खेल


साग उद्घाटन आज, दशरथ रंगशालामा भव्य तयारी

साग उद्घाटन आज, दशरथ रंगशालामा भव्य तयारी

नेपालखबर
मंसिर १५, २०७६ आइतबार ०:४९,

दक्षिण एसियाका नेपालसहित सात राष्ट्रको सहभागिता रहने खेलकुदको महाकुम्भ दक्षिण एसियाली खेलकुद (साग)को १३औं संस्करण आज (आइतबार) काठमाडौंमा भव्य रूपमा उद्घाटन गरिँदै छ।

बीस वर्षपछि नेपालमा आयोजना हुन लागेको सागको दशरथ रंगशालामा भव्य तरिकाले उद्घाटन गर्न लागिएको हो।  दिउँसो ३ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गर्ने कार्यक्रम छ।

साग समारोह समितिका निर्देशक कुलबहादुर थापाका अनुसार उद्घाटन समारोह ३ घण्टाभन्दा बढी समयसम्म चल्नेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्दै १३औं सुरु भएको घोषणा गर्नेछिन्।

यसपछि साग एकसाथ काठमाडौँ, पोखरा र जनकपुरमा सुरु हुँदै छ ।

उद्घाटन समारोह नै प्रतियोगिता र आयोजक देशको पहिचान देखाउने अनुहार हो,’ निर्देशक थापाले भने, ‘हामीले नेपालको कला, संस्कृतिको अनुहार उद्घाटनमा देखाउँदै छौँ।’

78399520 426883647989702 81844828073099264 n

उद्घाटन समारोहको पहिलो घण्टामा अन्तर्राष्ट्रिय परम्परा अनुसार देशभर घुमाएर ल्याइएको ओलम्पिक टर्चबाट दीप प्रज्वलन गर्ने, झण्डोत्तोलन गर्ने, सपथ ग्रहण गर्ने, स्वागत मन्तव्य राख्ने तथा राष्ट्रपतिद्वारा उद्घाटन तथा सम्बोधनको कार्यक्रम राखिएको छ।

यसपटक दीप प्रज्वलन सागमा लगातार चारपटक स्वर्ण जितेका कीर्तिमानी खेलाडी दीपक विष्टले गर्नेछन्। यस्तै दीपककी धर्मपत्नी समेत रहेकी सागकी अर्की स्वर्णधारी आयशा शाक्यले खेलाडीका तर्फबाट सपथ लिने कार्यक्रम तय भएको थापाले बताए।

त्यस्तै ब्याडमिन्टनका अम्पायर दीपक थापाले निर्णायकका तर्फबाट सपथ लिने भएका छन्। सन् २०१६ को रियो ओलम्पिकको ब्याडमिन्टनमा समेत उनले लाइन जजको भूमिका निर्वाह गरिसकेका छन्।

त्यसपछिको बाँकी समयमा मार्चपास तथा कला संस्कृतिको प्रदर्शनी हुनेछ। मार्चपासमा खेलाडी, अफिसियल, पदाधिकारी, प्रतिनिधिहरु सहभागी हुनेछन्।

मार्चपासमा नेपालको झण्डा ओलम्पियन तथा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने छन्। यसअघि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारससहित कमलको नाम झण्डा बोक्ने खेलाडीमा सिफारिस भएको थियो तर कार्यकारी समितिको बैठकले कमललाई उक्त जिम्मेवारी दिएको हो। कमलले यसअघि गतवर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा समेत नेपालको झण्डा बोकेका थिए।

1 Dasharath stadium

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका गरि झण्डै १५ हजार जनाको प्रस्तुति उद्घाटन र समापन समारोहमा रहने थापाले बताए। उद्घाटनमा सशस्त्र प्रहरीका साढे चार हजार, सेनाका साढे एक हजार, प्रहरीका एक हजार, विद्यार्थी तीन हजार, झाँकी समूहका चार हजार, व्यावसायिक कलाकार तीन सय जनशक्ति प्रयोग हुनेछ।

उद्घाटन कार्यक्रममा लेजर बिम, लाइटिङ तथा ड्रोनबाट समेत विशेष प्रस्तुतीको तयारी भएको थापाले बताए। त्यसबाहेक ५ सय जनाले नेपाली मौलिक बाजाहरु घन्काउनेछन्। मुकुन्द शर्माको रचना, प्रकाश गुरुङको संगीतमा आनन्द कार्की, कुन्ती मोक्तान, इन्दिरा जोशी र सत्यराज आचार्यलगायतको गायन टोलीले सार्क गीत गाउने समेत कार्यक्रम छ। अन्तिममा आतिसबाजीसहित उद्घाटन समारोहको समापन हुनेछ।

यस खेलकुद मेला सुरु भएको खुसी साट्न आइतबार साँझ तीन घण्टा १४ मिनेटको उद्घाटन समारोह हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्दै १३औँ साग सुरु भएको घोषणा गर्नुहुने छ ।

मार्चपासमा खेलाडी, अफिसियल, पदाधिकारी, प्रतिनिधिहरु सहभागी हुनेछन्। मार्चपासमा नेपालको झण्डा ओलम्पियन तथा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने छन्।

३ सय १७ स्वर्णका लागि प्रतिस्पर्धा
काठमाडौ, पोखरा र जनकपुरमा हुने १३ औं सागमा ३ सय १७ स्वर्ण, त्यतिनै रजत र ४ सय ८१ कास्य पदकका लागि स्पर्धा हुँदैछ।
यसअघि १९९९ मा भएको आठौं सागमा नेपालले ३१ पदक हात पारेको थियो। उक्त कीर्तिमानलाई तोड्दै नेपालले यसपटक कम्तीमा ५० वटा स्वर्ण पदक ल्याउने लक्ष्य राखेको राष्ट्रिय खेलकदु परिषद् ९राखेप०का सदस्यसचिव रमेशकुमाल सिलवालले बताए। राखेपले २१ खेलका खेलाडी वैदेशिक प्रशिक्षणमा पठाउनुका साथै बाँकी खेलका विदेशी प्रशिक्षकलाई स्वदेशमा झिकाएर प्रशिक्षण गराएको थियो।

सागमा स्विमिङमा सर्वाधिक ३८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। यसैगरी एथ्लेटिक्समा ३६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा उसुमा २२ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। तेक्वान्दोमा २९, भारतोलन, कुस्ती र सुटिङमा २०–२० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। करातेमा १९ तथा बक्सिङमा १६ स्वर्ण पदकका लागि भिडन्त हुनेछ। यसैगरी जुडोमा १५ ,फेन्सिङमा १२ र आर्चरीमा १० स्वर्ण पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

यस्तै साइक्लिङमा ८, ब्याडमिन्टन, टेबल टेनिस र टेनिसमा ७–७, ट्रायथलनमा ५ वटा स्वर्ण, स्क्वास र गल्फमा ४, बास्केटबल, थ्री बाई थ्री बास्केटबल, क्रिकेट, फुटबल, ह्यान्डबल, कबड्डी, खो खो, भलिबल र बिच भलिबलमा २–२ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।

राखेपका अनुसार खेल अवधिभर सात देशका २ हजार ९ सय १० खेलाडी र ७ सय ६९ अफिसियल सहाभागी हुनेछन्। सागमा नेपालबाट सर्वाधिक ५ सय ९४ खेलाडीले सहभागिता जनाउँदै छन्। त्यस्तै व्यवस्थापक तथा प्रशिक्षक गरि एक सय ८६ ले पनि सहभागिता जनाउने छन्। भारतबाट ५ सय ३५ खेलाडी र १ सय ६७ अफिसयलले सहभागिता जनाउँदै छन्।

बंगलादेशबाट ४ सय ७८ खेलाडी र १ सय ४७ अफिसियल, पाकिस्तानबाट ३ सय ७८ खेलाडी र १ सय ५ अफिसियल, श्रीलंकाबाट ५ सय ५६ खेलाडी र १ सय ८३ अफिसियल, माल्दिभ्सबाट २ सय ५२ खेलाडी र ६८ अफिसियल गरि जम्मा ३७ सय ९ जना खेलाडी, प्रशिक्षक र व्यवस्थापकले सहभागिता जनाउँदैछन्।

उद्घाटनकै दिनमा चार खेल
सागको उद्घाटन दिन विभिन्न पाँच खेल हुँदैछन्। उद्घाटन अघि नै शुरु भएको पुरुष भलिबलका सेमिफाइनलमा खेलहरु उद्घाटन दिन नै हुँदैछन।

यस्तै अर्को आयोजना स्थल पोखरामा उद्घाटन दिनमा ब्याटमिन्टन सुरु हुनेछ। यस्तै सातदोबाटोमा कराँते तथा कीर्तिपुरमा कबड्डी खेल सुरु हुनेछ। यसअघि उद्घाटन दिन नै फुटबल हुने तालिका रहे पनि अन्तिममा भारतले सहभागिता नजनाउने भएपछि उद्घाटनको दोस्रो दिन सोमबारबाट मात्रै दशरथ रंगशालामा पुरुष फुटबल सुरु हुनेछ।

सवारीसाधनमा जोर-बिजोर नियम
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३औँ सागको उद्घाटन र समापन समारोहको अवसरमा सवारीसाधनको चाप व्यवस्थापन गर्न जोर–बिजोर नियम लागू गरेको छ।

यत्तिकै पनि सवारीसाधनको चाप बढी हुने काठमाडौंमा सागको उद्घाटन र समापनका दिन जोर-बिजोर नियम लागू गरिएको हो।

उद्घाटनका दिन आइतबार बिजोर र समापनका दिन २४ मंसिरमा जोर नम्बर प्लेटका सवारीसाधन मात्रै चलाउने पाइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad