मंसिर २८ देखि पोखरामा हुने पोखरा प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको विजेता टोलीले २७ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।
आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले बिहीबार विज्ञप्ति जारी गर्दै पुरस्कार राशी घोषणा गरेको हो। अघिल्लो संस्करणमा पनि विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ पाएका थिए।
यस्तै प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ। म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टीभीएस मोटरसाइकल प्रदान गरिनेछ।
यस्तै प्रतियोगिताको मोस्ट भ्यालुएबल खेलाडीलाई १ लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैयाँ साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ द म्याच हुने खेलाडीलाई १० हजार दिइने आयोजकले जनाएको छ।
पुस १२ गतेसम्म पोखरा रंगशाला क्रिकेट मैदानमा हुने प्रतियोगितामा नेपालका ६ सहरका ६ फ्रेञ्चाइज टोलीको सहभागिता रहनेछ। जसमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज्, काठमाडौं गोल्डेन वारियर्स र धनगढी ब्लुज छन्।
प्रतियोगिताको तयारी पूरा भएको र सबै टोली पोखरा आइसकेको क्विन्स इभेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए। शुक्रबार प्रतियोगिताको ट्रफी अनावरण गरिनेछ।
प्रत्येक खेलमा उत्कृष्ट क्याच गर्ने खेलाडीलाई सुविसु क्लियर टीभी र प्रत्येक खेलमा सबैभन्दा छिटो अर्धसतक प्रहार गर्ने खेलाडीलाई सुविसु फास्टेस्ट फिप्टी प्रदान गरिनेछ। यी खेलाडीलाई सुविसु केबलनेट प्रालिले एक निशुल्क इन्टरनेट तथा टीभी उपलब्ध गराउने आयोजकले जनाएको छ।

प्रतिक्रिया