ad ad

खेल


मलेसियामा नेपाली महिला टोलीको दोस्रो जित, कुवेत २५ रनले पराजित

मलेसियामा नेपाली महिला टोलीको दोस्रो जित, कुवेत २५ रनले पराजित

नेपालखबर
असार ४, २०७९ शनिबार १६:३२, काठमाडौँ

मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत शनिबार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हराएको छ।

यससँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ।

किनरारा ओभलमा शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको हो। 

नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७  विकेट गुमाएर ८२  रन मात्र बनाउन सक्यो। 

कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक ३१ रनको पारी खेल्दा मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन जोडिन्। 

कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सीता राना मगरले दुई विकेट निकाल्दा अश्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले समान एक/एक विकेट लिए।

जितसँगै नेपालले दुई खेलबाट ४ अंक जोडेको छ। समूह बी मा रहेको नेपाल तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ। पराजित कुवेतको तालिकामा १ अंक छ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रनको योगफल बनाएको थियो। 

नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक अविजित ३४ रनको योगदान गरिन्।  २७ बलको सामना गरेकी रुबिनाले चार चौका प्रहार गरिन्। 

त्यस्तै इन्दु बर्माले २८ रन जोड्ने क्रममा ३३ बलको सामना गर्दा २ चौका चट्काइन्। 

यस्तै ज्योति पाण्डेले १५ रन जोड्दा विन्दु रावलले ११ रनको स्कोर गर्ने क्रममा क्याच आउट भइन्।

सीता राना मगर र काजल श्रेष्ठले समान ५/५ रनको पारी खेल्दै पवेलियन फर्किए।

बलिङतर्फ कुवेतका लागि मारिमा हेदरले दुई विकेट लिइन्। मारियम ओमार र खादिला खाजिलले एकएक विकेट लिइन्।

यस अघि च्याम्पियनसिपको  पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गर्दै विजयी सुरुआत गरको थियो। उता कुवेतले भने बर्षाका कारण बहराइनसँग अंक बाँडेको थियो। 

च्याम्पियनसिप अन्तर्गत नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ। 

१० टोलीले सहभागिता जनाएको प्रतियोगितामा सहभागि टोलीलाई आयोजक दुई समूहमा विभाजन गरको छ। 

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन भने फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .