्पिकमा जान पाइनँ। यसपटक स्वर्णका लागि दौडिएको थिएँ। पहिले पनि मेरो लक्ष्य स्वर्ण नै थियो।’ 

नवौँमा स्वर्ण जितेपछि उनले आठौँ संस्करण स्मरण गरे। ‘खेलाडीका लागि देशको सबैभन्दा ठूलो खेल हो, हामी सबैको सपना देशका लागि खेल्ने हुन्छ’, उनले भने, ‘यसअघि आठौँमा पनि यस्तै भएको थियो, पहिलो खेलमा रजत जितेको थिएँ, अहिले पनि त्यही दोहोरियो। दोस्रो इभेन्टमा स्वर्ण पदक जितेँ।’

भाइ पनि अब्बल  
नवौँ खेलकुद गोपीको परिवारका लागि विशेष रह्यो। उनका सहोदर भाइ शिवराजले नयाँ स्टार बन्ने सम्भावना देखाएका छन्। 

शिवराजले नवौँमा ३ स्वर्ण र १ रजत पदक जिते। ५ भाइमध्ये गोपी काइँला र शिवराज कान्छा हुन्। 

अन्तिम दिन गोपीसँगै शिवराजले पनि स्वर्ण जिते। तर, शिवराज आफ्नो भन्दा दाजुको सफलतामा बढी खुसी थिए। 

‘आज मैले स्वर्ण पदक जितेकोभन्दा दाइले जितेकोमा खुसी छु। मलाई आफ्नो खासै वास्ता छैन, म दाईलाई नै सबैथोक मान्छु,’ दाजुप्रति सम्मान देखाउँदै उनले भने, ‘दाइले जे भन्नुहुन्छ, म त्यही नै गर्छु, खेलकुदमा मलाई बाटो देखाउने नै दाइ हो।’

शिवराज पनि अहिले दाजु जस्तै एपीएफबाटै खेल्छन्। आफ्नै क्लबका आशीष चौधरीलाई पछि पार्दै शिवराजले स्वर्ण जितेका हुन्।

‘मैले १ सय ५० मिटरमा नै स्पिड छुटाइसकेको थिएँ। त्यो बेलामा विपक्षीलाई सम्झिएँ’, त्यो सफलतापछि उनले भनेका थिए, ‘पहिलाको नेशनल च्याम्पियन हो। त्यसैले मैले दिमाग लगाए अन्तिम समयमा जम्प गर्छु भन्ने ठानेँ। त्यसै गरे जितेँ, खुसी लागेको छ।’

एक सय मिटर दौडमा पनि उनले स्वर्ण पदक जितेका थिए। आर्मीका युवराज विकलाई पछि पार्दै उनले त्यो सफलता पाए।

खेल जीवनलाई बिट मार्नुअघिको लक्ष शिवराजले तय गरिसकेका छन्। ‘इतिहास बनाएर छाड्न चाहन्छु। २ र ४ सय मिटरमा रेकर्ड बनाएर जान्छु’, उनले सुनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .