खेल


राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई पूर्वकप्तान गुरुङको साथ

राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई पूर्वकप्तान गुरुङको साथ

नेपालखबर
बैशाख १७, २०७९ शनिबार ११:२६, काठमाडौँ

राष्ट्रिय फुटबल टोलीका सिनियर खेलाडीलाई पूर्वकप्तान अनिल गुरुङ, खेलाडी तथा खेलाडीसँग सम्बन्धित संघको पनि साथ मिलेको छ। 

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतारीसँग असन्तुष्ट खेलाडीले क्याम्प छाडेसँगै खेलाडीको पक्षमा पूर्वकप्तान, खेलाडीदेखि खेलाडी संघ पनि सिनियर खेलाडीको पक्षमा उभिएका छन्। 

पूर्वकप्तान अनिल गुरुङले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘हाल नेपाली फुटबलमा चलिरहेको विवाद प्रति म अवगत छु। अब्दुल्लाह अलमुताइरी एक अब्बल प्रशिक्षक हुनुहुन्छ, यो विषयमा सायदै दुईमत होला। तर देशको इज्जत र प्रतिष्ठाको निमित्त आफ्नो घर परिवार त्यागेर रगत पसिना बगाएका हामी खेलाडी पनि अनावश्यक विवाद सिर्जना गर्न कहिले पनि चाहँदैनौँ। एक परिवारमा कहिलेकाँही समस्या आउनु स्वाभाविक हो। सम्बन्धित निकायले यस्ता समस्या आन्तरिक रुपमा सुल्झाएको भए सायद आज यो दिन आउने थिएन।’

उनले थपेका छन्, ‘यो घटनाले भावी पिँढीका लागि पनि नकारात्मक सन्देश गएको छ र यसमा पराजय मात्र फुटबलको हुनेछ। एक पूर्वकप्तानको नाताले यो विवाद छिटोभन्दा छिटो सुल्झाई खेलाडीलाई खेल्न योग्य वातावरण बनाइ दिनुहुन म सम्बन्धित निकायलाई हार्दिक अनुरोध गर्दछु। साथसाथै समर्थक माझ दुई पक्षीय कुरा नबुझी कसैलाई पनि गल्ती गलौज नगरिदिनु हुन विनम्र अनुरोध गर्दछु।’

यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, ओलम्पियन दिपक विष्ट पनि खेलाडीको पक्षमा उभिएका छन्। राष्ट्रिय टोलीमा रहेका केही खेलाडी र क्लबका खेलाडीले पनि सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै खेलाडीको साथमा रहेको बताएका छन्। यसबारेमा एन्फा र प्रशिक्षक अलमुताइरीबाट भने आधिकारिक धारणा अझैसम्म आएको छैन। 

सिनियर खेलाडीले क्याम्प छाडेपछि प्रशिक्षक अलमुताइरीले भने १७ जना नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा समावेश गरेका छन्। टोलीमा बोलाइएका गोलरक्षक तथा खेलाडी संघका उपाध्यक्ष विकेश कुथु भने आफू खेलाडीको साथमा रहेको र प्रशिक्षणमा सहभागी नहुने बताएका छन्। 

एशियन कप छनोटको तयारीमा प्रशिक्षणमा रहेका खेलाडीलाई एन्फा होस्टलमा नभई होटलमा राख्नुपर्ने माग राखेका सिनियर खेलाडी रोहित चन्दलाई अलमुताइरीले क्याम्पबाट निकालेका थिए।

रोहितलाई क्याम्पबाट निकालेपछि अन्य ९ खेलाडीले यो विषयमा अलमुताइरीसँग छलफल गर्न खोज्दा उनीहरुलाई पनि क्याम्प छाड्न भनेका  थिए। असन्तुष्ट १० खेलाडीले बिहीबार पत्रकार सम्मेलन गर्दै घटना विवरण सार्वजनिक गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad