घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत हुने महिला फुटबलमा चार राष्ट्र मात्रै सहभागी हुने भएका छन्। सागमा पाकिस्तान, भुटान र बंगलादेश सहभागी नहुने भएपछि अब आयोजक नेपाल, भारत, श्रीलंका र मालदिभ्सले मात्रै प्रतिस्पर्धा गर्नेछन्।
राउण्ड रोविनको आधारमा चल्ने प्रतियोगिता पोखरा रगंशालामा मंसिर १७ देखि २८ गते (डिसेम्बर ३ देखि १४) सम्म चल्नेछ। अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। लिग चरणको समापनपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
सागका लागि नेपाली टोलीले गत ५ महिनादेखि तयारीमा रहेको छ। हालसम्म सागका सबै संस्करणमा भारत च्याम्पियन बन्दै आएको छ। नेपाल भने लगातार रजतमा सीमित हुँदै आएको छ।
यस्तै पुरुष फुटबलमा नेपाल समुह ए मा परेको छ। एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल बगंलादेश र भुटान रहेको समुह ए मा परेको हो। समूह ‘बी’ मा भारत, श्रीलंका र मालदिभ्स छन्।
नेपालले १ डिसेम्वरमा बंगलादेशसँग खेल्दै सागको सुरुवात गर्नेछ। डिसेम्बर ५ मा नेपालले भुटानसँग खेल्नेछ। हरेक समूहका शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछ। फाइनल खेल डिसेम्बर १० मा हुनेछ।
पुरुष फुटबल काठमाडौको दशरथ रंगशालामा हुनेछ। नेपाल सागको पुरुष फुटबलमा डिफेन्डिङ च्याम्पियन हो। १२औं सागमा नेपालले घरेलु टोली भारतलाई २–१ ले पराजित गर्दै च्याम्पियन बनेको थियो।

प्रतिक्रिया