स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि ३–२ गोल अन्तरको रोमाञ्चक जित हात पारेको छ।
आइतबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५२ औं मिनेटमा पेनाल्टीमार्फत लेभान्टेले खेलमा अग्रता लियो।
त्यसको चार मिनेटपछि उसले पुनः अर्को पेनाल्टी पाएको थियो तर यो पेनाल्टीमा भने गोल हुन सकेन।
खेलको ५९ औं मिनेटमा बार्सिलोनाका लागि पियरे एमरिक औबामेयाङले गोल गर्दै खेल बराबरीमा ल्याए।
त्यसको चार मिनेटपछि पेड्रीले बार्सिलोनाको लागि दोस्रो गोल गर्दै अग्रता दिलाए।
खेलको ८३ औं मिनेटमा लेभान्टेले तेस्रो पेनाल्टी पायो। गोन्जाला मोलेरोले यो पेनाल्टीमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए।
यद्यपि खेलको इन्ज्युरी समयमा बार्सिलोनाका लुक डि जोङले अर्को गोल थपे र टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए।
यससँगै लिगको दोस्रो स्थानमा रहेको बार्सिलोनाले ३० खेलबाट ६० अंक जोडेको छ। ३१ खेलबाट ७२ अंकसहित रियल मड्रिड लिगको शीर्षस्थानमा छ।
Shares
प्रतिक्रिया