ad ad

खेल


बजेटप्रति खेलकुद क्षेत्र : खासै उत्साहित हुनुपर्ने अवस्था छैन

बजेटप्रति खेलकुद क्षेत्र : खासै उत्साहित हुनुपर्ने अवस्था छैन

लक्ष्मी जि.सी
जेठ १६, २०७९ सोमबार १६:९, काठमाडौँ

सरकारले हरेक वर्ष सार्वजनिक गर्ने बजेटमा खेलकुद सधैँ उपेक्षामा पर्दै आएको छ। 

अघिपछि खेलकुदलाई सरकारले प्राथमिकतामा राख्ने बताए पनि बजेटले भने त्यो अनुभूति दिन सकेको छैन।

यो पटक पनि सरकारले ल्याएको बजेटले खेल क्षेत्र खासै उत्साहित देखिनुपर्ने कारण छैन। 

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आइतबार संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्दै युवा तथा खेलकुदका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए। जुन कुल बजेटको ०.१४ प्रतिशत मात्रै हो। 

राज्यबाट सधैँ उपेक्षामा पर्दै आएको खेलकुदका लागि केही कार्यक्रमले यो वर्ष पनि निरन्तरता पाउँदा केही नयाँ कार्यक्रम पनि समेटिएका छन्। 

समग्रमा युवा तथा खेलकुदका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको घोषणा गरे पनि युवातर्फ कति र खेलकुदका लागि कति भनेर घोषणा भएन। शीर्षकगत विनियोजन बजेट मंगलबारसम्ममा आइपुग्ने युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले बताए। 

राखेपका पूर्वसदस्यसचिव युवराज लामाले यो बजेटबाट खासै उत्साहित हुनुपर्ने अवस्था नभएको बताए। 

उनले बजेटप्रति टिप्पणी गर्दै भने, ‘यो बजेट नियमित नै छ, धेरै परिवर्तन भएको छैन। पहिला पहिला मन्त्रालयको बजेट कम हुन्थ्यो खेलकुदको बढी हुन्थ्यो। अहिले खेलकुदको कम छ मन्त्रालयको बढी।’ 

यो केन्द्रको बजेट भएको उल्लेख गर्दै उनले प्रदेशले पनि विनियोजन गर्ने र त्यो सबैलाई जोड्दा बढेको बताए। 

‘तर अनियन्त्रित कार्यक्रम आएको छ। जथाभावी रुपमा पूर्वाधार निर्माण भनेको छ, एकीकृत पोलिसी बनेको अवस्था छैन’, उनले थपे, ‘पालिकाबाट केन्द्रसम्म हेर्ने हो भने बजेट बढेको छ। तर नियमित बजेटमा कार्यक्रम बढेको छैन।’ 

लामा सदस्यसचिव हुँदा राष्ट्रिय टिम तयारीका लागि भनेर बजेट आउने गथ्र्यो तर पछिल्लो समय यो शीर्षकमा बजेट दिन छाडिएको छ। 

खेलकुद विकासका लागि मुख्य रुपमा आवश्यक पर्ने स्पोर्ट्स साइन्स एकेडेमी र युनिर्भसिटीका लागि बजेट विनियोजन नभएको लामाले बताए। खासगरी स्पोर्टस् साइन्सअन्तर्गत नयाँ प्रशिक्षकलाई प्रशिक्षण दिने, पुरानालाई अपग्रेड गर्ने भनेर स्पोर्टस् साइन्स एकेडेमीमा बजेट नछुट्याइएको उनको भनाइ छ। 

‘राष्ट्रिय टिम तयारीको त नाम नै लिएको देखिएन। अर्को विद्यालयलाई अपग्रेड गर्ने भनेर बजेट देखिन्न’, लामाले भने, ‘खेलकुदको विकास जहाँ हुन्छ त्यहाँ बजेट देखिँदैन। त्यसअर्थमा यो औपचारिक बजेट जस्तो मात्र देखिन्छ।’ 

उनले क्रान्तिकारी रुपमा नेपालको खेलकुदको परिवर्तन हुने खालको बजेट नआएको टिप्पणी गरे। बजेट विनियोजन गर्ने बेलामा विज्ञहरुसँग छलफल गर्नुभन्दा पनि आफैँ बसेर पुरानै बजेटमा थपथाप पार्ने काम मात्र भएको उनको भनाइ छ। 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ पनि बजेट पुरानै कार्यक्रमको निरन्तरताजस्तो देखिएको बताउँछन्। 

श्रेष्ठले भने, ‘मुख्य रुपमा खेलाडीका लागि राष्ट्रिय टिम तयारी र प्रशिक्षणका लागि बजेट आवश्यक पर्ने हो। तर त्यो शीर्षकमा बजेट छैन। खेलाडीलाई प्रत्यक्ष रुपमा लाभ लिनका लागि प्रशिक्षणका लागि बजेट आवश्यक पर्ने हो। हुन त पुर्वाधार पनि खेलाडीका लागि नै हो तर प्रशिक्षण बढी आवश्यक छ। बजेटबाट आएका रकममध्ये खेलाडीलाई न्यूनतम बजेट पनि पर्दैन।’ 

पूर्वाधार आदि भन्ने कुरा पहिला पनि आइरहेको हुनाले मुख्य कुरा व्यवस्थापन गरेर राम्रोसँग खर्च गर्नुपर्ने उनले बताए। 

पूर्वाधारका कति रकम फ्रिज भएर गइरहेको पनि देखिरहेकोले खर्चमा उनको जोड छ।  

के–के आए नयाँ कार्यक्रम? 
सरकारले यो पटक केही नयाँ कार्यक्रम पनि थप गरेको छ। सरकारले बजेटमार्फत कोहलपुर क्रिकेट रंगशाला र फाप्ला क्रिकेट मैदान निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्ने भएको छ। 

लामो समयदेखि चर्चामा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम निर्माणका लागि बजेट विनियोजन गरेकोमा अभियन्ता सुवास शाहीले सामाजिक सञ्जालबाटै सरकारलाई धन्यवाद दिए। 

‘हार्दिक धन्यवाद तथा आभार, सरकारले आर्थिक वर्ष २०७९–८० को वार्षिक बजेटमा सुदूरपश्चिमको मुहार फेर्ने परियोजना फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्रामुका लागि बजेट विनियोजन गरेकोमा हार्दिक स्वागत गर्दै धन्यवाद व्यक्त गर्न चाहन्छु’, शाहीले फेसबुकमा लेखेका छन्, ‘बजेट विनियोजनसँगै हामी सुदूरपश्चिमबासीले फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनेको हेर्ने चाहना पूरा हुने दिशामा अघि बढेको छ।’

यसका लागि उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेतृ तथा समाजसेवी आरजु राणा देउवा तथा सम्बन्धित मन्त्रालयलगायतलाई धन्यवाद दिए। 

यस्तै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लेख क्षत्रीले पनि बजेटका लागि आभार व्यक्त गरे।  

‘नेपाल सरकार, युवा यथा खेलकुद मन्त्रालय र माननीय मन्त्री श्री महेश्वर जंग गहतराजज्यूलाई खेलकुदको बजेट अलि बढाउन नसके पनि हाम्रो संघर्षको योजना उपत्यकाभन्दा बाहिर कोहलपुरमा सबैभन्दा पहिले निर्णय भएको अन्तर्राष्ट्रियस्तरको कोहलपुर क्रिकेट रंगशालाले मूर्त रुप लिँदै छ साथै राष्ट्रिय महिला क्रिकेट एकेडेमी सहितको बजेट विनियोजनका लागि  हार्दिक आभार र धन्यवाद!’, उनले लेखेका छन्। 

सरकारले विनियोजन गर्ने कुल बजेटको ८० प्रतिशत बजेट राष्ट्रिय खेलकुद परिषद् (राखेप)मार्फत खर्च हुँदै आएको छ। सरकारले यो आर्थिक वर्षमा शीर्षक नै छुट्याएर राष्ट्रिय खेलकुद परिषद्का लागि २ अर्ब ९ करोड विनियोजन गरेको छ। यस्तै खेल पूर्वाधारतर्फ ८७ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री शर्माले घोषणा गरे। 

यो पटक बजेटमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेलग्राम निर्माण, चितवनको गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै पूरा गर्ने,  महोत्तरीको मटिहानी, चितवनको कठार र पूर्वी नवलपरासीको मध्यविन्दुमा स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा अत्याधुनिक रिक्रिएसन सेन्टर स्थापना गर्ने नयाँ योजना थपिएका छन्।

यस्तै त्रिवि क्रिकेट मैदानमा रात्रिकालीन खेल खेल्न सकिने गरी स्तरोन्नति गर्ने, एसियाली र ओलम्पिक खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीलाई आजीवन मासिक जीवन वृत्तिको व्यवस्था गर्ने उल्लेख गरेका छन्। 

आगामी आवको बजेट विनियोजन गर्दै अर्थमन्त्रीले के भने? 
"युवाहरूलाई उत्पादनमूलक उद्यममा आकर्षण गर्न तालिम तथा शैक्षिक प्रमाणपत्रका आधारमा युवा स्टार्ट अप कार्यक्रम अन्तर्गत उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको छु।

 देशको जनसांख्यिक लाभको रूपमा रहेका युवाहरूको उत्पादनशील क्षमता उपयोग गर्न युवा तथा साना व्यावसायिक स्वरोजगार कोष मार्फत थप १२ हजार युवालाई स्वरोजगार बनाउने गरी कार्यक्रम सञ्चालन गरिनेछ। प्राविधिक तथा व्यावसायिक सीपसहितको कर्जा कार्यक्रमलाई निरन्तरता दिएको छु।

स्थानीय तह, बैंक तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा विजनेस इनक्युबेशन सेन्टर मार्फत १० हजार युवालाई उद्यमशीलता तालिम प्रदान गरिनेछ।

म्यादी प्रहरीको रूपमा राष्ट्र सेवामा संलग्न युवाहरूलाई लक्षित गरी उद्यमशीलता र स्वरोजगार केन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ। उनीहरूको रूचिको विषयमा तालिम प्रदान गरी कृषि, वनजन्य र अन्य उद्यममा संलग्न हुने अवसर उपलव्ध गराइनेछ। म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलको रूपमा उपयोग गर्न आवश्यक व्यवस्था मिलाइनेछ।

खेलकुद पर्यटनको प्रवर्द्धनका लागि सार्वजनिक निजी साझेदारीमा साहसिक तथा पर्वतीय खेलकुदका पूर्वाधार निर्माण तथा सञ्‍चालन गर्न प्रोत्साहित गरिनेछ। जुम्ला जिल्लाको टोप्ला पाटन लगायत स्थानमा हाई अल्टिच्यूड स्पोर्ट्स एण्ड ट्रेनिङ्ग सेन्टर स्थापना गर्न आवश्यक रकम विनियोजन गरेको  छु।

 काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको निर्माण कार्य आगामी आर्थिक वर्ष सम्पन्न गरिनेछ।कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा रात्रिकालीन खेल खेल्न सकिने गरी स्तरोन्नति गर्न आवश्यक रकम विनियोजन गरेको छु।

प्रदेश र स्थानीय तहसँगको सहकार्यमा चितवनमा  निर्माणाधीन गौतम बुद्ध क्रिकेट स्टेडियमको अधुरो निर्माण कार्य पूरा गर्ने व्यवस्था मिलाइनेछ। नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक रकम विनियोजन गरेको छु। दशौँ राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार तयार गरिनेछ।

एक स्थानीय तह : एक खेलग्राम कार्यक्रमलाई निरन्तरता दिएको छु। बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी तथा रङ्गशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छु। धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रङ्गशाला तथा खेलग्रामको निर्माण गरिनेछ। खेल पूर्वाधारतर्फ  ८७ करोड विनियोजन गरेकोछु।

 खेलकुद विकासको २० वर्षे गुरूयोजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ। निजी क्षेत्रलाई खेल विश्वविद्यालय खोल्न प्रोत्साहन गरिनेछ। विदेशी क्लबहरूलाई नेपालमा फ्रेञ्चाईज लिग आयोजना गर्न अनुकुल वातावरण निर्माण गरिनेछ।

 खेलकुद संघहरूको संस्थागत क्षमता अभिवृद्धि गरी खेलकुद प्रतियोगिताहरूको आयोजनामा खेलसंघहरूको भूमिकालाई प्रभावकारी बनाइनेछ। खेलाडी र प्रशिक्षकहरूको क्षमता विकासका लागि कार्यक्रमहरू सञ्चालन गरिनेछ। खेलाडीहरूलाई प्रोत्साहन गर्ने कार्यक्रमहरूलाई निरन्तरता दिएको छु। 

अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी तथा प्रशिक्षकहरूको बीमा गर्ने व्यवस्था मिलाइनेछ। खेलकुद संघहरूलाई दिई आएको अनुदान वृद्धि गरेको छु। राष्ट्रिय खेलकुद परिषद्को लागि   २ अर्ब ९करोड विनियोजन गरेको छु।

 महोत्तरीको मटिहानी, चितवनको कठार र पूर्वी नवलपरासीको मध्यविन्दुमा स्थानीय तह र निजी  क्षेत्रको सहकार्यमा अत्याधुनिक रिक्रिएसन सेन्टर स्थापना गरिनेछ।

 एसियाली र ओलम्पिक खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीहरूलाई आजीवन मासिक जीवन वृत्तिको व्यवस्थापन गर्ने प्रबन्ध मिलाइनेछ। युवा तथा खेलकुद मन्त्रालयको लागि रु. २ अर्ब ४६ करोड विनियोजन गरेको छु।"

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .