ad ad

खेल


आउँदै अलमुताइरी, कस्तो होला एन्फा र खेलाडीसँगको सम्बन्ध?

पुराना कुरा बिर्सेर फुटबल विकासमा लाग्न तयार छौँ : महासचिव राई
आउँदै अलमुताइरी, कस्तो होला एन्फा र खेलाडीसँगको सम्बन्ध?

लक्ष्मी जि.सी
असार १६, २०७९ बिहिबार १४:२, काठमाडौँ

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किने भएका छन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ नेतृत्व आएसँगै अलमुताइरी फर्किने नफर्किने दोधारमा नेपाली फुटबल बृत्त गुज्रिँदै आएको छ। 

यसैबीच अलमुताइरी नेपाल फर्किने एन्फाका नवनिर्वाचित महासचिव किरण राईले बताएका छन्। अलमुताइरी आगामी सेप्टेम्बरमा नेपाल फर्किने पक्का भएको छ।

‘कमिटीले मलाई उहाँसँग छलफल गरेर आवश्यक समन्वय गर्न जिम्मेवारी दिएकाले कुराकानी भइरहेको छ’, नेपालखबरसँगको कुराकानीमा राईले भने, ‘अहिले उहाँ उपचारमा भएकाले आराम गरिरहनु भएको छ। सेप्टेम्बरमा नेपाल आउने कुरा भएको छ। उहाँ आएपछि बाँकी छलफल हुन्छ।’ 

प्रशिक्षक अलमुताइरीले केही समयअघि तत्कालीन वरिष्ठ उपाध्यक्ष एवम् वर्तमान एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङका कारण राजीनामा दिन लागेको फेसबुकमा लेखेपछि सम्बन्ध बिग्रिएको थियो। 

अहिले उनै नेम्वाङको काँधमा एन्फाको नेतृत्व पुगेपछि विवादको निकासका विकल्पबारे फुटबल वृत्तमा चासो छ। 

‘विवादको पाटो हिजै सकिएको छ। त्यो चुनाव अगाडिको कुरा हो। नयाँ नेतृत्व आइसकेकाले पुराना र नराम्रा कुरा छाडेर नयाँ तरिकाले कमिटी अगाडी गएर फुटबल विकासमा लाग्ने हो’, महासचिव राई भन्छन्, ‘तर पनि कतिपय छलफल आवश्यक हुन्छन्। त्यो छलफलपछि सबैसँग परामर्शका आधारमा एन्फा अघि बढ्छ।’

राष्ट्रिय टोलीको प्रशिक्षक अलमुताइरी नै भएकाले आफुहरुलाई कुनै समस्या नभएको राईले बताए। 

‘अहिलेसम्म उहाँलाई हटाइएको छैन, अर्को निर्णय नभएसम्म उहाँ नै प्रशिक्षक हो’, उनले भने, ‘तर अहिले अलमुताइरीले बिरामी छु भनेकाले धेरै छलफल गर्न पाएका छैनौँ।’

अहिले एन्फामा अलमुताइरीलाई प्रशिक्षक राखिरहने वा हटाउनेबारे केही कुराकानी भएको छैन। तर अलमुताइरीसँग वर्तमान नेतृत्वले समन्वय र छलफल थालेको छ।

अलमुताइरी कतार फुटबल संघसँगको सहकार्यमा नेपाल आएका हुन्। अलमुताइरीलाई कतार फुटबल संघले मासिक पारिश्रमिक दिन्छ, एन्फाले खाने बस्ने व्यवस्था मात्रै गर्ने हो।

'फुटबलका माध्यमबाट हामीबीच मित्रराष्ट्रसँग सम्बन्ध मजबुत बनाउने भन्ने हो। प्रशिक्षकसँगको सम्बन्ध भनेको फरक कुरा हो', राईले थपे, 'कतारका कारण अलमुताइरीलाई राख्ने वा हटाउने भन्ने होइन। अलमुताइरी नेपाल आएपछि छलफल गरेर निष्कर्ष निकाल्छौँ।'

पछिल्लो समय खेलाडी र प्रशिक्षकको विवादले पनि चर्चा पाएको थियो। खेलाडीले सामान्य सुविधाको कुरा उठाउँदा अलमुताइरीले क्याम्प छाडेर जान निर्देशन दिएपछि तनाव बढेको थियो। 

१० सिनियर खेलाडीलाई क्याम्पबाट निकालेका अलमुताइरीले उनीहरुलाई साथ दिएकै कारण कप्तान किरण चेम्जोङलाई पनि टोली बाहिर राखे। 

तर नेम्वाङ नेतृत्वमा आएपछि एन्फाको पहिलो बैठकले क्याम्पबाहिर पठाइएका १० खेलाडीलाई पनि टोलीमा फर्काउने निर्णय गरेको थियो। 
नयाँ खेलाडीलाई मौका दिएका अलमुताइरी स्वदेश फर्किएपछि सिनियर खेलाडीसँगको सम्बन्धबारे जिज्ञासा सुरु भएको छ। यस्तो अवस्थामा अलमुताइरीसँग प्रशिक्षण गर्न गाह्रो हुने खेलाडीले बताएका थिए।

एन्फामा नयाँ नेतृत्व आएसँगै अलमुताइरीले नेपाल नफर्किने संकेत गरेका थिए। सामाजिक सञ्जालमा स्टोरी पोष्ट गरेका उनले केही समयमै हटाए। 

पछिल्लो समय अलमुताइरीले नेपाल फर्किने संकेत गरेका छन्। केही दिनअघि उनले फेसबुकमा स्टोरी पोष्ट गर्दै अबको लक्ष्य फिफा विश्वकप २०२६, एशियन कप २०२७ छनोट र साफ कप २०२३ रहेको बताएका थिए। 

खेलाडी–प्रशिक्षक विवादमा छानविन समितिले पनि अलमुताइरीको विकल्प खोज्न निष्कर्ष निकालेको थियो। तर, अलमुताइरीलाई फिर्ता पठाएमा कतारले नेपाललाई गर्दै आएको सहयोग रोक्ने डर छ। त्यहीकारण पनि उनलाई नै निरन्तरता दिनुपर्ने बाध्यतामा एन्फा रहेको चर्चा छ। 

तर महासचिव राईले यो एन्फा परिवारभित्रको कुरा भएको बताएका छन्। ‘खेलाडी र प्रशिक्षकको विवाद हाम्रो हो। यसमा कतारलाई मुछ्न जरुरी छैन’, उनले भने, ‘खेलाडी, कोच र एन्फाको कुरा परिवारभित्रको हो। त्यसलाई हामी मिलाउँछौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .