ad ad

खेल


सिसडोलमा रंगशाला बनाउने बालेन्द्रको योजना

सिसडोलमा रंगशाला बनाउने बालेन्द्रको योजना

नेपालखबर
असार ५, २०७९ आइतबार ७:३७, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नुवाकोटको ल्यान्डफिल्ड साइट सिसडोलमा रंगशाला बनाउनेबारे छलफल अघि बढाएका छन्। 

ग्रासरुट फुटबल र रंगशाला निर्माण गर्नेबारे बालेन्द्रले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा अध्यक्षका उम्मेदवार पंकजविक्रम नेम्वाङसँग छलफल गरेका छन्।

महानगरका क्लबबाट खेल्ने खेलाडी उत्पादन गर्नको लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्न मेयर शाहले चाहेको उनको सचिवालयले जानकारी दिएको छ। 

‘लिग खेल्ने काठमाडौंका क्लबमा बाहिरका खेलाडीकै वर्चस्व छ, स्थानीय खेलाडी टिममा हुनै छाडेको छ, त्यसैले महानगरका क्लबबाट खेल्ने खेलाडी उत्पादन गर्नको लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहन्छौं,’ मेयर बालेन्द्रको भनाई उदृत गर्दैै सचिवालयले भनेको छ, ‘हामी  सिसडोलको ल्यान्डफिल साइट जुन काठमाडौंभन्दा १२ किलोमिटर मात्र टाढा छ। अहिलेको फोहोरलाई उचित व्यवस्थापन गरेर  सुन्दर रंगशाला तथा पार्क निर्माण गर्न चाहन्छौं।’ 

आज पहिलो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बालेन्द्र

टुँडिखेल लगायत महानगरका अन्य पार्क र मैदानमा राति खेल्न मिल्ने गरी फ्लडलाइट जडान गर्ने पनि उनले बताएका छन्। 

अहिले पनि काठमाडौं महानगरले महानगर मा भएको ए डिभिजनको क्लबहरु लाई प्रत्येक वर्ष १० लाख दिने गरेको छ ।

नेपाली फुटबलको विकास, विस्तार र कार्यक्रमबारे मेयर बालेनसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै हाल एन्फामा वरिष्ठ उपाध्यक्ष रहेका नेम्वाङले भने, ‘हामी महानगरमा फुटबलको विकास र कार्यक्रममा सञ्चालनमा सहकार्य गर्न तयार छौं । सुशासन, आर्थिक पारर्शीता, विकेन्द्रकरणलाई व्यवहारमा लागू गर्दै नेपाली फुटबललाई अगाडि बढाउन चाहन्छौं । यही सिस्टम बसाल्नकै लागि एन्फामा नेतृत्वको लागि चुनावी मैदानमा आएको छु । चुनाव जित्नेमा विश्वस्त छु ।’

छलफलमा उनीसहित उपाध्यक्षका उम्मेदवार दावा लामा (अहिलेका केन्द्रीय सदस्य) र नवीन पाँडे (फुटबल फ्यान एवम् एन्फाका विदेश विभागका पूर्वप्रमुख) थिए।

केन्द्रीय सदस्यको रुपमा दुई दशकअघि एन्फामा प्रवेश गरेका नेम्वाङ २०७४ सालमा उपाध्यक्ष निर्वाचित भएको एक वर्षपछि वरिष्ठ उपाध्यक्ष चुनिएका थिए। 

एन्फा केन्द्रीय कार्यसमितिको निर्वाचन राजधानीमा सोमबार हुँदै छ, जहाँ बेग्लाबेग्लै प्यानलसहित अहिलेको अध्यक्ष कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङ नेतृत्वको दौडमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .