ad ad

खेल


फुटबलमा दुई महादेशीय शक्तिको भिडन्त : इटालीले तोड्ला ४० वर्षदेखिको हारको शृंखला?

फुटबलमा दुई महादेशीय शक्तिको भिडन्त : इटालीले तोड्ला ४० वर्षदेखिको हारको शृंखला?

नेपालखबर
जेठ १८, २०७९ बुधबार १२:३०, काठमाडौँ

दुई महादेशीय प्रतियोगिता युरोकप र कोपा अमेरिका विजेताबीचको महाभिडन्त बुधबार राति हुँदै छ।

युरोकप च्याम्पियन इटाली र कोपा अमेरिका विजेता अर्जेटिनाबीचको खेल मध्यराति साढे १२ बजे लन्डनस्थित वेम्बली स्टेडियममा हुनेछ। 

दुई महादेशका शक्तिशाली फुटबल टोलीबीच तेस्रोपटक प्रतिस्पर्धा हुन लागेको हो। 

युरोकपमा इङल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटालीले उपाधि जितेको थियो। उता कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई १–० ले पराजित गर्दै उपाधि उचालेको हो।  

यसअघि १९८५ मा भएको खेलमा फ्रान्सले उरुग्वेलाई र अर्जेन्टिनाले डेनमार्कलाई १९९३ मा पराजित गरेका थिए। 
यो प्रतियोगिता इटालीका कप्तान जर्जियो चिलिनेका लागि अन्तिम खेल हुनेछ। ३७ वर्षीय चिलिनेले लामो अन्तराष्ट्रिय खेल जिवनलाई बिट मार्नेछन्। यता अर्जेन्टिनाका कप्तान मेस्सीले देशका लागि जितेको ठूलो उपाधि हो। 

इटालीलाई ४० वर्षदेखि हारको श्रृंखला तोड्ने अवसर 
यी दुई टोलीबीचको पछिल्ला खेलमा अर्जेन्टिना हाबी हुँदै आएको छ। पछिल्ला ४० वर्ष इटालीले अर्जेन्टिनालाई पराजित गर्न सकेको छैन।

सन् १९८२ को वर्ल्डकपको दोश्रो चरणमा इटालीले अर्जेन्टिनालाई २–१ ले पराजित गरे यता जितविहीन छ। 

त्यसयता यी दुई टोली ५ पटक आमनेसामने भएका छन्। सन् १९८६ मा १–१ को बराबरी खेले पनि त्यसपछि लगातार अर्जेन्टिना हाबी छ।

सन् १९९० को वर्ल्डकपमा अर्जेन्टिनाले २–१ ले पराजित गरेको थियो। २००१ को मैत्रीपूर्ण खेलमा पनि अर्जेन्टिनाले २–१ कै जित निकालेको थियो।

त्यसपछि पनि यी दुई टोलीबीच ठूला प्रतियोगितामा भेट भएको छैन। सन् २०१३ मा मैत्रिपूर्ण खेल खेलेका थिए। त्यतिबेला पनि अर्जेन्टिनाले २–१ कै नतिजा निकालेको थियो। २०१८ को मैत्रीपूर्ण खेलमा इटाली २–० ले पराजित भएयता यी दुई टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन्। 

खराब लयमा इटाली 


युरोकपमा लगातार ठूला टोलीलाई पन्छाउँदै उपाधि जितेको इटाली त्यसपछि खराब लयमा छ। केही महिनापछि कतारमा हुने विश्वकप छनौटबाट बाहिरिसकेको इटालीका पछिल्ला रेकर्ड पनि खराब छन्। 

युरोकपमा टर्कीलाई ३–० ले जितेको इटालीले स्वीट्जरल्याण्डलाई पनि ३–० ले नै पराजित गरेको थियो। समूह चरणमै वेल्स १–० ले पराजित भयो। नकआउट चरणमा पनि इटालीले लय छाडेन। अन्तिम १६ मा अष्ट्रियालाई २–१ ले निराश बनाउँदै घर पठायो। 

त्यतिबेला फिफा वरीयतामा पहिलो नम्बरमा रहेको बेल्जियम पनि २–१ ले नै पराजित हुँदा इटालीले सेमिफाइनलमा स्पेनसँगको भेट पक्का गरेको थियो। सेमिफाइनलमा निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा पुग्यो। टाइब्रेकरमा स्पेनलाई ४–२ ले पराजित गर्दै इटाली युरोको उपाधितर्फ अघि बढ्यो। 

युरोकपको फाइनलमा पनि निर्धारित समय इंग्ल्याण्ड र इटालीले १–१ को बराबरी खेले। टाइब्रेकरमा ३–२ ले पराजित गर्दै इटालीले इतिहास रच्यो। 

तर त्यसपछि भने इटालीले लय गुमाउँदै गयो। वर्ल्डकप छनोटमा स्वीट्जरल्याण्ड र उत्तरी आयरल्याण्डसँग बराबरी खेल्दै ४ अंक गुमायो। त्यसपछि नर्थ म्याक्सेडोनियासँग १–० को हार व्यहोर्दा इटालीले दोश्रो पटक विश्वकप गुमाउनु पर्‍यो। विश्वकप यात्रा टुंगिए पछिको मैत्रिपूर्ण खेलमा उसले टर्कीलाई ३–२ ले पराजित गरेको छ। 

उत्साहित अर्जेन्टिना


युरोकपको तुलनामा कोपा अमेरिका सहज प्रतियोगिता मानिन्छ। यो खेलका लागि लन्डनमा पुगेका मेसीले नै भनेका छन्, ‘युरोकपमा धेरै ठूला टोली छन्। कोपा अमेरिकामा बलिया २ टोलीलाई हराउन सके उपाधि जित्न सकिन्छ।’

उपाधिकै हिसाबले हेर्दा अर्जेन्टिनाले भन्दा ठूला टोलीलाई हराएर इटालीले उपाधि जितेको हो। तर अर्जेन्टिना इतिहासकै बलियो लयमा छ। विश्वकप छनोटको अन्तिम खेल बाँकी हुँदासम्म अर्जेन्टिना अपराजित छ। 

अन्तिम खेल ब्राजिलसँग खेल्न बाँकी छ। जसलाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि उचालेको थियो। विश्वकप छनोटमा पनि यी दुई टोलीले बराबरी खेलेका थिए। 

कोपा अमेरिकाको उपाधि तय गर्दा समूहचरणको पहिलो खेलमा अर्जेन्टिना चिलीसँग बराबरी खेलेको थियो। उरुग्वे र पाराग्वे समान १–० ले पराजित भए। 

बोलिभिया ४–१ ले क्वार्टर फाइनलमा पराजित हुँदा सेमिफाइनलमा भने कोलम्बियाले कडा चुनौती दियो। निर्धारित समय १–१ को बराबरी भएपछि टाइब्रेकरमा ३–२ ले पराजित गर्दै यो टोली देशका लागि पहिलो ठूलो उपाधि नजिक पुग्यो। २२ औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दा अर्जेन्टिनाको लण्डन यात्रा तय भयो। 

वर्ल्डकप छनोटका पछिल्ला ५ खेलमा अर्जेन्टिनाले ब्राजिल र इन्वेडरसँग बराबरी खेलेको छ भने भेनेजुयला ३–०, कोलम्बिया १–० र चिली २–१ ले पराजित भएका छन्। 

अपराजित र उत्साहित अर्जेन्टिनासँग वर्ल्डकप गुमाएर निराश इटाली ४० देखिको हारको श्रृंखला तोड्न चाहन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .