खेल


पार्कीले फर्काए खोसिएको स्वर्ण, वैकुण्ठको रेकर्ड तोड्ने अबको लक्ष्य

पार्कीले फर्काए खोसिएको स्वर्ण, वैकुण्ठको रेकर्ड तोड्ने अबको लक्ष्य

लक्ष्मी जि.सी
मंसिर २०, २०७६ शुक्रबार १०:२४,

सन् २००६ मा श्रीलंकामा भएको दसौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली लामो दूरीका धावक राजेन्द्र भण्डारीको सनसनीपूर्ण प्रदर्शन गर्दै ५ हजार मिटर दौडमा स्वर्ण जिते। त्यसअघि उनले स्टेपल चेजमा पनि स्वर्ण जितेकाले उनको चर्चा ह्वात्तै चुलिएको थियो।

सबैभन्दा बढी प्रशंसा त उनको खेललाई लिएर भएको थियो। त्यसबेला ओलम्पियन जस्तै दौडिएको भन्दै सबैले उनको प्रशंसा गरेका थिए। स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा उनको भव्य स्वागत भएको थियो।

तर, केही दिनपछि आएको एउटा समाचारले नेपाली खेल जगतलाई झस्काईदियो। राजेन्द्रले प्रतिबन्धित शक्तिबद्र्धक औषधी प्रयोग (डोपिङ) गरेको भन्दै उनका दुबै पदकहरु खोसिएका थिए।

त्यतिबेला गोपीचन्द्र पार्की भर्खरै स्कुल पढ्थे। राजेन्द्रको पदक खोसिएको घटनाले उनलाई पनि दुःखी बनाएको थियो। त्यसबेलै उनले मनमनै प्रण गरेका थिए, एकदिन त्यो खोसिएको पदक म फिर्ता ल्याउँछु।

GopiKrishna1

राजेन्द्रपछि नेपाली खेलाडीहरु सागको ५ हजार मिटरमा स्वर्णको नजिक कहिल्यै पुग्न सकेनन्। शुक्रबार भने गोपीले नै त्यो क्रम भंग गर्दै घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुदको ५ हजार मिटर दौडमा स्वर्ण जिते।

‘मेरो बच्चैदेखिको सपना पूरा भएको छ। मैले राष्ट्रबाट खोसिएको पदक फिर्ता ल्याउन सकेको अनुभूति गरेको छु,’ स्वर्ण जितेपछि उनले भने।

राजेन्द्रको स्वर्ण खोसिएदेखि नै आफू त्यो फिर्ता ल्याउनका लागि १४ वर्ष आफूले मेहनत गरेको उनले बताए। ‘स्कुलको अध्ययन सकेपछि म काठमाडौँ आएँ। विभागीय क्लव (सेना, नेपाल प्रहरी, सशस्त्र) मा आवद्ध खेलाडीले पदक धेरै जित्ने गरेको देखेपछि २०६६ सालमा म पनि सशस्त्र प्रहरीमा आवद्ध भएँ,’ ३० वर्षीय पार्कीले आफ्नो संघर्षबारे सुनाए, ‘त्यतिबेला (राजेन्द्रको पदक खोसिदा) मेरो मनमा लागेको चोट अहिले निको भएको महसुस भइरहेको छ।’

यो पनि: बदला होस् त यस्तो!

शुक्रबार दशरथ रंगशालामा गोपीले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेका थिए। उनले भारतका सुनिल दवारलाई करिब १ सेकेन्डले पछाडी पार्दै स्वर्ण जितेका हुन्। सुनिलले १४ मिनेट ५५.२१ सेकेन्डमा सो दूरी पुरा गरे।

दौडका दौरान अधिकांश समय शीर्ष तीनमै रहेका गोपीले अन्तिम १ सय मिटरमा मात्र अग्रता लिएका थिए। भारतका सुनिलले अन्तिम २ सय मिटर बाँकी रहँदा तीव्र गति लिंदै एकपटक झन्डै २० मिटरको अग्रता बनाए पनि गोपीले गति बढाउँदै अन्तिम १ सय मिटर बाँकी रहँदा भारतीय खेलाडीलाई पछि छाडे।

‘भारतीय र श्रीलंकाली खेलाडीहरु राम्रा थिए। उनीहरु दौड जित्ने लक्ष्यका साथ आएका थिए। दौडका क्रममा उनीहरुले अगाडि गएर अवरोध गरिदिने छेकिदिने गरिरहेका थिए,’ खेलबारे गोपीले भने, ‘उनीहरुले बिस्तारै कुदेर जित्ने रणनीति बनाएका थिए। म जसरी पनि जित्छु भनेर कुदेको थिएँ। संयोगले दौडमा मैले जे चाहिरहेको थिएँ त्यही भइरहेको पनि थियो।’

‘भारतले स्वर्ण गुमाउन खोजिरहेको थिएन तर खोसेरै छाड्छु भन्ने मेरो लक्ष्य थियो। म सफल भएँ,’ उनले थपे, ‘अन्तिमको १ सय १० मिटरमा मैले दक्षिण एसियाका सबै खेलाडीलाई जित्छु भन्ने विश्वास पहिल्यैदेखि थियो।

त्यसैले गति बढाएँ र पछि पारेँ पनि। राष्ट्रले, एथ्लेटिक्स संघले र नेपाली दर्शकले गुमाएको स्वर्ण मैले फर्काउनु थियो। सबैको दुखेको मनमा मल्हम लगाउनु थियो। त्यो सबै सम्झिएर मैले यो पदक हात पारेँ।’

अबको लक्ष्य बैकुण्ठ मानन्धरको कीर्तिमान तोड्ने
नेपालीबाट खोसिएको एउटा महत्वपूर्ण पदक १४ वर्षपछि फिर्ता गराएका गोपीको अबको लक्ष्य बैकुण्ठ मानन्धरले कायम गरेको कीर्तिमान ताेड्नु पर्छ।

बैकुण्ठले तेस्रो सागको म्याराथनमा कायम गरेको २ घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान हालसम्म कसैले तोड्न सकेको छैन। ‘अब मेरो लक्ष्य म्याराथनमा गएर बैकुण्ठ मानन्धरको रेकर्ड तोड्नु हो,’ स्वर्णबाट हौसिएका गोपीले भने।

मानन्धरको रेकर्ड अरु देशको खेलाडीलाई तोड्न दिनु हुँदैन नेपालीले नै तोड्नुपर्छ, नेपालीकै नाममा रहनुपर्छ भन्ने उनको जोड थियो।

GopiKrishna2

कैलालीबाट शुरु भएको करिअर
२०६३ सालमा विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा कैलालीको घनी माध्यमिक विद्यालयबाट दौड्नकै लागि काठमाडौं आएको गोपी अहिलेपनि सम्झन्छन्। त्यो नै उनले सम्झने पहिलो प्रतियोगिता हो।

‘त्यसबेला हारेर फर्कें। यहाँ सबै सेना प्रहरी हुने रैछन्, हामी प¥यौं अभ्यास नै नगरेका मान्छे। पहिलो पटक केही थाहा पनि भएन। त्यसबेलै मेरो मनमा सेना, प्रहरी बनेपछि जितिने रहेछ भन्ने परेको थियो’ उनले भने।

पदक जित्ने लक्ष्यले उनी २०६६ मा सशस्त्र प्रहरी बलमा भर्ती भए। भर्ती भएपछि तालिम गरे। तालिमहरुमा जहिल्यै आफूलाई अब्बल सावित गरे। सशस्त्रले खेलकुदका लागि बनाएको एपीएफ क्लब सम्म पुग्न भने ठूलो संघर्ष गर्नुपर्थाे।

सुदूरपश्चिममा त्यति दौड पनि नहुने भएका कारण पहिले उनले आफ्नो क्षमता देखाउँनै पाएका थिएनन्।

सुदूरपश्चिममा खेल्ने हुटहुटी पूरा नभएपछि उनले काठमाडौं जानुपर्ने ठाने। त्यहीबेला संगठनको तालिम काठमाडौंमा थियो। एसडीएफ भनिने तालिम कठिन थियो, तर काठमाडौंमा आएपछि खेल्न पाउने आशाका साथ उनले तालिममा सहभागी हुने निर्णय गरे।

‘त्यहीबेला भाग्यवस् तत्कालिन हाम्रो तालिमको मुख्य निर्देशक माधव रेग्मी एपीएफ क्लबकै शाखा इञ्चार्ज भए। उहाँले मलाई पहिलेदेखि नै देखिरहेको हुँदा गोपीले गर्नसक्छ भन्दै क्लबमा राख्नुभयो। त्यसपछि प्रशिक्षक सुशिल राणाले मलाई प्रशिक्षण गराउनुभयो,’ गोपीले सम्झे।

२०६९ सालबाट गोपी एपीएफ क्लबमा आवद्ध भएका हुन्। क्लबमा जोडिएको तीन महिनामै उनी राष्ट्रिय टोलीमा परेका थिए। १० किलोमिटरमा उनले कीर्तिमान् नै कायम गरेका थिए। त्यसबेला उनले दुईवटा म्याराथन पनि जिते। २ घन्टा २१ मिनेट ४ सेकेन्डको उनको राष्ट्रिय कीर्तिमान अहिले पनि नेपालकै उत्कृष्ट नतिजा मध्येको एक हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad