ad ad

खेल


राष्ट्रपति रनिङ शिल्ड : हतारमा कर्मकाण्डी प्रतियोगिता

राष्ट्रपति रनिङ शिल्ड : हतारमा कर्मकाण्डी प्रतियोगिता

लक्ष्मी जि.सी
साउन ४, २०७९ बुधबार ६:३५, काठमाडौँ

खेलाडी उत्पादनको मुख्य थलो विद्यालयलाई मानिन्छ। प्रतिभावान खेलाडी विद्यालय, जिल्ला, प्रदेश, राष्ट्रियस्तरमा उच्च प्रदर्शन गर्दै राष्ट्रिय टोलीसम्मको यात्रा तय गर्छन्।

त्यसअर्थमा राष्ट्रिय खेलाडी बन्नका लागि पहिलो आधार भनेको विद्यालय नै हो। राष्ट्रिय खेलाडी बन्ने सपना धेरैमध्येबाट केहीको मात्र त्यो सपना पूरा हुन्छ। छनोट चरणबाट अघि बढ्दै जाँदा कतिको खेल यात्रा जिल्ला, प्रदेशमै पुगेर टुंगिन्छ। 

हरेक चरणमा खेलाडीको प्रदर्शनमा आएको सुधार जाँच्नका लागि प्रतियोगिता आवश्यक हुन्छ। प्रशिक्षण जति आवश्यक छ, त्यति नै प्रतियोगिता पनि हुन जरुरी हुन्छ। प्रतियोगिताले आफूमा भएको क्षमता प्रदर्शन र भविष्यमा सुधारका लागि मौका हो। 

विद्यालयस्तरको प्रतियोगिता खेलाडी उत्पादनका लागि महत्वपूर्ण थलो हो। तर, ती प्रतियोगिता पनि व्यवस्थित रुपमा हुन सकेका छैनन्। राष्ट्रिय स्तरमा उच्च प्रदर्शन गर्ने खेलाडीलाई कसरी अघि बढाउने भन्ने विषयमा प्रदेश खेलकुद वा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कुनै योजना सार्वजनिक गरेको छैन।

प्रतिभा भएका खेलाडीलाई उपयुक्त वातावरण र प्रशिक्षणको व्यवस्था गर्न सकिएन भने उनीहरुबाट भविष्यमा उच्च प्रदर्शनको आशा गर्नु अन्याय हुन्छ। 

खेलाडी उत्पादनको मुख्य थलो भनेको विद्यालय हो भने उनीहरुको प्रतिभा मापनको थलो प्रतियोगिता हो। विद्यालयमा हुँदा हरेकले कुनै न कुनै खेलमा रुची देखाउँछन्। उपयुक्त वातावरण र प्रशिक्षणको अभावमा कतिको रहर विद्यालयमा रहँदै मरिसक्छ। त्यसमध्ये थोरै खेल्छन्। 

जिल्ला, प्रदेशको छनोट सकेको छोटो समयमै केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्ड खेल्नु पर्ने विद्यालयस्तरका खेलाडीको बाध्यता छ।

गत साता काठमाडौंमा सम्पन्न १२ औँ केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड पनि त्यसकै अर्को उदाहरण हो। 

छोटो तयारीका बीच हतारमा प्रतियोगिता गरिँदा यसले खेलाडीमा शारीरिकसँगै मनोवैज्ञानिक दबाब पर्ने निश्चित छ। कम समयको तयारीले उनीहरूले आफूमा भएको कमजोरी सुधार्ने वा पहिलाको भन्दा राम्रो नतिजा निकाल्नै समस्या हुन्छ। मानसिक र शारीरिक रुपमै उनीहरु तयार हुँदैनन्। 

छोटो तयारीमा केन्द्रले मात्र हैन प्रदेशले पनि प्रतियोगिताका लागि कति समय र लगानी गर्यो भन्ने महत्वपूर्ण छ। अहिलेको प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने खेलाडी मध्ये नै कतिपय भविष्यका राष्ट्रिय टोलीमा देखिने अनुहार हुन्। त्यसैले पनि ति खेलाडीमाथि संघ र प्रदेशले लगानी गर्नुपर्ने हो, तर त्यस्तो वातावरण देखिँदैन। 

राष्ट्रपति रनिङ शिल्ड आर्थिक वर्षको अन्त्यमा पारेर गर्नुले प्रतियोगिता बजेट सक्नकै लागि भएपनि जसरी पनि गर्नुपरेको जस्तो देखिन्छ। प्रतियोगिताको व्यवस्थापनदेखि समापनसम्मको भद्रगोलले पनि त्यो स्पष्ट पारेको छ। तीन दिनको प्रतियोगिताका लागि कति खर्च भयो, तयारीमा कति लाग्यो हिसाब किताब सार्वजनिक गर्ने परम्परा छैन।

राखेपले राष्ट्रपति रनिङ शिल्डलाई प्रतिभा पहिचानको अवसर भन्दा पनि कर्मकाण्डी रुपमा आयोजना गर्दै आएको छ भन्दा फरक पर्दैन।  

राष्ट्रपति रनिङ शिल्डलाई नयाँ खेलाडीको प्रतिभा प्रदर्शनका लागि मुख्य प्रतियोगिताको रुपमा पनि लिइन्छ। त्यस्तै, प्रतियोगिता खेलेर विस्तारै उनीहरुले खेल जीवनमा प्रवेश गरेका हुन्छन्। कतिपय प्रतिभावान खेलाडीलाई विभागीय टोली (सेना, प्रहरी र शसस्त्र) प्रहरीले आफ्नो क्लबमा भित्र्याउन प्रदर्शन हेरिरहेका हुन्छन्। 

हतारमा नै गरिएको राष्ट्रपति रनिङ शिल्डमा चार कीर्तिमान बने। ती चारै कीर्तिमान लुम्बिनी प्रदेशका खेलाडीको नाममा रह्यो। लुम्बिनी प्रदेशकी निशा चौधरीले मात्र २ व्यक्तिगत र एक टिम स्पर्धामा कीर्तिमान बनाइन्।

छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै कीर्तिमान कायम गरिन्। उनले शिला चौधरीले सन् २०१८ को अप्रिल २३ मा बनाएको ५.४५ मिटरको सिनियरको राष्ट्रिय कीर्तिमान भंग गरेकी थिइन्। १ सय मिटर दौड १२.५३ सेकेन्डमा पूरा गर्दै निशाले अर्को नयाँ जुनियर राष्ट्रिय कीर्तिमान आफ्नो नाममा गरिन्। 

त्यस्तै, ४ गुणा १ सय मिटर रिले निशाले रेशु थारु, रामकुमारी थारु र सम्झना थारुसँग मिलेर ५४.२० सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान बनाइन्। 

छात्र लङजम्पमा सुदिप थारुले ६.६५ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाए। यी कीर्तिमान कायम गर्ने खेलाडीलाई भविष्यमा राष्ट्रिय टोलीसम्म ल्याउन लगानी गर्न जरुरी छ। 

राष्ट्रपति रनिङ शिल्डमा लुम्बिनी प्रदेश साबिक विजेता हो। यो पटक लुम्बिनी प्रदेशले प्रतियोगिताको लागि तयारी गर्ने मौका नै पाएन।

छोटो समयको बाबजुद आफूहरुले तयारी गर्न नपाएको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले बताए। 

उनले भने, ‘हामीसँग लामो समय थिएन, जिल्लालाई पहिला नै तयारी गर्न भनेका थियौँ। त्यसैले केही सहज भयो। प्रदेश छनोटदेखि प्रतियोगितासम्मका लागि १ हप्ताको समयमात्र थियो। अहिलेको समयमा छोटो समयभन्दा पनि प्रतियोगिता भएको कारण यसलाई सकारात्मक रुपमा लिन पर्छ।’ 

छोटो तयारीमा खेलाडी बटुलेर राष्ट्रिय स्पर्धामा आउँदा त्यसले सकारात्मकभन्दा पनि नकारात्मक प्रभाव पारिरहेको छ।

नाम नखुलाउने शर्तमा एक प्रशिक्षकले भने, ‘पर्याप्त तयारी पनि भएन। खेलाडी उत्पादनमा चासो नदिने तर राष्ट्रिय प्रतियोगिता खेल्नुपर्छ भन्ने मान्यता मात्रै राख्दा पनि खेलाडीमा मनोवैज्ञानिक रुपमा असर गर्ने रहेछ। खेलाडी छैनन्, क्लबमा प्रशिक्षण गरिरहेका खेलाडीलाई बोलाएर खेलाडी संख्या पुराउनुपर्ने बाध्यता थियो।’ 

राखेपका विभागीय प्रमुख मधुसुदन बस्नेतले जिल्ला र प्रदेश छनोटका लागि बजेट पहिले नै गइसकेको जनाउँदै बजेट सक्नका लागि मात्र नभएर प्राविधिक कारणले राष्ट्रपति रनिङ शिल्ड आयोजनाका लागि ढिलाई भएको बताए। 

उनले भने, ‘अहिले राष्ट्रपति रनिङ शिल्डको कार्यविधि परिवर्तन गुर्नपर्ने भएकाले समय त ढिला नै भएको हो। तर कार्यक्रम गर्नैपर्छ भनेर पाँच प्रदेश सहभागी भएपनि प्रतियोगिता गरेको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .