खेल


प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल मंसिर २९ देखि

प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल मंसिर २९ देखि

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार १०:५६,

नेपाली सेनाले प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ। यही मंसिर २९ गतेदेखि सेनाले उक्त प्रतियोगिताको सातौं संस्करण काठमाडौंमा आयोजना गर्न लागेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्यमा सञ्चालन हुने सो प्रतियोगितामा तीन विभागीय, दुई विदेशी तथा तीनवटा प्रदेशको फुटबल टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भूटानको फुटबल टोलीले सहभागिता जनाउने महासेनानी शशिकिरण रायमाझीले आज नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

लिगकम नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार तथा सेमिफाइनल पुग्ने दुई टोलीले रु ५०÷५० हजार पुरस्कार प्राप्त गर्नेछन्।

महासेनानी रायमाझीका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ। यस्तै, उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु १० हजार प्रदान गरिनेछ। सेनाले २०७० सालदेखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको छ। ‘सैनिक–नागरिक सम्बन्ध बढाउन, महिलालाई खेलप्रति आकर्षित गर्न तथा खेलका माध्यमबाट सम्बन्ध सुमधुर बनाउन प्रतियोगिता सञ्चालन गर्दै आएका छौं’, महासेनानी रायमाझीले भने।

विगतमा सोझै नकआउटका आधारमा सञ्चालन गरिंदै आएको सो प्रतियोगिता यसपटक विदेशी फुटबल टोलीको आग्रहमा लिगकम नकआउटका माध्यमबाट सञ्चालन गर्न लागिएको उनले बताए।

खेल सेनाको मुख्यालयभित्र रहेको खेल मैदान तथा ललितपुरको लगनखेलस्थित सेनाको दुईवटा मैदानमा खेलाइनेछ। प्रतियोगितको उद्घाटन खेल मंसिर २९ गते त्रिभुवन आर्मी क्लब र प्रदेश नं १ बीच सेनाको मुख्यालयस्थित खेल मैदानमा हुनेछ। प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad